कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एमआरआई बिग्रँदा बिरामीलाई सास्ती

फातिमा बानु

काठमाडौँ — वीर अस्पतालको एमआरआई उपकरण बिग्रँदा बिरामीले सास्ती खेपिरहेका छन् । सोमबार एमआरआई सेवा बन्द भएपछि बिरामी उपचारबिनै घर फर्किन बाध्य भए । यस्तै एक उदाहरण हुन्, सर्लाहीकी निना चौधरी । 

एमआरआई बिग्रँदा बिरामीलाई सास्ती

टाउको दुखिरहने समस्या लिएर टाढाबाट आएकी उनले एमआरआई सेवा नभएकै कारण उपचार पाइनन् । ‘ठूलो अस्पतालमा उपचार हुन्छ भनेर जिल्लाबाट रिफर गर्‍यो । होटलमा बसेर भए पनि केही दिन कुर्छु, उपचार गरेर मात्रै फर्किन्छु ।’ उनीजस्तै करिब २० बिरामी उपचारबिनै फर्किएका छन् । आकस्मिक उपचार गर्नुपर्नेले निजी अस्पतालबाट यस्तो सेवा लिए ।

विशेषज्ञका अनुसार एक्सरे र सीटी स्क्यानबाट पत्ता नलाग्ने गम्भीरखाले समस्या परीक्षणका लागि एमआरआई उपकरणको प्रयोग हुन्छ । ‘ब्रेन ट्युमर’ जोर्नीसम्बन्धी समस्या, नसा, ढाड र गर्धनको नसा च्यापिएको, मेरुदण्डसम्बन्धी समस्या लगायत दुर्घटनामा परेका बिरामीका लागि यो उपकरण नभई हुँदैन । हानिकारक किरण उत्पादन नहुने हुँदा उपचारमा यो उपकरण सुरक्षित मानिन्छ । वीर अस्पतालबाट बिरामीले सहुलियत मूल्यमा यो सेवा पाउँछन् । वीरमा ७ हजार रुपैयाँ लाग्ने यो उपचार शुल्क निजी अस्पतालमा बिरामी २० हजारसम्म तिर्न बाध्य हुन्छन् ।

वीर अस्पतालमा एमआरआई बिग्रिएको यो पहिलोपटक होइन । बारम्बार बिग्रिरहन्छ । कर्मचारीका अनुसार यो उपकरण सातामै तीन पटकसम्म बिग्रिन्छ ।

अस्पतालको रेडिलोजी विभागमा प्रमुख डा. सरोज शर्माका अनुसार यो उपकरण अतिसंवेदनशील हुन्छ । बिजुली प्रवाह गडबड हुनेबित्तिकै बिग्रिने सम्भावना उच्च हुन्छ । उनी भन्छन्, ‘बत्ती आउने जाने भइरहन्छ । जसले गर्दा करेन्ट सन्तुलन हुन सक्दैन र मेसिन बिग्रिहाल्छ ।’

अहिले वीर अस्पताल र ट्रमा सेन्टरका लागि एउटै एमआरआई चलाइन्छ । बिरामीको चाप धान्नकै लागि उपकरण निरन्तर चल्ने यसले आराम नपाउने समस्याले गर्दा संवेदनशील उपकरण टिकाउन मुस्किल छ । आकस्मिक सेवाका लागि पनि यही उपकरण प्रयोग गर्नुपर्छ । चार वर्षअघि करिब ८ करोडमा खरिद गरिएको एमआरआई सेवाका बिरामीको बढदो चाप धान्न मुस्किल छ अस्पताललाई ।

निजी अस्पतालमा २४ घण्टामा पनि नभ्याइने एमआरआई सेवा चाप धान्नै लागि अस्पतालल दैनिक २० बिरामीको एमआरआई हुने गरेको छ । । सेवाका लागि बिरामीलाई न्यूनतम पनि एक साता कुर्नुपर्ने अवस्था छ । बिग्रने समस्याले कुर्नुपर्ने दिन अझै बढ्छ । वीरको सेवा ठप्प भएपछि बिरामी अन्य सरकारी अस्पतालमा रिफर हुन्छन् । रिफर भएर जाने अस्पतालमा पनि उत्तिकै चाप हुने हुँदा उपचार सहज नभएको बिरामी बताउँछन् । निजी अस्पतालको शुल्क तिर्न नसक्ने बिरामी उपचारबिनै घर फर्किन्छन् ।

विभागका कर्मचारीका अनुसार एमआरआईको ‘भोल्टेज स्टेबिलाइजर’ बिग्रिएको छ । बिग्रिएर परिवर्तन गर्नुपर्ने अवस्थामा पुगेको छ । उपकरणको यो भाग परिवर्तन गर्नुपर्ने भन्दै खरिद इकाईमा धेरै पटक पत्र जाँदा पनि वास्ता नगरिएको कर्मचारी बताउँछन् । उपकरण बिग्रँदा पनि मर्मततर्फ वास्ता नगरिने वीर अस्पतालको पुरानो समस्या हो ।

‘नयाँ उपकरण किन्नुपरे रातारात आउने, बिग्रिएका उपकरणको वास्ता नगरिने,’ कर्मचारीको सँधै यस्तो गुनासो हुन्छ । अस्पतालमा बायोमेडिकल इन्जिनियर नहुँदा भन्नेबित्तिकै उपकरण मर्मत गर्न सम्भव नहुने अस्पतालको खरिद प्रमुख भगवती थपलियाले बताइन् । उनले भनिन्, ‘ एमआरआईका बिग्रिरने समस्याको जरो भोल्टेज स्टेबिलाइजर नै हो रैछ भने स्टेबिलाइजर नै परिवर्तन गर्नेगरी मेसिन बनाउन पहल गर्छु ।’

ट्रमा सेन्टर एमआरआई नहुँदा वीरमा बिरामी पठाउनुपरेको बताउँदै अस्पतालका निर्देशक डा. प्रमोद यादवले बताए । ‘ट्रमाजस्तो विशेष अस्पतालमा यो उपकरणबिना उपचार मुस्किल छ । उपकरण खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरिरहेको छु,’ उनले भने ।

प्रकाशित : वैशाख ३१, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?