कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जात्रालाई बजेट रोक्का

प्रशान्त माली

ललितपुर — पुरातात्त्विक महत्त्वका जात्राको प्रवर्द्धन तथा सञ्चालन गर्न संस्कृति मन्त्रालयले स्थानीय गुठीलाई दिने बजेट रोक्का गरेको छ । मन्त्रालयले प्रत्येक गुठीलाई २५ हजार रुपैयाँदेखि डेड लाख रुपैयाँसम्म अनुदान दिने गरेको थियो ।

बजेट रोकिँदा जात्रा सञ्चालन गर्न कठिनाइ भएको स्थानीय गुठीयारहरूको दुखेसो छ । उनीहरूले यो आर्थिक वर्षमा कत्ति पनि सरकारी सहयोग पाएका छैनन् ।


खोकनाको रुद्रायणी गुठीले वार्षिक ४२ हजार ३ सय बजेट पाउने गरेको थियो । अहिले गुठीयार रकम निकासा गर्न जाँदा मन्त्रालयका अधिकारीले बजेट कटौती भइसकेको भनी फिर्ता पठाए । ‘रकम लिन मन्त्रालयमा धेरै पटक धाएँ । एउटा कोठाबाट अर्को कोठा गएँ । अन्तमा बजेट स्थानीय तहमा गइसकेको भनी फिर्ता पठाए,’ रुद्रायणी गुठीका वैदार बेखनर महर्जन भन्छन्, ‘यता ललितपुर महानगरमा बुझ्दा गुठीको नाममा बजेट निकासा भएको छैन ।’


खोकनाबासी रुद्रायणी देवीलाई इष्ट देवता मान्छन् । खोकनामा साना/ठूला गरी ७ गुठी छन् । प्रत्येक गुठी रुद्रायणी मन्दिरसँग सम्बन्ध राख्छ । रुद्रायणी देवीनाच सञ्चालन गर्ने छुट्टै गुठी छ । गुठीयारले प्रत्येक वर्ष रुद्रायणी मन्दिरसँग सम्बन्धित ७ पर्व सञ्चालन गर्नुपर्ने परम्परा छ । यसका लागि उनीहरूले ललितपुर महानगरपालिकामा पेस गरेको आर्थिक विवरणअनुसार वार्षिक ५ लाख ५२ हजार रुपैयाँ खर्च लाग्छ ।


२०७४ मा पेस गरेको विवरणअनुसार असोज र कात्तिक पूर्णिमामा नाच प्रदर्शन गर्न ३ लाख ५ हजार १ सय १९, मन्दिरमा सय पूजा, लक्ष्मी र गाईजात्रामा पर्व चलाउन ६१ हजार ७ सय १८, राम नवमी र वैशाख १ गते पूजा गर्न १ लाख २२ हजार ४ सय ५७ रुपैयाँ खर्च हुने उल्लेख छ ।


संस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले जात्रा पर्वका लागि छुट्याएको बजेट अब मन्त्रालयबाट निकासा नहुने बताए । ‘स्थानीय तहमा एकमुस्ट पठाइएको छ,’ उनले भने, ‘संस्कृति शीर्षकमा नपाएकाले जनप्रतिनिधिले अन्य पूर्वाधारमा पनि पार्न सक्छ ।’ उनले सम्बन्धित गुठीयारले पहिला मन्त्रालयबाट निकास गरेको बजेटको भर्पाइ पेस गरी बजेट माग गर्न सकिने बताए । गुठीयारका अनुसार गुठीको नाममा करिब सय रोपनी जग्गा थियो । मोहीले ६० रोपनी रैकरमा परिणत गरे । अहिले बाँकी ४०

रोपनीबाट करिब ९० हजार बराबरको बाली भित्रिन्छ ।


यसबाहेक गुठी जग्गा रैकरमा परिणत गर्दा मोहीले गुठी संस्थानमा जम्मा गरेको अक्षय कोषबाट वार्षिक २३ हजार ४ सय ७० ब्याज आम्दानी हुन्छ । मन्त्रालय र महानगरबाट बजेट आउने आशमा अपुग झन्डै साढे ४ लाख रुपैयाँ गुठीयार आफैंले बेहोरेर जात्रा चलाए । अहिले रकम निकासा गर्न ललितपुर महानगरले पनि आलटाल गरिरहेको वैदार महर्जनले बताए । ‘आर्थिक कमजोरकै कारणले इन्द्रजात्रा र योमरी पुन्हीमा गरिने पूजा बन्द भयो,’ उनले भने, ‘यस्तै स्थिति रहेमा एक दिन नाच पनि बन्द हुनेछ ।’


ललितपुर महानगर २१ वडाध्यक्ष रवीन्द्र महर्जनले गुठीयारले रकम निकासा गर्न पत्र दर्ता नगरेकाले रकम उपलब्ध नगराएको दाबी गरे । ‘खोकनाका सांस्कृतिक बाजा, जात्रा पर्व संरक्षण प्रवर्द्धन गर्न ११ लाख बजेट परेको छ,’ उनले भने, ‘अन्य गुठीलाई भन्दा रुद्रायणीलाई प्राथमिकतामा राखेका छौं ।’ गुठीमा ४६ सदस्य छन् । प्रत्येकको काम बाँडफाँड गरिएको छ । १६ जना खिं, झ्याली, ताः र पोंगा बाजा बजाउने, चिलाग समाउने २, गोंगु मकः (मकल) समाउने, चिच्या (कुक म्यान) ५, सुवा (वेयटर) ६ छन् । रुद्रायणी, भैरव, कुमारी, गणेश, कुमार, शक्तिकुमार, ब्रम्हा, विष्णु, महादेव, इन्द्रायणी, बाराही, महालक्ष्मी, हनुमान र द्यःबु गरेर १४ जनाले देवगणको भूमिका खेल्छन् ।


नाचमा सहभागी हुन एक महिना अघिदेखि अभ्यास गर्नुपर्ने चलन छ । यसमा हुने खर्च पनि गुठीयार आफैंले बेहोर्दै आएका छन् । नाचका लागि आवश्यक बलि ६ राँगा, ९ बोका, २ हाँस, थम्बा, माछा चाहिन्छ । अहिले ऋण सापटी लिएर खरिद गरेको बलिको पैसा तिर्न नसकेर गुठीयार चिन्तित छन् ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?