डम्पिङ साइट बन्दै पाशुपत क्षेत्र

माया श्रेष्ठ

काठमाडौँ — पशुपतिनाथको मृगस्थली र ध्रुवस्थली वन फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) का रूपमा परिणत भएको छ । वनमा उद्योगधन्दाबाट निस्किएका फोहोरदेखि बस्तुभाउको सिनोसम्म यत्रतत्र फालिएको देख्न सकिन्छ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र दुर्गन्धित हुँदा समेत पशुपति क्षेत्र विकास कोष मौन बसेको स्थानीयवासीले गुनासो गरेका छन् ।

गार्मेन्ट, औद्योगिक कार्यबाट निस्किएका प्रदूषित फोहोर र बस्तुभाउको सिनो फाल्ने डम्पिङ साइटमा परिणत भएको स्थानीय नुक्षेबहादुर ठैलाले बताए । 'वन जति पछि भयो, त्यति कुरूप भयो,' उनले भने, 'यहाँ पहिला घुम्न विदेशी स्वदेशी मान्छेको भिड हुन्थ्यो, अहिले बाटो भएर हिँड्न पनि यताउति नहेरी हिँड्नुपर्छ ।'

तिलगंगा चोकदेखि गोठाटार ताम्रगंगासम्म पशुपति क्षेत्रको मृगस्थली र ध्रुवेश्वर वनको बीचमा पर्ने करिब ६ सय ७५ मिटर कच्ची मोटरबाटो वारिपारिका विभिन्न ठाउँमा फोहोर थुपारिएको छ ।

गार्मेन्ट उद्योगबाट निस्किएका फोहोर फाल्न भक्तपुरदेखि ट्रकहरू आउने गरेको ठैलालेे बताए । पवित्र स्थल फोहोर फाल्ने स्थल बन्दै गयो,' उनले भने, 'जता पायो त्यतै फोहोर फाल्दा पनि क्षेत्र कोष मौन बसेको छ ।' मरेका गाईबस्तुका सिनो बाटो छेउछाउ यत्रतत्र छरिएका छन्, त्यसमाथि स्थानीय व्यापारीले कुखुराको आन्द्रा यहाँ ल्याएर फाल्ने गरेका छन् । तिलगंगाबाट गौरीघाट जाँदै गरेका गोपाल केसीले भने, 'कच्ची बाटोको खाल्डाखुल्डीमा धूलो खाँदै हिंड्यांै, त्यसैमाथि फोहोरको दुर्गन्धले हिँड्नै गाह्रो हुन्छ ।'

यसरी पैदलयात्रा गर्दा सास्ती खेप्नेहरू सबैको अनुभव केसीको जस्तै छ । शिवपुरी बाबा आश्रममा जाँदै गरेकी शंखमूलकी कोकिला रिजालले भनिन्, 'फोहोर मात्रै नभएर मृगस्थलीमा मानव चिहानसमेत अव्यवस्थित रूपमा गाडिएका छन् ।'

चिहानबाट लास स्यालले खोस्रँदा दुर्गन्ध फैलिएको उनले बताइन् । 'लास राम्रोसँग नगाडदा दुर्गन्ध फैलिएर हिंड्न समस्या छ,' उनले भनिन्, 'पशु र मानवको लास राख्ने ठाउँ सँगै जस्तो पो भयो ।'

वन फोहोर फाल्ने डम्पिङ साइटजस्तै हुँदा समेत क्षेत्र विकास कोषको ध्यान जान सकेको छैन । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल यस विषयमा बोल्न चाहेनन् । उनले भने, 'यसबारे एक हप्तापछि थाहा हुन्छ ।'

यस क्षेत्रमा ज्यादै फोहोर बढेपछि सफाइ गरिपाऊँ भनी तीन वर्षअघि नै सर्वाेच्चमा रिटसमेत दायर भएको थियो । त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश अनीलकुमार सिन्हा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासलेे ०७३ पुस ३ गते पशुपति क्षेत्र दिगो संरक्षण व्यवस्थापन र विकासका लागि 'मृगस्थली र श्लेष्मान्तक वनको समस्त क्षेत्रको सुरक्षा र सफाइका लागि व्यवस्था गर्नू' भनी आदेश गरेको थियो ।

'काठमाडौं उपत्यकाको बढदो जनसंख्या र जनघनत्वसमेतलाई दृष्टिगत गर्दा' त्यस क्षेत्रमा शव गाड्ने कामसमेत रोक्नुपर्ने उक्त आदेशमा उल्लेख छ । यसबाट सम्बन्धित धार्मिक क्षेत्रमा मर्का पर्न जाने तथ्यलाई अदालतले मनन गर्दै 'सम्बद्ध सम्प्रदायको धार्मिक भावनामा चोट नपुग्ने गरी वैकल्पिक स्थानको व्यवस्था गर्नू' भनेर समेत अदालतबाट आदेश भएको थियो । तर, तीन वर्ष लागिसक्दा पनि न आदेश पालना भएको छ, न पाशुपत क्षेत्रको दुर्गन्ध र फोहोर नै रोकिएको छ । यसरी सम्बन्धित निकायले सुधारमा वास्तै नगरेको देखेपछि स्थानीय बासिन्दा र भक्तजन निराश छन् ।

- प्रशिक्षार्थी

प्रकाशित : वैशाख ३०, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

पानी खोज्दै बसाइँ

दीपेन्द्र शाक्य,

संखुवासभा — जिल्लाका तीन स्थानीय तहमा खानेपानीको चरम समस्या छ । नजिकै मुहान नहुँदा घण्टौ लाम बसेर पानी ल्याउनुपर्ने अवस्था छ । पानी अभावकै कारण बसाइँ सराइ तीव्र भएको छ । 

खानेपानीका लागि लाइनमा बसेका संखुवासभाको पाँचखपनवासी ।तस्बिर : दीपेन्द्र/कान्तिपुर

अहिलेसम्म ४५ घरपरिवारले गाउँ छाडेका छन् । चैनपुर नगरपालिकाका १०, धर्मदेवी नगरपालिकाका २५ र पाँचखपन नगरपालिकाका १० घरपरिवार बसाइँ सरेका हुन् । सीमित संख्यामा रहेका पानीस्रोत सुक्दै गएको र जनसंख्या बढेकाले अभाव भएको स्थानीयको भनाइ छ । धर्मदेवीका दुईवटा वडाबाट मात्र २५ परिवार बसाइँ सरेका छन् । वडा ७ मा १५ घर बसाइ सरेको वडाध्यक्ष भोलामान श्रेष्ठले बताए । कुवापानी, आहाले, मालवासेलगायत गाउँमा खानेपानी अभाव छ ।

'वडा ८ बाट दुई वर्षमा १० परिवार बसाइँ हिँडे,' उनले भने, 'खाल्चे, पाडरे, जागिर गाउँ, कुडुले फापलिङलगायत गाउँमा पानी अभाव छ ।' चुवाडे गाउँका ३५ परिवार पानी लिन तीन घण्टाभन्दा बढी समय लगाएर अरुण नदी धाउने गरेको श्रेष्ठले जानकारी दिए । वडा ४, ५, ६, ७, ८ र ९ मा पनि खानेपानी अभाव रहेको नगरप्रमुख रमेशकुमार जिमीले बताए ।

'चरम अभाव रहेको वडा ७ र ८ मा डिप बोरिङबाट पानी निकाल्न नगरपालिकाले ४० लाख बजेट विनियोजन गरेको छ,' उनले भने, 'खानेपानी योजनाका लागि ७० लाख आवश्यक पर्छ ।' खानेपानी ल्याउन मुहान नै नभएको जिमीले बताए । 'त्यसैले योजना सञ्चालन कसरी गर्ने दुविधामा छौँ,' उनले भने । केही ठाउँमा व्यक्तिको जग्गामा मुहान भए पनि सिँचाइमा समस्या हुने भन्दै उनीहरूले पानी लैजान दिएका छैनन् ।

पाँचखपन नगरपालिकाका वडा ४, ५, ६, ७ र ८ मा खानेपानी अभावले बसाइँ सर्ने क्रम तीव्र भएको छ । नजिकमा रहेका मुहान सुक्न थालेको स्थानीयको भनाइ छ । खानेपानी अभावमा धेरै परिवार बसाइ सरेको नगर प्रमुख विपिन राईले बताए । यहाँका तीन हजारभन्दा बढी परिवारले खानेपानी अभाव झेलिरहेका छन् । मुहान खोजी र योजना सञ्चालन गर्न पाँचखपनले ५० लाख विनियोजन गरेको छ ।

'विभिन्न मुहान एकीकृत गरी पानी ल्याउन १५ करोड खर्च लाग्ने भएकाले प्रदेश र संघीय सरकारसँग बजेट माग गरेका छौं,' उनले भने, 'हेरौं अब के हुन्छ, बसाइ रोक्ने प्रयासमा छौ ।' चैनपुर नगरपालिकाका वडा ६, ७, १० र ११ का करिब २ हजार ५ सय घरधुरीमा खानेपानी अभाव छ ।

वडा ११ मा दुई वर्षमा ८ परिवार बसाइँ सरेको वडाध्यक्ष धर्मराज चौहानले जानकारी दिए । पानी अभावका कारण कृष्णबहादुर दाहाल, डिकबहादुर दाहाल, झटक अधिकारी, धर्मराज कठेत, भद्रबहादुर दाहाललगायतका परिवार बसाइँ सरेका छन् । कुइवीर, मलाटे, अम्बोटे, रातमाटे, गैरीगाउँ, लुहाकोटलगायत गाउँका ६ सय ३० परिवारमा खानेपानीको अभाव रहेको चौहानले बताए ।

सभापोखरी गाउँपालिका १ मा खानेपानी अभाव उस्तै रहेको वडाध्यक्ष मणिसुन्दर राईले बताए । उक्त वडाका करिब ३ सय घरपरिवारमा खानेपानी अभाव छ । खानेपानीका लागि धेरै आयोजना सञ्चालनमा रहे पनि मुहान टाढा भएकाले सफल नभएको राईले बताए ।

खाँदबारी नगरपालिकामा पनि पानीे अभाव छ । ३ हजार ५ सय घरपरिवारलाई वितरण गर्न खाँदबारी बृृहत् खानेपानी आयोजना सञ्चालन गरिए पनि सफल हुन सकेको छैन । सडक हुँदै ल्याइएको अयोजनाको पाइप गाडीले फुटाइदिएपछि बजारवासी मारमा छन् ।

प्रकाशित : वैशाख ३०, २०७६ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्