म्यानमारको पानी पर्व काठमाडौंमा

काठमाडौँ — गालामा चन्दनको लेप, हातमा पहेंलो फूल । बुट्टेदार चाँदीको भाँडोबाट फूल डुबाउँदै शनिबार राजधानीमा नेपालीहरुले म्यान्मारको पानी पर्व (थिङयान) मनाए । नेपाल-म्यान्मार फ्रेन्डसीप काउन्सिलले हरेक वर्ष यो पर्व मनाउँदै आएको छ । दुई देशको नृत्य तथा गीत प्रस्तुतिसहित मनाइएको पर्वमा यसपटक नेपाली नयाँ वर्षको समेत सन्दर्भ जोडेको काउन्सिलका अध्यक्ष शंकर घिमिरेले बताए ।

म्यानमारको पानी पर्व काठमाडौंमा

अप्रिल महिनामा फुल्ने पहेंलो 'गडाउ पा' फूललाई पानीमा चोबेर एकअर्काको शरीरमा छर्किंदै मनाइने पर्व प्रेम र सद्‍भावसँग जोडिएको उनले बताए । 'यो नेपालीहरुको होली जस्तै हो', उनले भने, 'म्यान्मारका नेपालीहरूले समेत मनाउने यो पर्वले दुई देशको सांस्कृतिक सम्बन्ध बलियो बनाउँदै आएको छ ।' त्यही भएर आफूहरूले काठमाडौंमा पनि पर्वलाई निरन्तरता दिएको उनले जनाए ।


उनका अनुसार यो पर्वमा चाँदीको बुट्टेदार भाँडोमा पानी राखेर, त्यसैमा बास्नादार पफ्र्युम छर्किएर जमुनाको फूलले एकअर्काको काँधमा छ्याप्ने गरिन्छ । 'काँधमा पानी छयाप्नुलाई शुद्धताको प्रतीक मानिन्छ,' काउन्सिलका सचिव लुतली ज्ञवालीले भने । कार्यक्रममा म्यान्मारका राजदूत तिरी प्यान्ची ऊ तुन ने लिन, श्रीलंकाका राजदूत स्वर्ण परेरा, स्रष्टा युवराज नयाँघरे लगायत पनि सहभागी थिए ।

प्रकाशित : वैशाख १, २०७६ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?