१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जेब्राक्रसमा असुरक्षा

काठमाडौँ — राजधानीका व्यस्त सडकमा बाटो काट्नै डर मर्नु भएको पैदलयात्रुको अनुभव छ । उपत्यकाका साँघुरा र व्यस्त सडकमा भगवान सम्झेर बाटो काट्नुपर्ने शंङखमूलकी मीना थापाले बताइन् । ‘जेब्राक्रसबाटै बाटो काट्न डरलाग्दो अवस्था छ,’ उनले भनिन् ‘जेब्रामा मान्छे देखेर पनि सवारी चालकले गति नघटाएर उल्टै हुइँकिएर आउने गर्छन् ।’

जेब्राक्रसमा असुरक्षा

साँघुरा बाटो, अत्यधिक सवारी चाप अनि तीव्र गति पैदलयात्रुका लागि प्रमुख समस्या हो । यस्तो अवस्थामा बाटो काट्न जोखिमपूर्ण हुन्छ । नयाँ बानेश्वर चोकस्थित जेब्राक्रसमा बाटो काट्न १० देखि ३० मिनेट पर्खिनुपर्ने ललितपुर बस्ने अमित भण्डारीले बताए । ‘बाटो काट्न पाइयो भनेर के खुसी हुनु जेब्राक्रसमै हुइँकिएका गाडी देख्दा ज्यानै सिरिङ हुन्छ,’ भण्डारीले भने ।

ट्राफिक नियमविपरीत हिँडदा वा नियमको उल्लंघन गर्दा सवारी चालक आफैंले ज्यान गुमाएका छन् । उपत्यकामा पैदलयात्रुले मात्र नभएर सवारी चालकले पनि ज्यान गुमाएका छन् । कतिपय ठाउँमा यात्रुको गल्ती भए पनि चालकको गल्ती देखाउने गरेको दिनेश श्रेष्ठले बताए । ‘सार्वजनिक बसमा यात्रा गर्दा समयमा नपुग्ने हुँदा आफ्नै सवारी चलाउनुपर्‍यो,’ उनले भने ।

उपत्यकामा सबैभन्दा बढी सवारी दुर्घटना चालकको लापरबाहीले हुने गरेको ट्राफिक विभाग प्रमुख एसएसपी वसन्तकुमार पन्तले बताए । ‘सवारी चालकलाई ट्राफिक नियमको जानकारी नहुँदा, तीव्र प्रतिस्पर्धा, ओभरटेक, मादक पदार्थ सेवनपछि सवारी चलाउँदा सडक दुर्घटना हुने गरेको छ,’ उनले भने । आव ०७२/७३ मा ६५ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाएका छन् ।

अघिल्लो वर्ष ७९ जना दुर्घटनामा परेका थिए । उपत्यकामा बर्सेनि बढ्दै गएको सवारी चापसँगै सडक दुर्घटना पनि बढ्दै गएको छ । साँघुरो अनि अस्तव्यस्त सडकमा ट्राफिक लाइट, सिग्नलको अपर्याप्तता, चालक तथा पैदल यात्रुले ट्राफिक नियम उल्लंघन गर्नु दुर्घटनाको मुख्य कारण हो ।

काठमाडौं उपत्यकामा करिब ३ सय जेब्राक्रस रहेको ट्राफिक महाशाखा प्रवक्ता जयराज सापकोटाले बताए । यस्ता जेब्राक्रस अझै नपुगेको उनको कथन छ । भएकाको पनि रङ खइसकेको छ । सडकको मर्मत, रंगरोगनको जिम्मेवारी पाएको सरोकारवाला गैरजिम्मेवार बनेका छन् । शान्तिनगर चोकमा रहेको जेब्राक्रसमा बाटो काट्न प्रहरीको सहयोग छ ।

सधैं र सबै ठाउँमा ट्राफिक प्रहरीको उपस्थिति नहुँदा जोखिम उठाउँदै बाटो काट्नुपर्छ । गाडीको उच्च चाप, मर्मत नगरिएका सडक र अव्यवस्थित जेब्राक्रस, आकासे पुलको कमी, सवारीको तीव्र गति दुर्घटनाका कारण बनेका छन् । सवारी तथा यातायात व्यवस्था ऐनअनुसार जेब्राक्रसमा सवारी रोक्नुपर्छ । सवारी नरोकी हुइँक्याए ५ सय रुपैयाँसम्म जरिवाना हुन्छ । जेब्राक्रसमै ठक्कर दिएर मृत्यु भए सवारी ज्यानअन्तर्गत मुद्दा चलाएर २ देखि १० वर्षसम्म थुनामा राख्न सकिने कानुनी व्यवस्था छ ।

काठमाडौं महानगरपालिकाले जारी गरेको ऐनअनुसार जेब्राक्रमा पैदल यात्रुलाई प्राथमिकता नदिने चालकमाथि कारवाही हुन्छ । ऐनमा यो कसुरमा पर्ने चालकमाथि समितिले अनुगमन गरेर पहिलोपटक दुई सय र दोस्रो पटक पाँच सय रुपैयाँ जरिवाना हुने उल्लेख छ ।

सीमा तामाङ (प्रशिक्षार्थी)

प्रकाशित : वैशाख ८, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?