ब्रेकले रोक्यो रथ दुर्घटना

दामोदर न्यौपाने

काठमाडौँ — फलामको बीड भएको सानो काठको टुक्रा । यसलाई बोकेर बसेका रथको दाया बाया बसेका छन् दुई युवा । हेर्दा सानो भएपनि चुकुलको रूपमा प्रयोग हुने यो साधनको काम ठूलो छ । परेको ठाउँमा रथ रोकिहाल्ने ‘ब्रेक’ यो । दुई दिनदेखि सुरु भएको सेतो मत्स्येन्द्रनाथको रथको ‘ब्रेक’ को नेतृत्व गरिरहेका छन् नरेश महर्जन । 

मत्स्येन्द्रनाथको रथ तान्ने परम्परा परापूर्वकालदेखिको हो । यसलाई लिच्छविकालीन मानिन्छ । रथ रोक्ने यो प्रविधि भने नयाँ हो । बारम्बार दुर्घटना भएपछि पुरातत्त्व विज्ञले पछिल्लो समय विकसित गरेको प्रविधि हो यो । यही प्रविधि प्रयोग गरे यता रथ दुर्घटनामा परेको छैन । सेतो मत्स्येन्द्रनाथको रथ २०६२ सालमा दुर्घटनाग्रस्त भएको थियो ।

जमलबाट गुडाउँदै रत्नपार्क ल्याएको बेला रथ पल्टेर गुडिरहेको गाडीमाथि पर्‍यो । बसमा सवार सर्वसाधारण घाइते भए । त्यो दुर्घटना किन भयो ? जात्रा सञ्चालकले कारण पत्ता लगाए, रथको पांग्रा राम्रोसँग रोकिन नसक्दा दुर्घटना भयो । परम्परागत रूपमा रथको ब्रेक व्यवस्थापन गर्दै आएका नरेश महर्जनका अनुसार पुरातत्त्वका जानकार तथा पुजारी स्वयम्भूरत्न बज्राचार्यले यो उपाय अपनाएका थिए । ‘परम्परागत रूपमा ब्रेकको काम गर्ने हामी नै हौं,’ मासंगा : नेवाः पुचका अध्यक्षसमेत रहेका महर्जन भन्छन्, ‘चुकुल राख्न लागेपछि सजिलो भएको छ ।’

चुकुलले ब्रेक लगाउने मात्र दुई जना छन् । एकातिर नरेश बस्छन्, अर्कोतिर गोपालकृष्ण डंगोल बस्छन् । दुई जनाले पालै पालो ब्रेक लगाउँछन् । परम्परागत रूपमा ब्रेक लगाउने काम डोरीले गरिन्थ्यो । डोरीले ब्रेक लगाउँदा भनेको ठाउँमा रोक्न समस्या हुन्थ्यो । अहिले पनि डोरी समाउने टिम पनि हुन्छ । त्यसको पनि नेतृत्वचाहिँ नरेशले नै गर्छन् । नवीन शाक्य, पूर्णभक्त श्रेष्ठ, रवि डंगोललगायत छन्, उनीहरू रथको अगाडिको भाग धमामामा बसेर रथ नियन्त्रण गर्छन् ।

दोस्रो दिन असनबाट तानेर बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै कालभैरव अगाडि राखिएको छ । चैत शुक्ल अष्टमीको दिनबाट सुरु हुन्छ रथ तान्न । जमलबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइन्छ । असन पुर्‍याएपछि राष्ट्रपतिले अवलोकन गर्छन् । पहिला राजाले अवलोकन गर्थे । राजसंस्था हटेपछि राजाले गर्ने सांस्कृतिक गतिविधि राष्ट्रपतिले गर्न थालेका छन् । पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गरेकी थिइन् ।

राति १० बजे अवलोकन गर्न उनी रथ राखिएको ठाउँ असन पुगेकी थिइन् । उनले त्यहाँ सर्वसाधारणसँग फोटो खिचेर रमाएकी थिइन् । दोस्रो दिन बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै कालभैरव अगाडि राखिएको थियो । तेस्रो दिन कालभैरवबाट मरुगणेश, जैसीदेवल, जनवहाल हुँदै लगन लगिन्छ । लगनमा मत्स्येन्द्रनाथको आमा भएको विश्वास गरिन्छ । त्यहाँ तीन पटक घुमाइन्छ । लगनमा जात्रा सकिएको भोलिपल्ट विशेष पुजा गरेर रथबाट मत्स्येन्द्रनाथलाई निकालिन्छ । त्यहाँबाट सानो खटमा राखेरर जनबहालको कनक चैत्य महाविहारमा लगिन्छ । त्यहाँ बिहारको विचमा नलगी छेउमै राखिन्छ ।

भोलिपल्ट स्वस्ती शान्ति, होम गरेपछि पहिलाकै ठाउँमा विराजमान गराइन्छ । रथमा राख्न पनि महाविहारबाट सानो खटमा पुजारीले बोकेर जमल लैजान्छन् ।

३६ हात अग्लो रथले बेलाबेला घरलाई समेत छोइदिन्थ्यो । ९ तला बनाइन्छन् । रथ निर्माण अनुगमन समितिका संयोजक सत्यनारायण डंगोलका अनुसार हरेक तलाको अर्थ छ । एक तला ४ हातको हुनु पर्छ । ‘यो परम्परागत शैलीको उचाइ हो,’ डंगोल भन्छन्, ‘हरेक तलाको सम्बन्ध ब्रह्माण्डसँग छ । तन्त्र विधिअनुसार तला निर्माण गरिन्छ ।’ सेतो मत्स्येन्द्रनाथ जात्रा व्यवस्थापन समितिका अध्यक्ष नीलकाजी शाक्यका घर छोइदिएकै निहुँमा झगडासमेत पर्थ्यो । रथ मोड्न अफ्ठेरो हुन्थ्यो । बाटो पनि गतिला थिएनन् । ‘कोही बेला रथ बाङगो पनि बनाइदिंदा रहेछन्,’ शाक्य भन्छन्, ‘त्यही भएर घरमा छुन्थ्यो । लड्थ्यो । अहिले यस्तो समस्या छैन ।’

झगडा पर्ने कारणले केही वर्ष रथयात्राको रौनकमा कमी आएको शाक्यले बताए । पहिला रौनकमा कमी आए पनि अहिले फेरि यो परम्परा ब्युँतेको उनले बताए । ‘८ वर्षअघि रथ यात्रा व्यवस्थापन समिति बनायौं,’ शाक्य भन्छन्, ‘समिति बनएपछि यसले व्यवस्थापन गर्न थाल्यो । नत्र यो ठूलो पर्व लोप हुने अवस्थामा थियो ।’ सामान्यतः चार दिन चल्छ यो जात्रा । जात्रा चार दिन चल्ने भए पनि कोही बेला रथ दुर्घटना भएर जात्रा लम्बिएको उदाहरण छन् । ‘रथ ठाउँमा नपुर्‍याएरसम्म जात्रा सकिँदैन,’ शाक्य भन्छन्, ‘रथमा खराबी आयो वा दुर्घटना भयो भने जात्रा लम्बिन्छ । जात्रा लम्बियो भने खर्च पनि बढ्छ । समस्या हुन्छ ।’

नेवार समुदायका सबै जाति मिलेर यो जात्राको तारतम्य मिलाउने गर्छन् । रथ बनाउन नेवार समुदायका बेग्ला बेग्लै जातिबीच कामको बाँडफाँड गरिएको हुन्छ । मानन्धर समुदायले देउतामाथि बस्ने चाँदीको इँला राख्छ । मुख्य गेटमा टुँडाल राख्ने काम पनि मानन्धरले नै गर्छन् । चित्रकारले रथको पाङग्रामा चित्र कोर्न काम गर्छन् । रथमा आँखाको चित्र बनाइन्छ । डंगालका अनुसार आँखालाई नागको प्रतीकका रूपमा लिइन्छ । कंसाकारले रथ तान्ने बेलामा बाजागाजा बजाउँछन् । पूजा गर्ने काम शाक्यले गर्छन् । फूलको व्यवस्थापन गर्ने काम मुनिकार समुदायले गर्छन् ।

मुख्य जिम्मेवारीचाहिँ ज्यापू समुदायको हुन्छ । रथ बनाउने, रथयाक्राको त्रममा प्रत्येक तलामा बस्ने काम पनि ज्यापू (कृषक) समुदायकै हुन्छ । मत्स्येन्द्रनाथको उत्पत्तिको कथा पनि किसान समुदायसँगै जोडिएको छ । किसानले जमलमा खेत खन्दा सेतो मत्स्येन्द्रनाथको मूर्ति भेटिएको विश्वास छ ।

प्रकाशित : वैशाख ३, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

गर्मी छल्न गढी

चिसो मौसम खोज्दै आन्तरिक पर्यटक सिन्धुलीगढी पुग्ने गर्छन् । ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरेको ऐतिहासिक क्षेत्र भएकाले त्यसको अवलोकन गर्नेहरू बढेका छन् ।
राजकुमार कार्की

सिन्धुली — सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहाल सदरमुकाम आवतजावत गर्दा गढी नजिकको सोलाभन्ज्याँङमा सधैंजसो केही समय बिताउने गरेकी छन् । सदरमुकाम र आफ्नो गाउँपालिकाको कार्यालय रहेको गढतिर क्षेत्रमा उखरमाउलो गर्मी हुन्छ । गढी क्षेत्र आएपछि गर्मीको समयमा समेत हुने जाडोले आनन्द प्राप्त हुने उनले बताइन् ।

कामको चटारो त्यहीमाथि गर्मीले गर्दा धेरै नै थाकिएको हुन्छ, अध्यक्ष दीपाले भनिन्, ‘सोला आउना साथ बेग्लै आनन्द हुन्छ । फुर्सद छ भने गढी नै उक्लिएर आनन्द लिइन्छ, चटारो छ भने पनि एक, आधा घण्टा यहाँ बिताइन्छ ।’ सुनकोसीकी अध्यक्ष दीपा मात्र होइन्, गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीको पनिअनुभव उस्तै छ ।

‘तनाव र थकान मेटाउने थलो गढी क्षेत्र हो, उनले भने, ‘१२ महिना यहाँ हुस्सु लागेर जाडो भइरहन्छ, झन गर्मीमा स्वर्गीय आनन्द नै प्राप्त हुन्छ । ‘गढी क्षेत्रको बृहत्तर विकास गर्न सके पर्यटकको ओइरो लाग्ने उनको भनाइ छ । गोलन्जोरकै वडा नं ५ रातनचुराले गढी क्षेत्रलाई छोएको र त्यसलाई साइकल जोनको रूपमा विकास गर्न गाउँपालिका लागि परेको अध्यक्ष कार्कीले बताए ।

यी जनप्रतिनिधिहरू मात्रै हैन्, संघ तथा प्रदेश सांसद, मन्त्रीहरू तथा उच्च पदस्थ अधिकारीदेखि लिएर बीपी राजमार्ग हुँदै सवार गर्ने जोकोही पनि सोलाभन्ज्याङ क्षेत्रमा शीतल पाउनका लागि रोकिन्छन् । गढी क्षेत्रमा बसोबासको राम्रो व्यवस्था हुने हो भने केही दिन बिताउनका लागि समेत पर्यटक आउने सिन्धुलीगढीका अन्वेषणकर्ता सागरकुमार ढकालको भनाइ छ ।

सदरमुकामबाट २० किलोमिटर उत्तरतर्फ गएपछि यो क्षेत्र पुगिन्छ । गर्मी मौसममा समेत सिन्धुलीगढी क्षेत्रमा जाडो हुने गरेको छ । गर्मी भुलाउन र प्राकृतिक सौंदर्यको मज्जा लिन तरार्ई क्षेत्रको हब सिन्धुलीगढी क्षेत्र बन्दै गएको छ ।

सिन्धुलीगढी क्षेत्रमा रहेको ऐतिहासिक महत्त्व, हावापानी र नागबेली सडकको मज्जा लिन तरार्ईबाट सयौं सवारीसाधनमा आन्तरिक पर्यटकहरू यहाँ आउने गरेका छन् । वर्षातको समयमा पनि गर्मी भुलाउन सिन्धुलीका मात्र नभएर छिमेकी जिल्ला तथा भारतबाट समेत आन्तरिक तथा बाह्य पर्यटकहरूगढी क्षेत्र पुग्ने गरेका छन् ।

वनभोजका लागि तथा सामान्य घुमघामको रोजाइको क्षेत्र सिन्धुलीगढी पर्दैर् गएको स्थानीयको भनाइ छ । गर्मीमा चिसोको मज्जा लिन सयौंको संख्यामा तराई क्षेत्रबाट आन्तरिक पर्यटकहरू आउने गरेको सिन्धुलीगढी संरक्षण समितिका सचिव खिलराज देवकोटा बताउँछन् । भन्छन्, ‘चिसो मौसममा भन्दा अहिले यहाँ आउनेको संख्यामा वृद्धि भएको छ, गर्मी भुलाउनकै लागि गढी रोजाइमा परेको हो । वर्षातमा समेत गढीमा उत्तिकै चाप छ । गर्मी भुलाउने एकातर्फ छँदैछ, अर्कातर्फ भने विश्वमा साम्राज्य फैलाएको ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरेको स्थानको अवलोकन उनीहरूको विषय हो ।

यहाँ आएपछिको आनन्द वर्णन गरिसाध्यै छैन, सर्लाहीबाट आएर गढीक्षेत्रमा भुलिरहेका असीम अन्सारीले भने, ‘तराईमा चर्को गर्मी छ, गढी क्षेत्रमा त जाडो भयो । ’ गौरीशंकर हिमालसमेत देखिने भएकाले गढी क्षेत्रमा आउने जोसुकै पनि तस्बिर खिच्नमै व्यस्त हुन्छन् । विद्यालय छुट्टीको समय भएकाले आफूजस्तै सयौं विद्यार्थीहरू गढी घुम्न आएको उनको भनाइ थियो ।

बीपी राजमार्गको मनमोहक नागबेली सडक हुँदै सिन्धुलीगढी जान सकिन्छ । राजमार्गको सोलासम्म सवारीसाधनमा गएर पैदल गढी क्षेत्र गए पनि साना सवारीसाधन लिएरै गए पनि त्यो आफैंमा भरपर्ने सिन्धुलीगढी संरक्षण समितिका सचिव देवकोटा बताउँछन् ।
गढी क्षेत्रमा यतिखेर राजधानी आवतजावत गर्नेको लर्को भेटिन्छ ।

बीपी राजमार्ग हुँदै पूर्वी नेपाल जाने र फर्कने होस् वा राजधानीतर्फ जाने जोकोही पनि गढी क्षेत्र घुम्नलालायित हुने गरेको जलकन्याका शिक्षक कर्णबहादुर कार्की बताउँछन् । ऐतिहासिक सिन्धुलीगढी घाम लागेर खुलेको समयमा दोलखाको गौरीशंकर हिमालको दृश्यपान गर्न सकिन्छ । जाडोमा पारिलो घाम लाग्ने र गर्मी महिनामा हुस्सु लागेर शीतल हुने गढी क्षेत्रको विषेशता हो ।

खानेपानीको सुविधा र पुर्खाले लडेर विजय प्राप्त गरेको नालीबेली गढी क्षेत्रमा पुगेपछि देख्न पाइन्छ । सिन्धुलीगढीको इतिहासको वृत्तचित्र गढीमा टेलिभिजन राखेर दिनभर प्रसारण गरिन्छ, उक्त इतिहास पर्दामा जोसुकैले पनि हेर्न पाउने कमलामाइ नगरपालिकाले व्यवस्था मिलाएको छ ।

त्यसका अलावा दरबारको भग्नावशेष, राणाकालीन कार्यालय सञ्चालन, वीरवीरंगनाको इतिहास खुलाइएको तस्बिर, सानोगढी, ठूलोगढी, पौवागढी, तोप हान्ने प्वाल, फहराइरहेको राष्ट्रिय झण्डा, टुँडिखेल, सिद्धबाबा मन्दिरलगायतका स्थान हेर्न र दर्शन गर्न सकिन्छ ।

विसं १८२४ को कात्तिक २४ मा कप्तान किनलोकको नेतृत्वमा आएको ब्रिटिससेनालाई गोर्खाली फौजले सिन्धुलीगढीबाट पराजित गरेर पठाएको थियो । नेपाल एकीकरणको समयमा काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएको ब्रिटिस सेनालाइ वंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले सिन्धुलीगढीबाट पराजित गरेरधपाएको थियो । सिन्धुलीगढीमा रहेको सानोगढी, पौवागढी, इनार, तोप हान्ने प्वाललाईपुनर्निर्माण गरिएको छ ।

सिन्धुलीगढी क्षेत्रका अन्वेषणकर्ता ढकाल पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा बाधा पुर्‍याउन काठमाडौंका तत्कालीन राजालाई सहयोग गर्न आएका ब्रिटिस फौजलाई पराजित गर्न नेपाली फौजले भूगोलको साथ लिएका थिए ।

सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति पो राम्रो दरबार, मारो नि मायाले मारो.... भन्ने स्वर्गीय कृष्णविक्रम थापाले गाएको गीत २०३६ सालमा रेडियो नेपाल प्रथम त भयो तर दरबार गढी परिसरमा एकाध इँटा मात्र रहेकाले राज्यलाई नै गिज्याइरहेको भान हुन्छ । यद्यपि यतिखेर कमलामाई नगरपालिकाले सिन्धुलीगढीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न गुरुयोजना नै तयार गरेर लागि परेको छ । सिन्धुलीगढी क्षेत्रलाई तारबारले घेरेर ऐतिहासिक सम्पदा जोगाउन नगरपालिका लागि परेको छ । गत वर्ष गढीको विकासका लागि नगरपालिकाले २ करोड बजेट खर्च गरेको छ ।

स्थानीय स्रोतसाधनबाट मात्र गढी क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सम्भव नभएकाले केन्द्रदेखि लिएर दाताहरूसँगको सहकार्यमा काम अगाडि बढाइएको कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री बताउँछन् । भन्छन्, ‘गढी क्षेत्रलाई पुरानै अवस्थामा
फर्काएर पर्यटकको ओइरो लगाइन्छ, त्यो हाम्रो मूलमन्त्र हो ।’

प्रकाशित : वैशाख ३, २०७६ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्