२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आपसी द्वन्द्वमा स्थानीय तह अल्झिएको गुनासो

भक्तपुर — स्थानीय तहबीच आपसी द्वन्द्व हुँदा जिल्लाको पर्यटन विकासमा असर पुगेको जनप्रतिनिधिहरूले नै गुनासो गरेका छन् । उनीहरूले प्रदेश नम्बर ३ भित्रको उत्कृष्ट गन्तव्य हुँदा पनि त्यो रूपमा विकास हुन नसकेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले संघीयता कार्यान्वयनसँगै साना पूर्वाधार निर्माणमा जुटेका स्थानीय तहहरू नै आपसी द्वन्द्वमा अल्झिएको बताए ।


‘यसले जिल्लाको पर्यटन क्षेत्रलाई कमजोर पार्दै लगेको छ,’ राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरद्वारा नगरकोटमा आयोजित ‘भक्तपुरको पर्यटन विकासका सम्भावना, अवसर र सञ्चार क्षेत्रको भूमिका’ विषयक कार्यक्रममा उनले भने ।


भक्तपुर, काभ्रे र काठमाडौंको सीमास्थित नगरकोट, डोलेश्वर धाम, भक्तपुर दरबार स्क्वायरलगायत सांस्कृतिक सम्पदाहरू उल्लेख्य सम्भावना रहेका पर्यटकीय क्षेत्र भए पनि विकासमा एकीकृत प्रयास नभएको उनको गुनासो थियो ।


कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रको पहिचान, गुरुयोजना निर्माण, पूर्वाधार विकास र प्रचारप्रसारमा लगानी कम भएको बताए ।


गेलालले भने, ‘प्रदेश तीनमै थुप्रै पर्यटकीय सम्भावनाका क्षेत्रहरू छन् । तिनको एकीकृत विकास गरेर भक्तपुरसगै प्रदेश तीनकै पर्यटन विकासका लागि हामीले सोच्नुपर्ने बेला भएको छ ।’


चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफूले चाहँदा-चाहँदै पनि नगर क्षेत्रको पर्यटन विकासमा काम हुन नसकेको बताए । उनले भने, ‘विश्व सम्पदा स्थल चाँगुनारायण मन्दिर हामीसँगै छ, नगरकोटलगायत दर्जनौं सम्भावित ठाउँहरू छन् । केही योजनाहरू पनि बनेका छन् । तर तत्कालै भने जसरी काम गर्न नसकिने रहेछ ।’


उनले नगरकोटमा ३६ वर्षदेखि पर्यटक आगमन भइरहेको भन्दै अहिलेसम्म हिमालको दृश्य र यहाँका मनोरम प्रकृतिबाहेक हेर्नलायक अर्को केही पनि संरचना निर्माण हुन नसकेकोप्रति दु:ख व्यक्त गरे ।


उनले नगरकोटमा पर्यटकीय बसपार्क निर्माण, भ्यु टावर, फुट ट्रेल निर्माण, पर्याप्त खानेपानी, व्यवस्थित फन पार्क र गार्डेनहरू निर्माण गर्ने योजनाहरू नगरपालिकाले बनाएको बताए । ‘यहाँ १८ वर्षदेखि भ्यु टावर निर्माणको सपना देख्ने मान्छे म नै हुँ । संयोगले मेयर पनि भए । तर अहिलेसम्म बनाउन सकेको छैन,’ मेयर मिश्रले भने ।


भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नगरकोट क्षेत्रमा आफूले देखेदेखि अहिलेसम्म सरकारी क्षेत्रबाट पूर्वाधार निर्माणमा ठोस काम नभएको तिखो अनुभूति सुनाए । उनले भने, ‘यहाँको बाटो ठेकेदारले काम नगरेर बन्न सकेको छैन । बसपार्कका लागि बजेट छैन । शौचालय छैनन् । पानीको असुविधा छ । पर्यटक घुम्ने रमाउने प्रशस्त पार्कहरू देखिएनन् ।’ स्थानीय तहहरूसँग आआफ्नो क्षेत्रका पर्यटन गुरुयोजना नुहुँदासमेत काम अघि बढ्न नसकेको भट्टले औंल्याए ।


गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जितराम लामाले पर्यटन क्षेत्रमा उल्लेख्य सम्भावना भए पनि सरकारले तिनको पहिचान गरेर लगानी गर्न नसकेको बताए ।


आयोजक राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरका अध्यक्ष पेशलकुमार आचार्यले स्थानीय तहबीच पर्याप्त समन्वय भई अघि बढ्न सके विकासले फड्को मार्ने सुनाए ।


प्रकाशित : जेष्ठ ३, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?