खोलाकै सफाइ

माया श्रेष्ठ

काठमाडौँ — काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबी खोला किनारका बस्तीलाई वर्षायाममा डुबानबाट जोगाउने प्रयास थालेको छ । त्यसका लागि खोलो फराकिलो बनाउन धमाधम माटो निकाल्ने काम सुरु भएको छ ।

डुबानबाट बस्ती जोगाउन काठमाडौंको कालोपुलस्थित धोबी खोलामा सोमबार सतह मिलाइँदै । तस्बिर : अंगद ढकाल/कान्तिपुर

चाबहिल बैजनी पुलदेखि साढे ४ किलोमिटर धोबी खोला–वाग्मती दोभानसम्म खोलाको माटो निकाल्ने काम भइरहेको जानकारी प्राधिकरणका इन्जिनियर रञ्जन सिलवालले दिए । वर्षायाममाअनामनगर क्षेत्र जलमग्न हुने गरेको छ ।

प्राधिकरणका इन्जिनियर सिलुवाल भन्छन्, ‘खोला किनारमा अव्यवस्थित बसोबासका कारण खोलो साँघुरिँदै ९ मिटर चौडाइमा खुम्चिएको छ ।’ ठेकेदार कम्पनी जय गणेश सेवा थापाथली र प्राधिकरणबीच ५५ लाख ४४ हजार ४ सय ८० रुपैयाँमा ३ महिनामा खोलाको माटो निकल्ने काम सक्नेगरी ०७५ चैत ७ मा सम्झौता भएको हो ।

बैजनी पुलदेखि मैतीदेवी कालो पुलसम्मको माटो निकाल्ने काम सकिएको ठेकेदार कम्पनीका प्रमुख रामेश्वर श्रेष्ठले बताए । ‘१ फिटदेखि ३ फिट गहिराइसम्म खोलाको माटो निकालेका छौं । लेदो माटो निकालेर ४ दिन सुकाएरडिस्पोज गर्ने गरेका छौं,’ उनले भने ।

अघिल्लो वर्षायाममा काठमाडौं महानगरपालिका–१० स्थित विनायकनगरमा पसेको बाढीले साढे ३ करोड बराबरको क्षति पुर्‍याएको वडा अध्यक्ष रामकुमार केसीले बताए । ‘कम्तीमा खोलाको चौडाइ ४० मिटर हुनुपर्ने हो तर धोबी खोला १२ मिटरमा खुम्चियो,’ उनले भने, ‘एक्काइस वर्षसम्म स्थानीय जनप्रतिनिधि नहुँदा खोलो साँघुरियो ।’ धोबी खोलाबाट २३ हजार ९ सय ६७ घनमिटर माटो निकालिनेजानकारी प्राधिकरणले दिएको छ ।

बस्तीमा पानी पस्ने वर्षौंदेखिको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न केन्द्र सरकारले पहल गर्नुपर्ने वडा २९ का अध्यक्ष कुशकुमार क्षत्रीको भनाइ छ । ‘खोला वारिपारि थुप्रिएको माटो निकालेपछि पानीको सतह घट्ला तर खोलाको चौडाइ कम भएपछि वर्षायाममा पानी कता पस्छ, कसैले आकलन गर्न सक्दैन,’ उनले भने, ‘माटो निकाल्ने कार्यले बर्सेनि निरन्तरता पाए मात्र जोखिम कम हुन्छ ।’

प्रकाशित : वैशाख १०, २०७६ ०८:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

औषधि पाउँदैनन् हेमोफिलियाका बिरामी

फातिमा बानु

काठमाडौँ — भक्तपुरका २१ वर्षीय ओम साखकर्मीको जन्मिँदा शरीरमा निलाडाम थिए । बामे सरेर हिँड्ने बेला कतै ठोक्किएर चोटपटक लाग्दा धेरैबेर रगत बग्थ्यो । खुट्टा टेकेर हिँड्ने भएपछि जोर्नी र गोलीगाँठा सुन्निन थाले ।

चोटपटक लाग्दा बगेको रगत नरोकिने, दुधेदाँत खुस्किँदा घन्टौंसम्म रगत बग्ने । उमेरसँगै यस्ता समस्या पनि बढै गए । ७ वर्ष पुगेपछि मात्रै उनको समस्या पत्ता लाग्यो– हेमोफिलिया । अर्थात् रगतसम्बन्धी एक रोग । रोगले गाल्दै लगेका कारण उनको अवस्था दिनप्रतिदिन चिन्ताजनक भइरहेको छ । उनी भन्छन्, ‘बोक्सी लागेको भनेर झारफुक गरें, अहिले रोग पत्ता लागे पनि उपचार गर्न मुस्किल छ ।’

आन्तरिक रक्तश्रावका कारण उनको घुँडाको भित्री भागमा रगत जमेको छ । शल्यक्रिया गरी जमेको रगत निकाल्नुपर्ने भएको छ । शल्यक्रियापछि बग्ने रगत रोक्न औषधिको जोहो गर्न नसक्दा शल्यक्रिया नगरी बसेका छन् । उनी भन्छन्, ‘रगत जमेको खुट्टा दुखेर कैयौं रात सुत्न सक्दिनँ, दुखेका बेलामा खुट्टै काटेर फालिदिऊँ जस्तो लाग्छ ।’ उनको दुखाइ कम गर्ने औषधि छैन । सहेरै बस्नुपर्ने उनको बाध्यता छ ।

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनमा २०७४ ले हेमोफेलियाका बिरामीले निःशुल्क पाउनुपर्ने उल्लेख भए पनि यो कार्यान्वयन छैन । स्वास्थ्य मन्त्रालयले तयार पारेको अपांगता व्यवस्था रणनीतिमा पनि हेमोफेलियाका बिरामीले नियमित पाउनुपर्ने औषधि र शल्यक्रिया निःशुल्क उपलब्ध गराइने भने पनि यो व्यवहारमा लागू हुन नसक्दा बिरामी मारमा परिरहेका छन् ।

विशेषज्ञका अनुसार हेमोफिलिया रगतसम्बन्धी वंशाणुगत रोग हो । सामान्य व्यक्तिमा जस्तो यस्तो व्यत्तिको शरीरमा रगत जमाउने तत्त्व (क्लटिङ फ्याक्टर) हुँदैन, जसले गर्दा कुनै शारीरिक चोटपटक लाग्दा बग्ने रगत रोकिँदैन । सामान्य चोटपटक लाग्दा पनि लामो समयसम्म रगत बगिरहन्छ ।

आन्तरिक रक्तश्राव हुँदा शरीरभित्रै जमेको रगत हातखुट्टाको जोर्नी बिगार्छ र अपांगता बनाउँछ । रक्तश्राव रोक्न आवश्यक पर्ने औषधि नेपालमा भित्रिएको छैन । किनेर औषधि खानुपर्दा विदेशबाट मगाउनुपर्छ । औषधि महँगो पर्ने हुँदा बिरामी विदेशी दाताले निःशुल्क दिएको औषधिका भरमा बाँचेका छन् । अनुदानको औषधि नियमित हुँदैन ।

समयमा औषधि नपाउने हुँदा उनीहरूको जीवन खतरामा छ । रक्तरोग विशेषज्ञ डा. नीरजकुमार सिंहका अनुसार टाउको र पेटमा हुने आन्तरिक रक्तश्रावको समयमा उपचार हुन नसके बिरामीको मृत्युसम्म हुन सक्छ । उनी भन्छन्, ‘सरकारले औषधि किनेरै भए पनि यस्ता व्यक्तिको उपचार गर्न पहल गर्नुपर्छ, दाताले दिएको औषधि मिति गुज्रन लागेका हुन्छन् ।यस्तो औषधिको गुणस्तर कम हुन्छ ।’ रक्तरोग विशेषज्ञ डा. अमित श्रेष्ठका अनुसार वंशाणुगत भए पनि यो रोग आमाबाट छोरामा मात्रै सर्छ । यो रोग लागिसकेपछि निर्मूल पार्न सक्ने उपचार छैन । ‘समयमै रोग पहिचान भए यस्ता बिरामी सामान्य मानिसजस्तै हुन्छन् । नेपालमा उपचार सहज र सुलभ छैन,’ उनले भने ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्