केदारनाथ पुरानै शैलीमा

लीला श्रेष्ठ

भक्तपुर — भक्तपुर नगरपालिकाले केदारनाथ मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरेको छ । ०७२ वैशाखको भूकम्पका कारण क्षतिग्रस्त भक्तपुर दरबार स्क्वायर परिसरको मल्लकालीन मन्दिरलाई नगरपालिकाले करिब ४ वर्षपछि मौलिक शैलीमा निर्माण गरी उद्घाटन गरेको छ ।

भक्तपुर दरबार स्क्वायर परिसरस्थित पुनर्निर्मँणपछिको केदारनाथ मन्दिर । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर

मंगलबार जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व लिएको दुई वर्ष पूरा भएको अवसरमा नेमकिपाका केन्द्रीय सचिव एवं प्रतितिधिसभा सदस्य प्रेम सुवालले मन्दिरको उद्घाटन गरे । कार्यक्रममा सांसद सुवालले भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणाको माग गर्दै उपत्यकाको मूर्त/अमूर्त सम्पदाको संरक्षण र सम्वद्र्धन आवश्यक भएको बताए ।
आउने पुस्तालाई सम्पदा बचाउन अभिप्रेरित गर्न तथा पौराणिक स्वरूपलाई जीवनन्तता दिन केदारनाथलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको नगरप्रमुख सुनील प्रजापतीले बताए । केदारनाथको मन्दिर मात्र नभई नगरक्षेत्रको क्षतिग्रस्त अधिकांश ठूला तथा साना सम्पदा पुनर्निर्मँण गर्दा विज्ञको सल्लाहबमोजिम अध्ययन, अनुसन्धान र अन्वेषण गरी निर्मँण थालिएको उनले बताए ।

उक्त मन्दिर पुनर्निर्माणका लागि नगरपालिकाले ७२ लाख ६३ हजार ३ सय ९७ इष्टमेट गरेपनि करिब ३९ लाख ६४ हजार रुपैयाँमा लागतमा मन्दिर पुनर्निर्माण गरेको उपभोक्ता समिति अध्यक्ष रामकृष्ण त्वायनाले बताए । पुनर्निर्माण भएको मन्दिरमा इँटा र चुनासुर्कीको जोडाइ छ । मन्दिर पुनर्निर्माणमा परम्परागत निर्मँण सामग्री डाँची अपा, मां अपा, चुनासुर्कीको प्रयोग भएको उनले बताए । इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार केदारनाथ मन्दिर १४ औं शताब्दीमा यक्षमल्लको समयमा बनेको हो ।

दर्शनका लागि नेपाल मण्डलभन्दा टाढा जान नपरोस् भन्दै यक्ष मल्लले दरबार स्क्वायर परिसरमै चारै धाम बनाउन लगाएको डा. श्रेष्ठ बताउँछन् । परिसर भित्र नै केदारनाथ, बद्रीनाथ, रामेश्वर र जगन्नाथ मन्दिर छ । मृणमय अर्थात् इँटा नै इँटाले बनेको मन्दिर पुनर्निर्माणसँगै चारधाममध्ये तीनले पूर्णता पाएको छ । दरबार स्क्वायर परिसर मै अवस्थित चारधाममध्येको जगन्नाथ मन्दिर भने मौलिक शैलीमापुनर्निर्माण हुन सकेको छैन ।

यसअघि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरले दरबार क्षेत्रमै अवस्थित १९९० सालको भूकम्पले क्षतिग्रस्त बद्रीनाथ मन्दिर पुनर्निर्मँण गरेको छ । विभागले जगन्नाथ मन्दिरलाई समेत पुनर्निर्माण गर्ने तयारी भइरहेको जनाएको छ । हाल जगन्नाथ मन्दिर मन्दिरको स्वरूपमा नभई मूर्तिलाई ढाक्ने छानोमुनि राखिएको छ । जगन्नाथ मन्दिरमा नित्यपुजा समेत सञ्चालन भइरहेको इतिहासविद् डा.श्रेष्ठले बताए ।

त्यसैगरी, कार्यक्रममा उपभोक्ता समितिले क्षतिग्रस्त दरबार स्क्वायर प्रवेशद्वारको पुनर्निर्मँण गरी नगरपालिकालाई साँचो हस्तान्तरण गरेको छ । प्रवेशद्वार पुनर्निर्माण भइसक्दा पनि मूर्ति राख्ने, नराख्ने स्पष्ट नभइसकेको उपभोक्ता समिति अध्यक्ष लक्ष्मीप्रसाद गोराले बताए । सम्पदा पुनर्निर्माणमा अध्ययन, अनुसन्धान र अन्वेषणको आधारमा गर्नुपर्ने र प्रवेशद्वार निर्माण हतारमा बनाउँदा स्पष्ट नभएको नगर उपप्रमुख रजनी जोशीले बताइन् ।

दरबार प्रवेशद्वार पुनर्निर्माण गर्न नगरपालिकाले ३४ लाख १२ हजार रुपैयाँ इस्टमेट गरेको थियो । उपभोक्ता समितिलाई नगरपालिकाले २८ लाख रुपैयाँ भुक्तानी गरेकोमा २४ लाख ८१ हजार रुपैयाँमा प्रवेशद्वार निर्माण भएको जनाएको छ । समितिले ३ लाख ८१ हजार रुपैयाँ नगरपालिकालाई फिर्ता गरी योजना फस्र्यौट गरेको अध्यक्ष गोराले बताए ।
पुरातत्त्व विभागले दरबार स्क्वायर परिसरकै सिद्धिलक्ष्मी मन्दिर पुनर्निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ भने, फसिदेवल (सिलु महादेव), तब सत्तल पुनर्निर्माण जारी छ ।

नगरपालिकाले दरबार क्षेत्रकै त्रिविक्रम नारायण, शेषनारायण, हरिनारायण मन्दिर पुनर्निर्माण सम्पन्न गरिसकेका छन् ।
बत्सला देवी मन्दिरको ७५ प्रतिशतपुनर्निर्माण कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०८:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ललितपुरमा सम्पदा बिग्रँदै 

प्रशान्त माली

ललितपुर — भूकम्पले दुई तलामा सीमित बनेको पाटनस्थित पाँचतले कुम्भेश्वर मन्दिर जस्ताको तस्तै छ । गजुर अझै राख्न सकेको छैन । पानीबाट बचाउन राखिएको त्रिपाल हावाले उडाएको छ । मन्दिरमा पानी चुहिँदा टुँडाल, खम्बा र मूर्ति खिया लागेको छ । मन्दिर पुनर्निर्माण गर्न स्केट फोल्डिङ राख्नेबाहेक अरू काम सन्तोषजनक छैन ।

पाटनको विश्व सम्पदामा सूचीकृत बंगलामुखीस्थित मन्दिर झन् बिग्रँदै गएको छ । भूकम्पले क्षतिग्रस्त पाटन स्वठ टोलको तीनतले राधाकृष्ण मन्दिरमा घाँस उम्रेको छ । मन्दिरको कलात्मक राधा र कृष्णको मूर्ति पाटन संग्रहालयको स्टोरमा राखिएको छ । मन्दिर अहिले भुस्याहा कुकुरको बासस्थान बनेको छ । भूकम्पले नराम्रोसँग हल्लाएको पाटन दरबार क्षेत्रको भीमसेन मन्दिर अझै टेकोको भरमा छ ।

ठेकेदारको लापरबाहीका कारणले बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माण सन्तोषजनक छैन । मत्स्येन्द्रनाथ मन्दिर २ वर्षमा सम्पन्न गर्ने गरी २०७३ मा प्रेरा/थेगिम/तुल्सी जेभीले भ्याटसहित ४ करोड ७४ लाख ४५ हजार १६ रुपैयाँमा ठेक्का पाएको थियो । थेचोस्थितब्रह्मायणी मन्दिरमा जग राख्नेबाहेक अरू काम भएको छैन ।

यी भूकम्पको चार वर्षमा पनि पुनर्निर्माण हुन नसकेका ललितपुरका सम्पदाका केही उदाहरण हुन् । ०७२ वैशाख १२ को भूकम्पले जिल्लामा १ सय ४४ वटा सम्पदामा क्षति पुर्‍याएको थियो । जसमध्ये ३१ वटा सम्पदा पूर्ण क्षति, ६८ वटा आंशिक क्षति र ४५ वटामा सामान्य क्षतिग्रस्त थिए ।

पाटन दरबार क्षेत्रका १० वटा मठमन्दिरबाहेक अन्य क्षेत्रका सम्पदा पुनर्निर्माण सन्तोषजनक छैन । कुम्भेश्वर मन्दिरका मूलपुजारी माधवश्याम शर्माले मन्दिर पुनर्निर्माण कछुवाको भन्दा पनि कम गतिमा भइरहेको बताए ।

‘पुर्खाले मन्दिर ढल्नबाट बचाउन गजुरदेखि दोस्रो तलासम्म एउटै खम्बा राखेका थिए । मन्दिरमा राखिएको त्रिपाल हावाहुरीले उडाउँदा पानी छिरेर खम्बा खिया लागेको छ,’ उनले भने, ‘मन्दिरको अवस्था दिनानुदिन बिग्रँदै गए पनि टुलुटुलु हेर्नेबाहेक अरू केही गर्न सकेको छैन । बर्खाका बेलामा मन्दिरमा बस्नसमेत डर लाग्ने गरेको छ ।’

उनले यस्तै स्थिति रहिरहेमा दैनिक नृत्य र बेलुकाको आरती पूजा बन्द गर्नुपर्ने अवस्था आउने बताए । ‘मन्दिरको नाजुक अवस्थाका सम्बन्धमा ठेकेदार र नियमन गर्ने निकायलाई पटक-पटक जानकारी गराएँ,’उनले भने, ‘तर, चाँडै पुनर्निर्माण गर्न कसैले चासो दिएन ।’

पुरातत्त्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यँलय प्रमुख सन्दिप खनालले मन्दिर चाँडै पुनर्निर्माण गराउन कार्यालयले पहल गरिहेको बताए । ‘ललितपुर महानगरले पनि पहल गरिरहेको छ,’ उनले भने, ‘प्राविधिक कारणले ढिलाइ हुनु स्वाभाविक हो ।’

मन्दिर पुनर्निर्माणको ठेक्का धर्म एस/तुल्सी/ड्रामा जेभीले २०७४ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी २०७३ साउन १० मा भ्याटसहित २ करोड ८५ लाख ९३ हजार ४० रुपैयाँमा लिएका थिए ।

तर, ठेक्का अवधि सकिँदा पनि एक चौथाइ काम भएको छैन । १४ औं शताब्दीमा जयस्थिति मल्लको पालामा बनेको मन्दिर पुनर्निर्माण गर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले क्षमापूजा गरेर सुरु गरेका थिए । राधाकृष्ण मन्दिर पुनर्निर्माणको जिम्मेवारी पाएका ठेकेदार सम्पर्कविहीन छन् ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०८:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT