कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

'दुर्गन्ध रोक्न’ ढलान

शिल्पा कर्ण

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नं. २६ मा पर्छ सामाखुसी । ठमेल र नयाँ बसपार्कबीचको यो क्षेत्रमा सामाखुसी खोलो बग्छ तर पानीभन्दा बढी घरको फोहोर र ढल मिसिएको हुन्छ । यसमा ढल मिसाउनेमा वरपरकै बासिन्दा छन् । त्यही ढल मिसाएकाले गन्हाउने भएर खोलो छोप्न बाध्य भएको उनीहरूको भनाइ छ । वडाले सडक र ढल व्यवस्थापन नगरिदिँदा ढल मिसाउनुपरेको उनीहरू बताउँछन् । 

'दुर्गन्ध रोक्न’ ढलान

पहिले त्यहाँ पुर्खाले खेती गर्थे भन्छन् श्यामकाजी महर्जन । २०६० सालमा घर बनाउनुअघि खोलो थियो र त्यसको पानीले खेत डुबान नहोस् भनी माटाले छेकिएको सम्झिन्छन् उनी । पानी नपसोस् भनी थुपारेको त्यो माटाको ढिस्कोमाथि बस्ती बस्यो । टहरा रहेको उक्त ठाउँमा अहिले ४ तलाका पक्की घरसमेत छन् । सुकुम्बासी बस्तीमा कतैबाट स्वीकृति नलिई धमाधम निर्माण भइरहँदा स्थानीय निकाय भने मौन छ । स्वीकृति लिएकाहरूलाई पनि समस्या छ । महर्जन भन्छन्, 'बस्ती व्यवस्थित छैन । हाम्रा लागि ढलको व्यवस्था छैन ।'


त्यहीँ खोलाछेउ नियमपूर्वक घर बनाई बसेका अर्का बासिन्दा हुन् सुबोध पाण्डे । उनको घरको ढल पनि सामाखुसी खोलामा जोडिएको छ तर घरको पानी खोलामा जानुका साथै वर्षात्‌मा उल्टै खोलाले पिरोल्ने गरेको उनको भनाइ छ ।


'वर्षामा खोलो ठूलो हुन्छ । उल्टै खोलाले ढलको पानी हाम्रो आँगनमा ल्याइदिन्छ,' उनले भने, 'वडामा समस्या सुनाउँदा एक जनाको मात्र समस्या हो, केही गर्न सकिन्न भनेर जवाफ पाइयो ।' ढल मिसाउनु आफूलगायत टोलवासीको बाध्यता रहेको उनको भनाइ छ । 'ढल गर्मीमा गन्हाउने भएरै खोलो ढाकेका हौं । मान्छे पस्ने, खस्ने भएर सुरक्षित बनाउन ढलान गर्‍यौं,' उनले भने ।


सामाखुसीको उक्त स्थानमा २०६२/६३ सालतिर खोलामा ढलान गरिएको स्थानीयको भनाइ छ । अर्का बासिन्दा प्रभात रेग्मीका अनुसार १५ वर्षअघि घर बनाउने बेलामा ढलको व्यवस्थापन थिएन । छेउमा धान खेत थिए । 'अरूहरूको ढल खोलामा होला । हाम्रो त बसपार्कतिर छ,' रेग्मी भन्छन्, 'हामीलाई पानीको पनि समस्या छ । सबैतिर मेलम्चीको पाइप बिछ्याइएको छ । हामीलाई भने उल्टै पाइप फुट्दा ढलको पानी आउँछ ।' ढलको र पानीको पाइप सँगसँगै हुँदा अव्यवस्थित बनेको र पानीको समस्या भएको उनले सुनाए ।


पाण्डेका अनुसार वडाले ढल र पानीको व्यवस्था गर्न कुनै तदारुकता देखाएको छैन । 'हाम्रोतिर मेलम्चीको पानीका लागि प्लास्टिकको पाइप पनि बिछ्याइएको छैन । ढल कहाँ व्यवस्थापन गर्ने ? स्थान नभएर खोलामा मिसाउनुपरेको हो,' उनले भने ।


वडाले समाधान दिए आफूहरूले जग्गा दिन तयार रहेको उनको भनाइ छ । वडा वा महानगरका तर्फबाट ढल बिछ्याउने योजना ल्याउनुपर्ने र खोलो संरक्षण गर्नुपर्ने उनले बताए । 'पानी नभएका बेला उल्टै खोलाको पानी तान्छ । व्यवस्थित बस्ती भए हामीले किन खोलामा मिलाउनुपर्‍यो ढल ?,' रेग्मीले प्रश्न गरे ।


रोक्ने भनिएको संरचनामा तला थपियो

नेपाल सरकारले २०६५ मंसिर १ गते गरेको निर्णयअनुसार सामाखुसी खोलाको दुई छेउमा ४/४ मिटर खुला हुनुपर्ने हो तर सामाखुसीमा त्यो कायम छैन । कुनै पनि खोला, खोल्सी, राजकुलो छोप्न पाइन्न तर यो वडामा उल्टै खोलो छोपेर किनार अतिक्रमण गरी बस्ती बसाइएको छ ।


सामाखुसीको पुष्पाञ्जली मार्ग र नवसंगम मार्गमा झन्डै साढे ५ सय मिटरसम्म सामाखुसी खोलामाथि ढलान गरी खोलो छोपिएको छ । स्थानीयले नै झन्डै एक दशकअघि खोलो छोपेका हुन् । त्यहाँको सुकुम्बासी बस्तीले खोलाछेउ अतिक्रमण गर्ने क्रम त्यसपछि झनै बढेको छ ।


खोलै छोपेर ४ दर्जनजति घर/टहरा बनेको हुँदा वैधानिक रूपमा बसेकाहरू पनि समस्यामा परेका छन् । 'यसरी नबनाउनुस् भन्दा वडाध्यक्षले दुई तलासम्म बनाउनुस् भनेको भन्छन् । वडाध्यक्षले केही नगर्नु भनेको मिलेमतो नै त हो,' नवसंगम मार्गका एक बासिन्दाले भने । रोक्न खोज्दा गुन्डाबाट धम्क्याइएको अनुभव छ त्यहाँका बासिन्दाको ।


सामाखुसीस्थित खोला किनारमा बढिरहेको बस्ती अव्यवस्थित र अनधिकृत रहेको स्थानीय तहले स्विकारे पनि कुनै कारबाही भएको छैन । एक महिनाअघि अनधिकृत निर्माण भइरहेको भन्दै वडामा उजुरी परेको थियो । पिलर ठड्याउँदा परेको उजुरीमा अहिले दुईतले घर बनिसक्यो । सकभर मिलापत्र गराउन खोजे पनि नसकेपछि काठमाडौं महानगरपालिकाको कानुन शाखामा लेखिपठाएको वडाले जनाएको छ । महानगरपालिकाले दुई दिन तारेखमा बोलाए पनि अर्को पक्ष उपस्थित नभएकाले कुनै कामकारबाही अघि बढ्न सकेको छैन । यता तत्काललाई निर्माण रोक्नु भनेर दिइएको आदेश पनि पालना भएको छैन ।


'रोक्नु भनेर नगर प्रहरीले भने पनि रातभरिमा फेरि निर्माण गरिएछ,' पीडित राजु बलामीले भने । नक्साअनुसार बाटो कायम भएको जग्गामा निर्माण गरेकाले आफूसहित वरपरका घरलाई आउन जान कठिनाइ भएको उनले सुनाए । 'मोटरसाइकल छिर्ने ठाउँमा पर्खाल लगाइदिए । अब यो बाटो आउनेजाने बाटै बन्द भयो,' उनले भने । सुकुम्बासी बस्तीमा निर्माण गर्नु हुन्न भन्दा उल्टै हातपात गर्न आएपछि उनले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा सुरक्षाका लागि निवेदन दिएका छन् । 'नक्साअनुसार निर्माण गर्नुस्, कम्तीमा आउनेजाने बाटो त बन्द नगर्नुस् भन्दा गुन्डा ल्याएर धम्की दिइयो,' बलामीले भने ।


वडाध्यक्ष ख्यामराज तिवारीले भने वडावासीका समस्या समाधानतर्फ आफूहरू लागिरहेको बताए । उनले निर्माण भइरहेको स्थानमा नगर प्रहरी लगाएर रोकिएको भए पनि पछि फेरि ढलान गरिएको बताए साथै उनले खोलो नै अतिक्रमण नभएको बरु खोलो छेउका जग्गा अतिक्रमित भएको बताए ।


'यो खोलाको बयान तिब्बतको ग्रन्थमा पनि गरिएकाले निकै महत्त्वपूर्ण छ,' उनले थपे, 'वडा नं. ३, १६ र २६ मिलेर यसको संरक्षणका लागि योजना बनाएका छौं । सम्भवतः साउन भाद्रबाट दुवै छेउ सडक निर्माण कार्य सुरु हुन्छ ।'

प्रकाशित : वैशाख २३, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?