सार्वजनिक जग्गा अतिक्रमण

काठमाडौं — काठमाडौं महानगपालिकाका ४ नं. वडाध्यक्षले सार्वजनिक जग्गा मिचेको वडाबासीले आरोप लगाएका छन्  । मण्डिखाटार जाने पुरानो बाटोलाई छेकेर वडाध्यक्ष र उनका दाजुभाइले पार्किङ बनाएका छन् भने भाडामा पनि लगाएका छन्  ।

वडाध्यक्ष मोहन विष्टले आफ्नो र आफ्ना नातेदारको सँगै जग्गा पर्ने भएकाले दुवैतिबाट घेरबेर गरेर च्यानल गेट लगाएका छन् भने अर्कोतिर घर नै बनाएर भाडामा लगाएको स्थानीयको आरोप छ । वडाध्यक्षले भने, सार्वजनिक जग्गा राज्यले संरक्षण गर्नुपर्ने बताउँछन् ।

धुम्बाराहीबाट मण्डिखाटार जाने बाटोको मुखैमा देब्रेतिर दुई घरको बीचको साँघुरो ठाउँमा दुईतिर सिमेन्टको पर्खाल छ । बीचमा ढोका छ । त्यो घरको समेत भाडा उठाइएको छ । वडाध्यक्षकै दुई घर वरको घरमा सार्वजनिक जग्गामाथि नै पक्कि घर बनाइएको छ । ‘त्यो मण्डिखाटार जाने पुरानो बाटो हो । नयाँ बनेपछि त्यसलाई घेरबेर गरेर पार्किङ गर्ने र आँगनको रुपमा प्रयोग गरिएको छ,’ एक स्थानीयले भने, ‘चक्रपथसँगैको जग्गामा पक्की घर बनाई भाडामा लगाएका छन् । वडाध्यक्षको मिलेमतोमै अतिक्रमण गरिएको हो ।’

जग्गाको नापीअनुसार १६६, १६७ र १६८ पछि को १४७ र १४८ नम्बर कित्ता सार्वजनिक स्थान वा सडक हो । नापीको ट्रेस अनुसार उक्त जग्गा सडक हो । तर त्यो जग्गामा अहिले तीन घरले आफ्नो जसरी प्रयोग गरिरहेका छन् र उत्तरतर्फ गेट र दक्षिणतर्फ घर बनाएका छन् । लगभग एक सय मिटर जग्गा उनले दुवै तर्फबाट मिचेका छन् । चक्रपथसँगैको गल्ली ढाकेर घर बनाइएको छ भने दक्षिणतर्फ गेट बनाएर राति बन्द गर्ने गरेको वरपरका पसलेले बताए । एक व्यवसायीले भने, ‘त्यो घर निकै पहिलेदेखिको हो । भाडामा छ, यताको ढोका पनि निकै पहिले बनाइएको हो ।’

वडाले ५ सय ५२ रोपनी अतिक्रमित जग्गा राज्य मातहत ल्याइसकेको जनाएको छ । तर उक्त जग्गाबारे वडाध्यक्ष विष्टले सुरुमा थाहा नपाएको प्रतिक्रिया दिए पनि पछि भने खुला स्थान भएकाले प्रयोग गरेको स्वीकारे । उनले भने– ‘मान्छेले आफनो सुरक्षाका लागि गेट लगाउन नपाउनु ? खुला स्थान हो जसले प्रयोग गरेपनि भयो । तपाईं आएर प्रयोग गर्नुस् ।’

उनले संरक्षण गर्ने जिम्मा राज्यको भएको बताए । आफैँ स्थानीय सरकारको प्रतिनिधि भएपनि राज्यले उक्त जग्गा संरक्षण गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘अरु जग्गाझैं यो जग्गा पनि राज्यले संरक्षण गरोस् । हामीले रोकेका छौं र ?’

प्रकाशित : वैशाख ११, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?