कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

त्यो पिंन पोखरी, यो ढलान

गोदावरी नगरपालिकाद्वारा सार्वजनिक नीति तथा कार्यक्रमविपरीत पोखरी मासियो

ललितपुर — आर्किटेक्ट इन्जिनियर पद्मसुन्दर महर्जनले पाँच महिनाअघि सातदोबाटो हुँदै चापागाउँ सडक दायाँबायाँ पोखरीको तस्बिर खिच्दै हिंडेका थिए । सडक दायाँबायाँ मात्र १८ वटा पोखरी छन् । महर्जनका अनुसार सुनाकोठीमा ८, ठेचोमा ६, चापागाउँमा ३ वटा, प्याङगाउँमा १ पोखरी सडक विस्तार चपेटामा परेका छन् ।

त्यो पिंन पोखरी, यो ढलान

यी पोखरीलाई कसरी जोगाउन सकिन्छ भन्दै उनले अध्ययन गरेका थिए । तीमध्येको एक हो पिन पोखरी । यो त्यही पोखरी हो, जुन गोदावरी नगरपालिकाको अगुवाइमा डोजर लगाइयो । यहाँको पानी फालियो । अहिले धमाधम ढलान गरिँदै छ । ‘हामीले पोखरी मास्नु हुँदैन भनिरहेका छौं,’ स्थानीय राकेश महर्जन भन्छन्, ‘तर हाम्रो कुरा सुनिएन । धमाधम ढलान भइरहेको छ । सम्पदा जोगाउनुपर्ने निकाय नगरपालिका नै सम्पदा मास्न लागेको छ ।’


पुरातत्त्व विभागले गोदावरी नगरपालिकाकै बजेटमा पोखरी संरक्षण गर्न निर्देशन दिएको छ । ‘ठेचोस्थित पिंन पोखरीको ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक महत्त्वमा आच नआउनेगरी रीपोखलाई यस्थास्थानमा संरक्षण गर्ने प्रक्रिया अघि बढाउन गोदावरी नगरपालिकालाई पत्राचार गर्ने विभागीय निर्णय भएकाले सोहीअनुसार गर्नु हुन अनुरोध गर्दछु,’ संग्रहालय अधिकृत पुरुषोत्तम आचार्यले लेखेको पत्रमा उल्लेख छ ।


गोदावरी नगरपालिका र प्रदेश सरकारको बजेटमा यहाँ वृद्धाश्रम बनाइएको हो । यससम्बन्धी समाचार सार्वजनिक भएपछि विभागले स्थलगत अध्ययन गर्न संग्रहालय अधिकृत काजी प्याकुरेललाई खटाएको थियो । काजीले भवन र पोखरी पनि बनाउन भन्दै प्रतिवेदन दिए । उनको प्रतिवेदन प्राचीन स्मारक संरक्षण ऐनविपरीत दिएको भन्दै अभियन्ताले विरोध गरेका थिए ।


यही प्रतिवेदनलाई आधार बनाएर पुरातत्त्वले रोक्नु भनेको छैन भन्दै धमाधम ढलान गरिएको थियो । काम नगरोकिएपछि पुरातत्त्वले पोखरी संरक्षण गर्न पत्राचार गरेको हो । विभागका कामु महानिर्देशक दामोदर गौतमले विवादास्पद प्रतिवेदन दिने प्याकुरेललाई केन्द्रमा बोलाएर स्पष्टीकरण लिने जानकारी दिए । ‘अध्ययन गर्न अर्का कर्मचारी खटाउँछु,’ गौतमले भने, ‘मैले थाहा पाएको ठाउँमा सम्पदा कही पनि मासिन दिन्नँ ।’


पोखरी मास्ने काम गोदावरी नगरपालिकाले सार्वजनिक गरेको आफ्नै नीति तथा कार्यक्रमविपरीत छ । नगरपालिकाको यो वर्षको वार्षिक नीति तथा कार्यक्रममा पोखरी संरक्षण कार्यक्रमलाई मुख्य प्राथमिकता दिने जनाएको छ । नीति तथा कार्यक्रमको ७ नम्बर बुँदामा सार्वजनिक जग्गा, वन, जंगल, खोला, खोल्सी, मठमन्दिर पोखरीको संरक्षण प्रारम्भ भएको जनाएको छ । ‘यही हो त संरक्षण भनेको ? पोखरी मासेर संरक्षण हुन्छ ?’ स्थानीय धर्मेन्द्र महर्जन भन्छन्, ‘नगरपालिकाले उल्टो काम गरेको छ । मुखले सम्पदा संरक्षणको कुरा गर्ने । व्यवहारमा मास्ने ?’


गोदावरी नगरपालिकाले सम्पदा बस्ती बनाउने योजना पनि अघि बढाएको छ । यसका लागि बजेटसमेत छुट्याएको छ । नीति तथा कार्यक्रमको ७८ बुँदामा प्राचीन बस्ती व्यवस्थित गर्ने योजना सार्वजनिक गरिएको छ । उक्त बुँदामा ‘नगरभित्रको सांस्कृतिक सम्पदालाई संरक्षण र सम्वर्द्धनका लागि विशेष योजना लागू गरिने’ उल्लेख छ । यसका लागि अध्ययन गर्न कार्यदल समेत गठन गरिने उल्लेख छ । नगरपालिकाको प्राचीन बस्तीमा चापागाउँ, थेंचो, छम्पी, डुकुछाप, बडिखेल, लेले पर्छन् । ‘प्राचीन बस्तीको वास्तुकला भनेकै पोखरी हो,’ आर्किटेक्ट महर्जन भन्छन्, ‘बस्तीमा मठमन्दिर, फाल्चा, ढुंगेधारा, पोखरी जस्ता संरचना पर्छन् । पोखरी मासेपछि बस्तीका सम्पदा के बाँकी रहन्छन् ? सम्पदा सहर बनाउने भनेको के हो ? जापानमा प्राचीन पोखरी जोगाउने अभियान चलेको छ ।’


नगरपालिकाको नीति कार्यक्रममा पोखरी, मन्दिरलगायत सम्पदा संरक्षण गर्न गोदावरी क्षेत्रभित्र रहेका सहकारी संस्था तथा वित्तीय संस्थालाई आहृवान गर्ने उल्लेख छ । तर आहृवान गर्नु त परै जावस् भएका सम्पदासमेत मास्न नगरपालिका अघि सरेको स्थानीय बासिन्दा गुनासो गर्छन् । ‘हामीलाई यो विषयमा वैठक र छलफलमा एक पटक पनि बोलाइएको छैन,’ थेंचो सहकारी समन्वय समितीका उपाध्यक्ष चन्द्र गोविन्द महर्जन भन्छन् ।


महर्जनका अनुसार पोखरीका रणनैतिक महत्त्व छन् । थेंचोका ९ मध्ये पिनः पोखरी एक हो । यहाँका सबै पोखरीका प्रयोजन भने अलगअलग छन् । जसमध्ये कोही खानेपानी, कपडा धुन, नुहाउन, कोही भने भाँडा माझ्ने प्रयोजनमा थिए । कोही चौपायालाई खुवाउन र नुहाउने प्रयोजनका लागि खनिएका हुन् । कुनै जलभण्डार, कुनै बर्खामा आउने बाढी रोकेर बस्ती जोगाउन । त्यसमध्ये डोजर चलाइएको यो बस्ती जोगाउन, लुगा धुन, नुहाउने, सिँचाइ, भूमिगत जल भण्डारण प्रयोजनका लागि थियो । ‘पिंन भनेको बस्ती बाहिरको पोखरी हो,’ महर्जन भन्छन्, ‘यो पोखरीको धेरै काममध्ये एउटा खेतबारीमा काम गरेर आउँदा हातगोडा धुने ठाउँ हो । यही सफा गरेर बस्तीमा छिर्ने चलन थियो ।’


सम्पदा मासेर नयाँ संरचना बनाउन लागेका भन्दै यहाँ गुठीयारले पनि आपत्ति जनाएका छन् । ‘यो पुरातात्त्विक पोखरी हो,’ पूर्णी गुठीका नाइके ज्ञानबहादुर महर्जन भन्छन्, ‘यसलाई मास्नु हुँदैन । तर धमाधम कंक्रिटका पिल्लर ठड्याइएको छ ।’ बस्तीका ऐतिहासिक पोखरीको रेखदेख गुठीले गर्छ । थेंचोमा मूल गुठी ७ वटा छन् । त्यसमध्ये बालुमारी र ब्रहृमायणी गुठी मुख्य हुन् ।


बालकुमारीअन्तर्गत चतुर्दशी गुठी, पूर्णी, पारु र भैरव गुठी छन् । ब्रहृमायणीअन्तर्गत कोना, मु गुठी, न्हेस गुठी छन् । यीमध्ये धेरै सदस्य भएको गुठी ब्रहृमायणी हो । यहाँ करिब ३ सय सदस्य छन् । बालकुमारीमा २ सय ११ गुठीयार छन् । यीमध्ये पिनः पोखरीको संरक्षण ब्रहृमायणी गुठीअन्तर्गतको न्हेस गुठीले हेर्थ्यो । पछिल्लो समय यसले पोखरी संरक्षण गरेन ।


नगरप्रमुख गजेन्द्र महर्जन सामाजिक काम गर्न लागेकाले पोखरीमा भवन बनाउनु जायज ठान्छन् । ‘यहाँ व्यापारिक भवन बनाउन लागेको होइन,’ उनी भन्छन्, ‘वृद्धाश्रम बनाउन लागेको हो । यो सामाजिक काम हो ।’ सामाजिक सेवा गर्ने नाममा सम्पदा मासेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका छन् । ‘वृद्धाश्रम त अरू ठाउँमा पनि बनाउन सकिन्छ,’ आर्किटेक महर्जन भन्छन्, ‘सम्पदा त अरू ठाउँमा सार्न मिल्दैन नि । पोखरी सहरको वास्तुकलाअनुसार बनाइएका हुन्छन् । एउटा पोखरी मासिँदा त्यो बस्तीको वास्तु नै मासिन्छ । प्राचीन वास्तुशास्त्रअनुसार बस्तीमा ३ तहमा पोखरी खनिएका हुन्छन् । एउटा बस्तीको सिरानमा हुन्छ । एक किसिमका बस्तीबीच र अर्को पुछारमा हुन्छन् । पानीविज्ञ पद्मसुन्दर जोशीका अनुसार पोखरी निर्माण मानव सभ्यताको विकाससँगै भएका हुन् । ‘सिरानका पोखरी रणनीतिक हिसाबले खनिएका हुन्,’ उनी भन्छन्, ‘बर्खाको भेल बस्तीमा नपोस् भनेर खनिएका हुन्छन् । यस्ता पोखरी ठूला हुन्छन् । माथिबाट आएका पानी नथुन्ने हो भने बस्ती घेरिन्छ । त्यही भएर पोखरी खनिएका हुन् ।’


बस्तीबीचको पोखरीचाहिँ साना हुन्छन् । वर्षाको पानी र कुलोबाट आएको पानी यहीं जम्मा हुन्छन् । भिरालो ठाउँमा बनेका पोखरीले बस्तीलाई बिगार्ला भनेर खनिएका हुन् । यस्ता पोखरी बर्खामा पानी जम्ने, हिउँदमा सुक्ने हुन्छन् । उपभोक्ता समिति अध्यक्ष मिलन महर्जन सडकले पनि पोखरी साँघुर्‍याउने भएकाले यसलाई मास्दा पनि खासै असर नपर्ने बताउँछन् ।


‘कान्ति राजपथ विस्तार हुँदा यसै पनि यो पोखरी साँघुरो हुन्छ,’ उनी भन्छन्, ‘सबै गुठीयारकै सहमतिमा गरिएको हो । भवनले पोखरी थोरै मात्र मिच्छ ।’ डोजर लगाइएको पोखरी छेउमै हृयामु न्याः पुखुः (रातो माछा भएको पोखरी) जोडिएको छ । यहाँ पहिला राता माछा प्रशस्त हुन्थे । अहिले देखिँदैनन् यहाँ । पानीको सतह पनि घट्दै गएको छ । पोखरी दुर्गन्धित हुँदै गएको छ । ‘केही वर्ष वर्षअघिसम्म हेर्नेको भीड हुन्थ्यो,’ राकेश सम्झन्छन्, ‘अहिले यो एकादेशको कथा भएको छ ।’ अहिले यहाँ झ्याल ढोका खुला राखेर बस्नसमेत नमिल्ने उनी बताउँछन् ।


सडकको चपेटामा पनि पोखरी परेका छन् । कान्ति राजपथ विस्तार गर्ने काम धमाधम भइरहेको छ । यसको असर सडक छेउमै रहेको तध पोखरीमा पर्छ । यो पोखरी ठेचोको मध्यमखालको पोखरी हो । यसअघि पनि सडकले पोखरी सानो बनाएको थियो । ‘अब बाटो बढाउने हो भने पोखरी छन् साँघुरो हुन्छ,’ महर्जन भन्छन्, ‘यसले यो क्षेत्रको इकोसिस्टमै बिग्रन्छ ।’ पानी विज्ञ जोशीका अनुसार ५० रोपनीमा फैलिएको पोखरीले दैनिक ६ लाख २५ हजार लिटर पानी बाष्फीकरण गर्छ । त्यसले पानी आकाशबाट पानी पर्न सहयोग गर्छ । ‘यस्ता पोखरी जोगाउनुपर्ने हो । तर सम्पदाको महत्त्व बुझिएन,’ उनी भन्छन्, ‘अब जोगाउन अभियान थाल्नुपर्छ ।’


कतै पोखरी सुक्दै गएका छन् । कहीं सुकेर खेल मैदान बनेका छन् । ठेचोकै सरस्वती मावि छेउको पोखरी जबरजस्ती सुकाइयो । भैंसी नुहाउने पोखरीका रूपमा प्रयोग हुँदै आएको फुंगा पुखु १५ वर्षयता खेल मैदान बनेको छ । ‘पानी थियो,’ महर्जन भन्छन्, ‘स्थानीय युवाले खेल्ने ठाउँ चाहियो भनेर पोखरीपछाडिको डिल भत्काएर सुकाइदिए ।’ सुकाउँदा विवाद पनि भएको थियो । ‘युवाहरूलाई खेल मैदान चाहिने,’ उनी भन्छन्, ‘हामीलाई सम्पदा चाहिने । पानी पनि चाहिने । त्यही भएर विवाद भएको थियो ।’

प्रकाशित : चैत्र ३०, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?