२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बार्गेनिङ रोक्न ‘इजी ट्याक्सी’ एप्स

सीमा तामाङ

काठमाडौँ — उपत्यका ट्याक्सी व्यवसाय तथा चालक सेवा समाजले प्रविधिको बढ्दो प्रयोगलाई उपयोग गर्दै ‘इजी ट्याक्सी नेपाल’ मोबाइल एप्स ल्याउने तयारी गरेकोे छ ।

बार्गेनिङ रोक्न ‘इजी ट्याक्सी’ एप्स

समाज तथा इजी एस्युरेन्स प्रालिको संयुक्त सहकार्यमा सञ्चालन गर्न लागिएको एप्सले यात्रुलाई ट्याक्सी खोज्नुपर्ने र बार्गेनिङ गर्नुपर्ने झन्झट हट्ने दाबी गरेको छ ।


जेठ अन्त्यदेखि आउन लागेको यो मोबाइल एप्स चालक तथा यात्रुको पुल बन्ने अधिकांश ट्याक्सी चालकको भनाइ छ । समाजले सरकारी मूल्यदरमा नै सेवा दिने तयारी गरेको छ । आधुनिक युगमा प्रवेश गरेसँगै मानिस अनलाइन सेवामा प्रभावित भएकाले यो एप्स सञ्चालनमा ल्याइएको समाजका महासचिव पूर्णलाल तामाङले बताए ।


‘ट्याक्सी व्यवसायलाई मर्यादित र सुरक्षित बनाउनुपर्छ,’ उनले भने, ‘डिजिटल युगमा प्रवेश गरेसँगै ट्याक्सीको पनि मोबाइल एप्स ल्याउन लागेको हो ।’ यात्रु ठगिने, भाडामा भएका बेथिति हटाउन समाजले एप्स सञ्चालन गर्ने तयारी गरेको हो ।


एप्समार्फत यात्रुहरू ठगिने कार्य न्यून हुने इजी एस्युरेन्सका प्रबन्धक सञ्जीव पौडेलले बताए । ‘सरकारी मूल्य दरमै एप्स सञ्चालन गर्न लागेको हो,’ उनले भने, ‘डिजिटल भन्नेबितिक्कै महँगो भनिन्छ तर एप्स सरकारी मूल्य दरमै कायम छ । ’


एप्सले जनसाधारणमा सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास उनको छ । एप्सबाट यात्रा गर्दा यात्रु कुन दिशामा गइरहेको छ, गन्तव्य के हो भनी सजिलै थाहा हुन्छ । एप्स सञ्चालन गर्ने क्रममा चालकलाई एप्ससम्बन्धी जनचेतनामूलक तालिम दिइने उनले बताए ।


एप्सको माध्यमबाट प्रधानमन्त्रीको डिजिटल अवधारणालाई पनि सहयोग पुग्ने अनुमान राखिएको छ । एप्स १५ दिनपछि बजारमा आउने समाजका अध्यक्ष सानु पूर्वछाने मगरले बताए । ‘विदेशमा सञ्चालन भइरहेको एप्स नेपालमा पनि सञ्चालन हुनु गौरवको विषय हो,’ उनले भने, ‘एप्सले यात्रुलाई सहयोग पुर्‍याउँछ र यो सर्वसुलभ हुन्छ ।’


उपत्यकामा मात्र सञ्चालन गरिने एप्सको सेवा लिनका लागि यात्रुहरूले उक्त एप्स डाउनलोड गरेर दर्ता गर्नुपर्ने छ । यसका लागि कस्टमर ‘लग इन’ मा थिचेर आफ्नो नाम र नम्बर लेख्नुपर्ने छ । यात्रुले ‘लग इन’ गरेपछि त्यसमा देखिने रियल टाइम म्यापमा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनोट गर्नुपर्ने मगरले बताए ।


यात्रुहरूले एप्समा गरेको अनुरोधको आधारमा उक्त क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरूले सोही एप्समार्फत अनुरोधलाई स्वीकार गर्नेछन् । त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् ।


समाजले हालको ट्याक्सी भाडा दरले ट्याक्सी सेवा सञ्चालन गर्न कठिन रहेको भन्दै भाडा वृद्धि गर्न सम्बन्धित निकायलाई अनुरोधसमेत गरेको छ । त्यस आधारमा ट्याक्सी भाडा समायोजन गरेपछि हुने नयाँ मिटर भाडा दरमा नै एप्स आधारित भएर सेवा सञ्चालन गर्ने समाजले जनाएको छ ।


इन्स्योरेन्स सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुहरूले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानबाटै सेवा दिन्छ । हालको लागि यात्रुहरूले उक्त एप्समा लग इन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछ भने छिट्टै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधा ल्याउने उनले बताए ।


अबको १५ दिनपछि औपचारिक कार्यक्रम गरेर यो एप्स बजारमा ल्याइन्छ । एप्स उपत्यकाको फरकफरक ठाउँ र समयबाट सञ्चालनमा ल्याइनेछ । एन्ड्रोइड तथा आइफोनको एप स्टोर तथा प्ले स्टोर दुवैबाट डाउनलोड गरेर यो सेवा लिन सकिने एप्सका प्रबन्धक पौडेलले बताए ।


‘५ हजारभन्दा बढी ट्याक्सी आबद्ध रहने एप्समा विस्तारै सम्पूर्ण ट्याक्सीलाई समेटिनेछ,’ उनले भने, ‘यात्रुहरूले ‘इजी ट्याक्सी नेपाल’ को वेबसाइटमार्फत पनि यो एप्स र यसको प्रयोगको बारेमा जानकारी लिन सक्नेछन् ।’


एप्स सञ्चालनमा आएपछि उपत्यकाभरि सबै यात्रुले प्रयोग गर्न नमिल्ने बताए । पहिलो पटक तोकिएको क्षेत्रबाट मात्र एप्सको प्रयोग गर्न सकिन्छ । समाजले ट्याक्सी सेवालाई नकारात्मक रूपमा मात्र हेर्ने गरिएको हुँदा प्रविधि आधारमा सेवा दिएर यात्रुलाई सुविधा दिँदै नयाँ प्रयास गर्न लागिएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?