३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

धोबीखोलाका पुलले सास्ती

विद्या राई

काठमाडौँ — धोबीखोला करिडोरको मैतीदेवीस्थित रातोपुल । धुलाम्मे सडक । मध्याह्नको चर्को घाम । अनामनगरपट्टिबाट एउटा मोटरबाइक जोडले हुइँकिँदै आयो । पुलमुनि थोरै अगाडि पुगेर घ्याच्चै रोकियो । चालकले मोटरबाइक 
पछाडिपट्टि सारेर पुल माथिबाटै घुमाएर पारि तारे । 

उनले घुमेर पारि तर्नुको कारण थियो पुलमुनि भएर जाने बाटो हिलाम्मे, साँघुरो र अप्ठ्यारो । परबाट हेर्दा पुलमुनि हुँदै पारि छिर्न सकिने देखिन्छ । छेउमा पुगेपछि मात्रै थाहा हुन्छ त्यहाँ बाटै हुँदैन । करिडोर निर्माण सम्पन्न नभएकाले थुप्रै सवारीचालकहरू पटक–पटक झुक्किने गरेका छन् । ‘हुइँकिएर आयो, पारि जाने बाटो हुँदैन, फेरि पुल माथिबाटै घुमेर पारि तर्नुपर्छ,’ एक ट्याक्सी चालकले भने ।


काठमाडौंमा ट्राफिक जामको सहज समाधान खोज्दै सरकारले १७ वर्षअघि ‘धोबीखोला करिडोर’ बनाउन थालेको थियो । जति बेला काठमाडौंकै ठूलो र फराकिलो मानिएको चक्रपथमा ट्राफिक जाम बढिरहेको थियो । उसैगरी जनघनत्व पनि । त्यति बेला झाडीले ढाकेको धोबीखोलालाई व्यवस्थित गर्दै नदीको दुवै किनारमा सडक बनाई व्यवस्थित सहर निर्माण गर्ने भनी करिडोर निर्माण सुरु भएको थियो ।


२७ वर्षअघि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले उपत्यकामा भित्री सडक विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकास गर्न ‘धोबीखोला करिडोर’ सुधार आयोजनाको प्रतिवेदन सरकारलाई बुझायो । सरकारले सो प्रतिवेदनअनुसार काम अघि बढायो ।


तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिले चाबहिल चक्रपथ पुल र दक्षिणतर्फ वाग्मती दोभान जोड्ने ११ किमिको करिडोर निर्माण थालेको थियो । करिडोर १७ वर्षदेखि ‘बनिरहेको’ को मात्रै छैन । निर्माण भएका संरचना पनि सहरी सुव्यवस्थाअनुरूपका छैनन् । उल्लिखत रातो पुलको दृष्टान्त एउटा उदाहरण मात्रै हो ।

करिडोरमा मुख्यतः धोबीखोला, सेतोपुल, रातोपुल, कालोपुल, भत्केको पुल र चक्रपथ पुल पर्छन् । करिडोर निर्माण गरिनुको अर्थ, यी पुलहरू पर्ने स्थानमा पनि सिधै पारि तर्न सक्नुपर्छ । माथिबाट घुमेर जानुपर्ने अवस्था हुनु हुँदैन र कुनै दुर्घटनाको जोखिममा पर्नुपर्दैन । अधिकांश पुलहरूमा पारि तर्ने बाटो नै छैन ।


करिडोरको काम सहरी व्यवस्थाअनुरुप किन भएन भन्ने जिज्ञासामा काठमाडौं उपत्यका विकास प्राधिकरण प्रमुख आयुक्त भाइकाजी तिवारी भन्छन्, ‘जति गरिएको छ, यो पनि धन्न भएको हो, पहिल्यै बनाइएका पुलहरू कतै अग्लो कतै होचो पारेर बनाइएको छ, दूरगामी हिसाबले नबनेका कारण जग्गाको अभावले पुलमुनिको बाटोमा समस्या भएको हो ।’


माथिबाटै घुमेर जानुपर्ने भएपछि चारैपट्टिका सवारीसाधनहरू आपसमा ठोक्किई दुर्घटना हुने सम्भावना अत्यधिक हुन्छ । रातोपुलमा गौशाला रत्नपार्क गर्ने सवारी चाप अत्यधिक हुन्छ । धोबीखोला करिडोर भएर जाने सवारीसाधन पनि पुलमाथिबाटै पारि तर्नुपर्छ । सवारी चाप अत्यधिक भएपछि ट्राफिक प्रहरीलाई पनि व्यवस्थापन गर्न चुनौती हुँदै आएको रातोपुलका स्थानीय बताउँछन् ।


पुलमुनि हुँदै पारि तर्ने बाटो भएका पनि साँघुरा छन् । जमिन र पुलबीचको उचाइ पनि होचो छ । मोटरबाइक र साना गाडी मुस्किलले छिर्छन् । ती स्थानमा पुलको जगमै पर्ने गरी बाटो खोलिएको छ । यसले गर्दा वर्षातमा धोबीखोला सडकतिरै ओइरिएर थुप्रै सवारीसाधनहरू फस्ने गरेका छन् ।


सम्झौताअनुसार करिडोर २०७४ चैतसम्ममा सम्पन्न भइसक्नुपर्थ्यो । तर हालसम्म ८० प्रतिशत मात्रै काम सकिएको प्राधिकरणका आयुक्त तिवारी बताउँछन् । हचुवा तालमा धोबीखोला करिडोरको काम सुरु गरेका कारण ढिलाइ भएको पूर्व सहरी विकास सचिव किशोर थापा बताउँछन् ।


‘सुरुमा पर्खाल लगाएर सडक बनाउने भन्ने थियो, पछि ढल पनि बनाउने भन्ने भयो, यदि यी दुवै करिडोर सुरु हुनु अगावै योजना बनेको भए यसरी लम्बिने थिएन ।’ उनले भने, ‘र अर्को मुख्य कारण भनेको ठेकेदारको लापरबाही र पटकपटक म्याद थप्न मिल्ने प्रावधानले पनि काम ढिलाइ भएको हो ।’

प्रकाशित : वैशाख १३, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?