कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नर्स आन्दोलनमा, बिरामी मारमा

महिना दिनअघिसम्म सातामा तीनपल्ट डायलसिस गरिरहेका बिरामीले नियमित डायलसिस गराउन नपाएको गुनासो
लीला श्रेष्ठ

भक्तपुर — रौतहट कटहटियाका मृगौला पीडित १४ वर्षीय खेमराज बसौला ७ दिनदेखि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाक्टरको पर्खाइमा छन् । दुवै मृगौलाको समस्या झेलिरहेका बसौला डायलसिस गर्न फिस्टुला बनाउने डाक्टरको ढोका चाहरिरहन्छन् ।

नर्स आन्दोलनमा, बिरामी मारमा

‘अस्पतालमा डाक्टर भेटिँदैन, नर्स अनसनमा बसेका रहेछन्,’ उनका हजुरबुबा तुल्सीराम भण्डारीले भने, ‘डायलसिस गराउन नपाउँदा बिरामीको अवस्था नाजुक बन्दै गएको छ ।’


खेमराज गर्भमा हुँदा उनका बुबा वेदराम बसौला बेपत्ता भए । दुई दिदीको विवाह भइसक्यो । एक दिदी पाठेघरको समस्याले थलिएकी छन् । मावली हजुरबुबा तुल्सीराम ३ वर्षदेखि उनको उपचारका लागि केन्द्र धाइरहेका छन् । साढे २ वर्षको उमेरदेखि मृगौलाको समस्या झेलिरहेका खेमराजको आर्थिक अवस्था कमजोर छ ।


‘कान्ति अस्पतालमा ३ वर्ष उपचार गराउँदा २२ लाख रुपैयाँभन्दा बढी खर्च भयो,’ उनले भने, ‘केही वर्ष सन्चो भएजस्तो भयो, फेरि रोग बल्झियो ।’ तीन कठ्ठा जग्गा बेचेर नातिका उपचारमा निस्केका तुल्सीराम आँखाभरि आँसु गरेर खेमराजको अनुहार हेर्छन् ।


पैसाको अभावमा उनका बाजे/नाति केन्द्रमै बिरामी कुरूवालाई राखेको टेबुलमा रात कटाउँछन् । ‘डायलसिस गर्न केन्द्रमा डाक्टरले बोलाएको हो,’ उनले भने, ‘फिस्टुला बनाउने डाक्टर नहुँदा त्यत्तिकै दिन बितेको छ, रात परेपछि अस्पतालको टेबुलमै सुत्छौं । होटलमा बस्न सक्ने क्षमता छैन ।’


नर्सको आन्दोलनले मृगौला पीडितलाई थप पीडा थपिएको उनको गुनासो छ । त्यस्तै, बाग्लुङ जैमिनी नगरपालिका भकुण्डेका ६७ वर्षीय खड्गबहादुर विक ६ वर्षदेखि केन्द्रमा डायलसिस गरिरहेका छन् ।


महिना दिन अघिसम्म सातामा तीनपल्ट डायलसिस गरिरहेका विकले नर्सको आन्दोलन पछि नियमित डायलसिस गराउन नपाएको गुनासो गरे । ‘अस्पताल आयो, नियमित डायलसिस गराउन पाउँदैन,’ उनले भने, ‘बल्लबल्ल डायलसिस गर्‍यो, ४ घण्टा गराउनुपर्ने २ घण्टामै छोडिदिन्छ ।’


अस्पतालको स्टाफ नर्स केन्द्रको गेटमै अनसनरत छन् । नर्सको आन्दोलनले बिरामीको उपचार प्रभावित भएको भन्दै बिहीबार मृगौला पीडित सरोकार समाज, राष्ट्रिय मृगौला पीडित संघ तथा नेपाल किड्नी समाजले संयुक्त रूपमा प्लेकार्ड देखाएर केन्द्रमा धर्ना दिएका छन् ।


राष्ट्रिय मृगौला पीडित संघका अध्यक्ष बलराम सुवेदीले मृगौला बिरामीलाई सम्बोधन गरिरहेको अवस्थामा आन्दोलनरत नर्सहरूले माइक खोसेर अवरोध गरेका छन् । मृगौला पीडित र आन्दोलनरत नर्सको केही समय भनाभनसमेत भयो ।

परीक्षा स्थगित गर्न अनुरोध

नेपाल नर्सिङ संघले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई परीक्षा स्थगित गर्न आग्रह गरेको छ । केन्द्रले ९६ जना स्टार्फ नर्सलाई स्थायी पदपूर्ति गर्न वैशाख १३ गते दरखास्त आह्वान गरेको थियो ।


बिहीबार विज्ञप्ति निकाल्र्दै संघले आमरण अनसनमा रहेका नर्सहरूको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक भएकोले यस संवेदनशील परिस्थतिलाई मध्यनजर गर्दै अनसनरत नर्सहरूको जीवन रक्षाका लागि उक्त परीक्षा हाललाई स्थगित गर्न केन्द्रलाई आग्रह गरेको हो ।


विज्ञप्तिमा केन्द्रको नियमवलीमा स्वास्थ्य ऐनअनुसार अविलम्व संशोधन गरी उठान गरिएका जायज मागहरू यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरिएको छ । ६ बुँदे माग राख्दै केन्द्रमा कार्यरत स्टाफ नर्स डिक्की शेर्पा र पोखराकी नर्स जिता बराल आमरण अनसन बसिरहेका छन् । शेर्पा भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा र बराल लाजिम्पाटस्थित संघको कार्यलयमा अनसन बसिरहेका छन् ।


कर्मचारीलाई स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, काम गर्दै आएका कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने, जोखिमभत्ता प्रदान गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने सम्मेलनमा कार्यरत कर्मचारीलाई अवसर दिनुपर्ने लगायतका माग आन्दोलनरत नर्सले राख्दै आएका छन् ।


त्यसैगरी, केन्द्रले लोकसेवा आयोगलाई स्थायी पदपूर्तिको विज्ञापन सम्बन्धमा आवश्यक कारबाहीका लागि पत्राचार गरेको जनाएको छ । असनसरत नर्सको स्वास्थ्यवस्था गम्भीर हुन थालेपछि केन्द्रले आयोगलाई पत्राचार गरेको हो ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?