कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कीर्तिपुरमा प्लास्टिकको सडक

काठमाडौँ — उपत्यकामै पहिलोचोटि प्लास्टिकको सडक निर्माण कार्य पूर्ण भएको छ । कालोपत्रे गर्ने गरिएको अलकत्रामा प्लास्टिकका समेत केही भाग मिसाएर कीर्तिपुर नगरपालिकाको सडकमा बिछ्याइएको हो ।

नगरको नयाँ बजार गेटमा केही दूरीमा यस किसिमले कालोपत्रे गरिएको नगरपालिकाले जनाएको छ ।


'गत वर्ष नै निर्माणका लागि अवधारणा ल्याएका हौं । यस आर्थिक वर्षमा बनाइछाड्यौं,' नगरकी उपप्रमुख तथा प्रवक्ता सरस्वती खडकाले भनिन्, 'नगरस्तरीय योजनाका लागि २० लाखभन्दा बढी रुपैयाँ खर्च गर्‍यौं । पोखरामा बनाइएको भनेपछि नै उत्सुकता जागेको थियो ।' उनका अनुसार सडक फराकिलो बनाउने क्रममा गत वर्षदेखि नै धुलाम्मे रहेको सडक बल्ल पिच भएको हो । नगरपालिकाले फुटपाथ बनाउने र सडक विस्तार गर्नुका साथै सडक छेउमा वृक्षरोपण पनि गरेको छ ।


वातावरणमैत्री हुने तथा पानी नरसाउने र टिकाउ हुने भएकाले पोखराको सिको गर्दै यो प्रविधि परीक्षण गरिएको नगरपालिकाको भनाइ छ । 'निर्माण कार्य निजी कम्पनीलाई दिएको हो । उहाँहरूले नै गर्नुभयो । हामीले समन्वय मात्र गरेका हौं,' मेयर रमेश महर्जनले भने । ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीलाई तीनकुनेदेखि नयाँ बजार गेटसम्मको झन्डै २ सय मिटरको उक्त सडक निर्माणको जिम्मा दिइएको थियो ।


मेकानिकल इन्जिनियर विमल बाँस्तोला, सञ्जीव बाँस्तोला, निराजन घिमिरे, राजीव सुवेदी र अजय केसीको टोलीले यसको प्राविधिक पक्ष सम्हालेका थिए । सडक निर्माणमा खाद्यान्न तथा बजारमा पाइने खानेकुराका खोल मिसिएका छन् । विशेष गरी सहरी क्षेत्रमा उत्पादन हुने यस्ता नकुहिने फोहोर व्यवस्थापनमा यी सडक उदाहरणीय बन्ने उपमेयर खडकाले बताइन् ।


सडकमा झन्डै ६ सय किलो प्लास्टिक प्रयोग भएको नगपालिकाका प्राविधिकले बताए । १५ प्रतिशतभन्दा पनि कम प्लास्टिक प्रयोग गरेर यो सडक निर्माण भएको हो । बजारिया खानेकुराको खोल, काम नलाग्ने प्लास्टिकलाई उच्च तापक्रममा ढुंगागिटीसँगै पगालेर त्यसमा अलकत्रा हाली कालोपत्रे गरिएको हो ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?