कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

परम्परा जोगाउँदै दाजुभाइ

लीला श्रेष्ठ

भक्तपुर — हजारौंको भीड । मध्यपुरथिमि बोडे पाँचो गणेशको दक्षिण फर्केको पाटीको आडैमा कृष्णचन्द्र बाग श्रेष्ठ भाइको बाटो हेर्दै थिए । केही बेरमै बाँसको चिम्टी बजाउँदै आएकाहरूले सियो ल्याइपुर्‍यायो । मानव साङ्लाको अर्का हूलसँगै ४७ वर्षीय बुद्धकृष्ण 
बाग श्रेष्ठ विशेष पहिरनमा घुङ्ग्रो बजाउँदै मञ्चमा आइपुगे ।

परम्परा जोगाउँदै दाजुभाइ

मध्यपुरथिमिबासीले बुद्धकृष्णको जयजयकार गरे । मञ्चमा उक्लिएका बुद्धकृष्णलाई कर्मी नाइकेहरूले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झँदै धूपबत्ती बाल्न आग्रह गरे । उनले सोही आज्ञा पालना गरे र जिब्रो छेडाउन तयार भए । बुद्धकृष्णका दाजु कृष्णचन्द्रले देवीदेवताको प्राथना गर्दै भाइको जिब्रो छेडिदिने साहस निकाले ।


बुद्धकृष्णको जिब्रो छेड्दा दाजु कृष्णचन्द्रले भीडलाई नियाल्न सकेनन् । बुद्धकृष्णले भने केही क्षण पीडाको महसुस गर्दै आँखा चिम्म पारे । चारैतिरको जयजयकारको आवाजले पुनः उनलाई जिब्रो छेड्नुअघिको अवस्थामा ल्याउन सहयोग पुर्‍यायो । जिब्रो छेडिदिने कर्मी नाइकेको अभावमा १२ वर्ष लगातार जिब्रो छेडाएका कृष्णचन्द्रले आफ्नै भाइको जिब्रो छेडिदिन बाध्य भएका छन् । ‘केही वर्ष अघिसम्म जिब्रो छेडिदिएका कर्मी नाइकेले धर्म परिवर्तन गरे,’ बुद्धकृष्णले भने, ‘कर्मी नाइके नहुँदा परम्परा जोगाउन मुटुमाथि ढुंगा राखेर दाजुले भाइको जिब्रो छेडिदिनुपर्ने बाध्यता छ ।’ १ फिट लामो सुइरोले भाइको जिब्रो छेडिदिन ठूलै साहस चाहिने उनी बताउँछन् ।


यी दुई दाजुभाइले मध्यपुरथिमिको प्रसिद्ध जिब्रो छेड्ने र छेडाउने ऐतिहासिक, सांस्कृतिक परम्परा धानेका छन् । मध्यपुरथिमि ८ बोडेबासी बुद्धकृष्णले सातौंपल्ट जिब्रो छेडाएका छन् । जिल्लाको प्रसिद्ध बिस्काः जात्राअन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुरथिमि ८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । बोडे निवासी ४७ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५, ०७४,०७५ गरी छैटौंपल्ट जिब्रो छेडाएका बुद्धकृष्णले सोमबार सातौंपल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् । जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेबासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा छ ।


जिब्रो छेडाउने व्यक्तिको तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेडेपछि रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ ।


विशेष पहिरन र खुट्टामा तान्क्रिक घण्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नुअघि शत्ति पिठहरूको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ । वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्च मनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

प्रकाशित : वैशाख ३, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?