धोबीखोला करिडोर : फोहोर थुपार्ने थलो 

विद्या राई

काठमाडौँ — अनामनगरको देवीनगरमा सडक ढाक्ने गरी इँटा, गिटी, बालुवा, काठलगायत निर्माण सामग्री असरल्लै थुपारिएका छन् । छेवैपट्ट चटपटे, फलफूल र तरकारीका ठेला ।

धोबीखोला करिडोर : फोहोर थुपार्ने थलो 

नौ मिटर चौडाइको सडकमा आधा बढी भाग ठेला र निर्माण सामग्रीले ढाकेपछि धोबीखोला करिडोरको बिजुलीबजार बाटो भएर जाने तथा चाबहिल चक्रपथ भएर आउने सवारीसाधनको ट्राफिक जाम भैरहन्छ । मुख्य राजमार्गहरूमा जामको सास्तीले अवाक बनेर करिडोरको बाटो रोज्नेलाई यता पनि सहज छैन ।

मैतीदेवीको सेतोपुलमुनि पर्ने करिडोरको एकापट्टी सवारीसाधन पार्किङ गर्ने थलो बनेको छ । अर्कोपट्टी स्थानीयले घरबाट निस्केका फोहोर, इँटाका टुक्रा, काम नलाग्ने कच्चा पदार्थ फाल्ने डम्पिङ साइट बनेको छ । रातोपुलमुनि प्राक्टिकल वेस्ट सोलुसन प्रालिलेे फोहोर थुपार्ने, छुट्याउने काम नै गर्छ । फोहोर माथिबाटै साना गाडी र मोटरबाइक ओहोरदोहोर गर्छन् । पैदलयात्रुहरू पनि उही फोहोरमाथि हिँड्न बाध्य छन् । 'के गर्ने पुलमाथिबाट घुमेर जाऊँ ढिला हुने, मुनिबाट छिटो पुग्नलाई नै करिडोर बनेको होला, फोहोरका डंगुर थुपारेका छन्, त्यहीमाथि नहिँडी सुखै छैन,' पैदलयात्री रामबहादुर थापाले भने ।

करिडोर चाबहिल चक्रपथ पुल र दक्षिणतर्फ वाग्मती दोभानको बिजुलीबजार जोड्ने सबैभन्दा छोटो दूरी पर्छ । तर फोहोर र स्थानीयका निर्माण सामग्री थुपार्ने ठाउँ बनेपछि यात्रुहरूका लागि सकस भइरहेको छ । 'बाइक हाँक्दै अगाडि बढ्दै गयो, कतै घर बनाउनेका इँटा, गिटी, बालुवाका थुप्रा, कतै फोहोरका थुप्रा, सवारीसाधनको चाप बढ्दा दुर्घटनामा परिएला भन्ने डर हुन्छ,' एक मोटरबाइक सुजन राईले गुनासो गरे ।

करिडोरमा मुख्यतः धोबीखोला, सेतोपुल, रातोपुल, कालोपुल, भत्केको पुल र चक्रपथ पुल पर्छन् । ती पुलहरू स्थानीयका फोहोर थुपार्ने ठाउँ बनेको छ । करिडोरका सडकका अधिकांश भाग घर बनाउनेहरूको निर्माण सामग्री थुपार्ने स्टोर बनेको छ । कतिपय घरहर सडकसँग टाँसेरै बनिरहेका छन् ।

करिडोर आसपास घना बस्ती छन् । स्थानीयले वाग्मतीमै ढल मिसाएका छन् । यसको दुर्गन्ध पनि करिडोर भएर आवतजावत गर्ने यात्रुले नै भोग्नुपर्छ । सहरी सुव्यवस्थाका लागि सरकारले निर्माण थालेको धोबीखोला सम्पन्न भइनसक्दै यात्रुका लागि सास्ती बनेको छ । 'करिडोरले गर्दा आउजाउ गर्न सजिलो हुन्छ त भन्नु मात्रै,' एक यात्रुले भने ।

करिडोर निर्माणको जिम्मा पाएको काठमाडौं उपत्यका विकास प्राधिकरणले फोहोर व्यवस्थापनको काम महानगरलाई औंलाएको छ । 'पहिले पटकपटक फोहोर उठाएकै थियौं, अहिले काठमाडौं महानगरको काम हो, उसैले जान्नुपर्छ ।' प्राधिकरण प्रमुख आयुक्त भाइकाजी तिवारीले बताए । यता काठमाडौं महानगर भने यसबारे अनविज्ञ रहेको पाइएको छ । वातावरण शाखाका प्रमुख हरिकुमार श्रेष्ठ भन्छन्, 'वातावरण अनुगमन गर्नुपर्ने हो, कर्मचारी नि घट्दै गइराखेको छ, एकपटक हेरेर खबर गरूँला नि ।'

काठमाडौंमा ट्राफिक जामको सहज समाधान खोज्दै सरकारले १७ वर्षअघि 'धोबीखोला करिडोर' बनाउन थालेको थियो । जति बेला काठमाडौंकै ठूलो र फराकिलो मानिएको चक्रपथमा ट्राफिक जाम बढिरहेको थियो, उसैगरी जनघनत्व पनि । त्यति बेला झाडीले ढाकेको धोबीखोलालाई व्यवस्थित गर्दै नदीको दुवै किनारमा सडक बनाई व्यवस्थित सहर निर्माण गर्न करिडोर निर्माण सुरु भएको थियो ।

करिडोर बनाउनका लागि नेपाल सरकारले आर्थिक वर्ष २०६७/६८ बाट बर्सेनि बजेट छुट्याउँदै आयो । पहिलो चरणमा ११ किलोमिटर -दुवैतर्फ ५.५/५.५ किमि) मा काम थाल्यो । आर्थिक वर्ष २०७१/७२ बाट चाबहिलदेखि कपनस्थित भङ्गाल पुलसम्म दुवैतर्फ ४/४ किमि थपेर १९ किमि बनायो । तेस्रो चरणमा भङ्गाल पुलदेखि दक्षिणतर्फ ५ किलोमिटर थपेर जम्मा २४ किलोमिटर बनाइएको थियो । दुवैतर्फ हालसम्म ८० प्रतिशत काम सकिएको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त तिवारीले बताए ।

हालसम्म २ अर्ब बढी बजेट खर्च भइसकेको छ । २० प्रतिशत काम पूरा गर्न थप ४५ करोड आवश्यक पर्ने उनको अनुमान छ ।

प्रकाशित : वैशाख १९, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?