३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मृगस्थलीमा निर्मित सडकविरुद्ध वृक्षरोपण

दामोदर न्यौपाने

काठमाडौँ — पशुपति मृगस्थली र ध्रुवस्थलीको बीचसडकमा बुधबार वृक्षरोपण गरिएको छ । युनेस्को र सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि पशुपति क्षेत्र विकास कोषले सडक बन्द गराएको छ । त्यही बन्द सडकमा अभियन्ताले बिरुवा रोपेका हुन् । कपुर, धुपी र सुन्तलाका सयवटा बिरुवा रोपिएका छन् ।

मृगस्थलीमा निर्मित सडकविरुद्ध वृक्षरोपण

‘धार्मिक जंगललाई जंगलकै रूपमा फर्काउन सर्वोच्च अदालतको आदेश छ,’ अभियन्ता अर्जुन रानाले भने, ‘त्यही जंगललाई जंगलकै रूपमा फर्काउने अभियानका रूपमा बिरुवा रोप्न सुरु गर्‍यौं । यसलाई निरन्तरता दिन्छौं ।’


पशुपति क्षेत्र विकास कोषले तिलगंगा ताम्रगंगा सडक गत साताबाट बन्द गर्न सुरु गरेको थियो । बाटो खुला राख्न केही जनप्रतिनिधि र ट्यांकर, ट्रक व्यवसायीले अवरोधसमेत गरेका थिए । अभियन्ताको समेत साथ लिएर कोषले सडक बन्द गराउन सुरु गरेको हो । बन्द सडकको काठमाडौं महानगरपालिका अनुगमन समितिका संयोजक उपमेयर हरिप्रभा खड्गीले अनुगमन गरिन् ।


उनले कपुरको बिरुवासमेत सडकमा रोपिन् । ‘यो विश्व सम्पदामा परेको क्षेत्र हो । यसलाई ख्यालख्याल ठान्नु हुँदैन,’ बिरुवा रोपेपछि खड्गीले भनिन्, ‘बीचबाट बाटो खोल्दा कसलाई फाइदा भयो ? जनता यो बाटोबाट हिँडेनन् । ट्रक व्यावसायिकलाई फाइदा भयो । सीमित वर्गको फाइदाका लागि यत्रो विश्व सम्पदालाई जोखिममा पार्नु हुँदैनथ्यो ।’


पशुपतिको पूर्वमा रहेको मृगस्थली र ध्र्रवस्थली पशुपतिको मुख्य वन सम्पदामा पर्छन् । धार्मिक मात्र नभई वनस्पतिका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ यो जंगल । ‘यहाँका वन क्षेत्रले पशुपति क्षेत्रलाई मनोरम बनाउनसमेत मद्दत गरेका छन्,’ अभियन्ता सिर्जना अर्यालले भनिन्, ‘पशुपति क्षेत्रमा फूल फुल्ने, फल लाग्ने, हरियाली भइरहनेजस्ता जंगल छन् । यस्तो ठाउँ मासिएको छ । जभाभावी शव गाडिएको छ । गन्हाएर जंगल क्षेत्रमा हिँडिनसक्नु छ । यसलाई जोगाउनु हाम्रो दायित्व हो ।’


यो जंगलमा मडिल्लो, शिरीष, हाडेवयर, सुनचाप, काउलो, प्वाँले, वायुविडङ, धुसरु, सिलिङगे, जगर, काभ्रो, चिलाउने, पैयु, देवदार, सिप्लेकानजस्ता रूख छन् । त्यसैगरी मसला, सल्ला, धुपी, काढेसल्ला,बेल, खरी, काँगियो, बकेनाजस्ता रूख छन् । यो जंगलको मुख्य विशेषता भनेको लप्सीको रूख हो ।


यही लप्सीको रूख पाइने भएकाले जंगलको नामै श्लेष्मान्तक रहेको हो । लप्सी भने मासिँदै गएको छ । यहाँ बाक्लोचाहिंँ चिलाउने, प्वालो, मुसलिनी, कालिमयलजस्ता रूख यही उम्रिएका हुन् । बाहिरबाट ल्याएर रोपिएका रूख पनि छन् । मसला, देवदार, काडेसल्ला, गोब्रे सल्लाजस्ता रुख बाहिरबाट ल्याएर रोपिएका हुन् ।


पशुपतिविज्ञ संस्कृतिविद् गोविन्द टण्डनका अनुसार प्रधानमन्त्री जंगबहादुर राणाको पालादेखि बाहिरबाट ल्याएर रूख रोप्न थालिएको हो । राणाले विसं १९२० मा विश्वरूप मन्दिरको पश्चिमपट्टि मन्दिरतिर जानेबाटको दायाँबायाँ बाहिरबाट ल्याइएका बिरुवा रोपेका थिए । जंगबहादुरपछि राणा प्रधानमन्त्री जुद्धशमशेरले विसं १९८९ देखि २००२ सम्म गौशलाका दायाँबायाँ मसलाका रूख हुर्काएका थिए ।


जंगललाई पूर्ववत् अवस्थामा ल्याउने काममा बाटो बन्द गर्न सुरु गरेको भोलिपल्ट टिपर व्यवसायी, ट्यांकर व्यवसायी बाटो खुला गर्न माग गर्दै काममा अवरोध गर्दै आएका छन् । अवरोध गर्न आउनेलाई प्रतिनिधिसभाका सांसददेखि कागेश्वरी मनोहरा नगरपालिकाका मेयरले समेत साथ दिए ।


जनप्रतिनिधि गएपछि प्रहरी पनि पुगेको थियो । महानगरीय प्रहरी प्रभाग गौशलाका डीएसपी सुनील मल्ल आफैं पुगे । काम रोकिएपछि त्यहाँ जम्मा भएका प्रतिनिधिसभाका सांसद कृष्ण राई, प्रदेश नम्बर ३ का सांसद रामेश्वर फुँयाल र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा फर्किएका थिए ।


जंगलको ६ सय ७५ मिटर लामो र ७ मिटर चौडाइको सडक खनिएको थियो । युनेस्कोको बन्द नगरे विश्व सम्पदा सूचीबाटै हटाइदिने चेतावनी, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश, मन्त्रिपरिषद् कार्यालयको बाटो बन्द गर्न आदेशलगायत देखाउँदै कोषले बाटो बन्द गर्न सुरु गरेको थियो । बाटो बन्द गर्ने काममा अवरोध गरेको थाहा पाएपछि सम्पदा संरक्षण अभियन्ता तिलगंगा ताम्रगंगा सडक हेर्न गएका थिए । ‘धेरै दबाब दिएपछि कोषले बन्द गर्न लागेको थियो,’ रानाले भने, ‘बाटो बन्द गराउनै पर्छ । बाटो खोल भन्न आउने कस्ता जनप्रतिनिधि ? अदालतको अवहेलना गर्न मिल्छ जनप्रतिनिधिले ? सरकारकै निर्देशन कार्यान्वयन गर्नसमेत अवरोध गर्ने ? यो बाटो जसरी पनि बन्द गराउनै पर्छ ।’


एमालेबाट प्रतिनिधित्व गर्ने सांसद कृष्ण राईले यत्रो समय बन्द नभएको बाटो अहिले आएर किन बन्द गर्नु भन्ने आफ्नो भनाइ रहेको बताए । ‘१०/१२ वर्ष चल्यो,’ राई भन्छन्, ‘अहिले बन्द नगरौं भन्ने हाम्रो भनाइ हो ।’ अभियन्ता भने केही दुःख सहेरै भए पनि विश्वसम्पदा जोगाउनुपर्ने बताउँछन् । ‘केही जाम होला । केही दुःख होला,’ राना भन्छन्, ‘दुःख सहेरै भए पनि विश्व सम्पदा जोगाउन त लाग्नुपर्‍यो नि । विश्व सम्पदा जोगाउने दायित्व त जनप्रतिनिधि हो नि । उहाँहरू नै भूमाफिया र टिपर व्यवसायीसँग मिलेर बन्द गराउन आउनु दुःखद हो ।’


कोषले सवारी बन्द गरे पनि सर्वसाधारणलाई हिँड्न भने बाटो छाडिदिने जनाएको छ । प्रदेश नम्बर ३ का सांसद नरोत्तम वैद्य भने सडक बन्द गर्नुपर्ने तर विकल्पचाहिँ दिनै पर्ने बताउँछन् । ‘सर्वसाधारण हिँड्न पनि दिनुपर्दैन । सडक पूरै बन्द गरिदिए हुन्छ,’ वैद्य भन्छन्, ‘तर कोषले विकल्प दिन्नँ भन्न मिल्दैन । सदस्य सचिव जिम्मेवार हुनुपर्छ ।’ वैद्यले एयरपोर्टको छेउबाट सडक निकाल्न सकिने बताए । ‘नागरिक उड्डयन प्राधिकरणको गुरुयोजना बनेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?