तेमाल जात्रालाई डम्फु गीत

कान्तिपुर संवाददाता

काठमाडौँ — हरेक वर्ष राजधानीको बौद्ध र स्वयम्भूको लाग्ने तेमाल जात्राको विशेषता हो– फापरे हृवाई । जात्रा या मेला पर्वमा तामाङ समुदायले डम्फुबिना नै गाउने यो खुल्ला प्रेमगीत हो । बिहीबार बौद्ध महाचैत्य परिसरमा भने भिन्न दृश्य देखिए ।

राजधानीको बौद्धमा बिहीबार तेमाल जात्राका सहभागी । तस्बिर : बिजु महर्जन/कान्तिपुर 

राजधानी आसपासका गाउँबाट मानिस डम्फु बोकेरै आएका थिए । उनीहरूले डम्फुमै प्रेमगीत गाए । ‘तामाङ संस्कारमा डम्फुरे गीत र फापरे गीतबीच ठूलो भिन्नता छ,’ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले भने, ‘डम्फुरे गीत संस्कारसँग सम्बन्धित हुन्छ भने फापरे गीत प्रेमसँग । पहिले पहिले बिनाडम्फु फापरे गीत गाएको देखेको हुँ, केही वर्षयता जात्रामा डम्फु पनि देखिन थालेको छ ।’

उनले यसो भन्दै गर्दा बौद्धनाथ वरिपरि लामा गुरु लस्करै भुइँमा बसेर पूजा गर्दै थिए । वर्षभरि दिवंगत प्रियजन र पितृको सम्झनामा बत्ती बाल्दै पूजा गर्ने र फापरे गीत गाएर रमाउने यो पर्वमा राजधानी आसपासका जिल्लाबाट तामाङहरू ओइरिन्छन् । चैत्रशुक्ल चतुर्दशीका दिन बौद्ध र पूर्णिमाको दिन स्वयम्भूमा मनाइने यो जात्रामा युवायुवतीहरूचाहिँ चैत्य परिक्रमा गर्दै मन पराएका बीच ‘फापरे गीत’ मार्फत जुहारी खेल्छन् । गीतबाटै ठेगाना सोध्नेदेखि प्रेमप्रस्ताव राख्नेसम्म हुन्छ । ‘मन पराएमा रातभर जागा बसेरै गीत गाउँछन्,’ संस्कृतिविद् एवं लेखक रवीन्द्र ग्याबा तामाङले भने, ‘भोलिपल्ट सडकैसडक गीत गाउँदै स्वयम्भू पुग्छन् ।’

यस्तै भिन्न दृश्य डम्फुरेको थियो । फापरे गीतलाई डम्फुको ताल दिनेमध्येमा थिए काभ्रेका पेमा लामा । उनका अनुसार डम्फु गीत पनि पछिल्लो समय जात्राहरूमा चल्न थालेको छ । भिन्नभिन्न ठेगानाबाट जात्रामा आएकाहरूबीच आपसी संवाद र चिनाजानीको आधार नै फापरे हृवाई हो । ‘पहिले पहिले सञ्चारका माध्यम थिएन, वर्षमा एक पटक जात्रामै भेट हुन्थ्यो,’ काभ्रे तेमालका मानबहादुर दोङले भने, ‘दिनरात गीत गाएर अर्को वर्ष भेट्ने वाचा हुन्थ्यो । वर्षभरि कुरेर जात्रामै भेट्न प्रेमीहरू आउँथे ।’

तामाङ समुदायमा विवाह र व्रतबन्धको बेला डम्फु बजाउँदै पृथ्वीको उत्पत्तिदेखि मानव सृृष्टि, आदिमानवबीचको प्रेम सम्बन्ध हुँदै तामाङ भाषा, संस्कार, परम्परा गीतबाटै बताउने प्रचलन छ । ‘फापरे गीतमा ख्यालठट्टा र जिस्काजिस्की चल्छ,’ उनले भने, ‘तर डम्फु गीतमा यस्तो हुँदैन । यसमा त एक समूहले अर्को समूहलाई नातागोता, थर, संस्कार र उत्पत्तिबारे सोधिन्छ र अर्को समूहले आफ्नो संस्कार, कुलबारे उत्तर दिन्छ ।’

सुशीला तामाङ

प्रकाशित : वैशाख ६, २०७६ ०८:०२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रित्तिँदै नमुना बस्ती

चिटिक्कका घर पाए पनि हातमुख जोर्ने उपाय नहुँदा कोही जोखिमपूर्ण बस्तीमै फर्किएका छन् त कोही बिदेसिएका छन् 
हरिहरसिंह राठौर

भुवालेपानी, धादिङ — एकल प्रयासमा बनेको भनी चर्चामा आएको नमुना बस्ती हाल सुनसान छ । भूकम्पले बस्ती जोखिममा परेकाहरूलाई त्यहाँ राखिएको थियो । अहिले उनीहरू धमाधम नमुना बस्ती छाडिरहेका छन् ।

टाढाबाट हेर्दा चिटिक्क परेको बस्ती पुग्दा कुनै–कुनै घरमा महिला र केटाकेटी मात्रै फेला पर्छन् । धेरैजसोमा ताला मारिएको छ । बिजुलीको मुख्य स्विच अफ गरिएको छ । खोर रित्तै छन् । कतिपय घरका झ्यालमा जस्तापाता ठोकेर बन्द गरिएको छ ।

‘घरमात्रै चिटिक्क भएर के गर्नु र ? खुर्सानीको बोट रोप्नेसमेत जग्गा छैन, गाउँको जग्गामा आलु, मकैलगायत अन्नपात फल्थ्यो, यता त गुजारा गर्नै धौधौ भएर श्रीमान्लाई दुबई पठाएकी छु,’ उत्तरी लापाबाट आएर बसेकी रोशनी तामाङले भनिन् । श्रीमान् चसमान डेढ वर्षदेखि विदेशमा छन् । बाबुआमालाई गाउँमै छाडेर नमुना बस्तीका आएका युवा पुस्तालाई अहिले हातमुख जोर्नै मुस्किल छ ।

विभिन्न दाताले ५५ परिवार बस्न मिल्ने गरी भुवालेपानी र तल्लो आलेमा बस्ती बनाइदिएका थिए । पीडितले पनि करिब १६ महिना पसिना बगाएर श्रमदान गरेका थिए । अहिले एक दर्जन घरधुरी मात्रै त्यहाँ बसेका छन् । सदरमुकाम छेउछाउ गुजारा गर्ने उपाय नभएपछि कोही वैदेशिक रोजगारमा छन् तकोही पुरानै बस्तीमा फर्केका छन् ।

भूकम्पमा लापाको कपुरगाउँका ७५ घरधुरीमध्ये ६० घर पूरै ध्वस्त भएका थिए । ४ जनाले ज्यान गुमाए । बस्तीको चारैतिर पहिरो गएर नाकाबन्दीजस्तै भएको थियो । बस्ती नै चर्केपछि भूगर्भर्विद्ले बस्न नमिल्ने भनी सार्न सिफारिस गरेका थिए । वृद्धवृद्धा, विपन्न र एकल महिलालाई सदरमुकाम नजिकैको ज्वालामुखी ५ भुवालेपानी र तल्लोआलेमा शिविर बनाई राखिएको थियो ।

उक्त बस्ती बसाल्न प्रमुख भूमिका खेलेका दिनेश तामाङका अनुसार क्यानडास्थित चाइल्ड हेभेन इन्टरनेसनल नेपालले ३८ रोपनी जग्गा किन्न २९ लाख रकम दिएको थियो । विस्थापित शिविर राखेकै बाँझो जग्गा किनेर ५५ घरधुरीका लागि भूकम्पप्रतिरोधी घर निर्माण गरिएको थियो । ‘आयआर्जनका उपाय नभएपछि बस्तीमा टिकाउन धौ भयो,’ उनले भने । नमुना बस्तीमा खानेपानी, विद्युत् लाइनसमेत पुर्‍याइएको छ ।

विस्थापितलाई बस्तीमा टिकाइराख्न आयआर्जनका लागि होमस्टे सञ्चालन, हस्तकला उद्योग, कुखुरा र पशुपालन, बेमौसमी तरकारी खेतीजस्ता कार्यक्रम चलाउन लागिएको दिनेशले बताए । उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेको उक्त बस्तीमा सुरुमा ३ सय १० जना बसोबास गर्थे ।

प्रकाशित : वैशाख ६, २०७६ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्