कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘मेयर उज्यालो कार्यक्रम’ घोषणा मात्र

विद्या राई

काठमाडौँ — काठमाडौं महानगरले सडक झिलिमिलि बनाउने लक्ष्य राखेर पाँच करोड रुपैयाँ विनियोजन गरेर ‘मेयर उज्यालो कार्यक्रम’ घोषणा गरेको थियो ।

पहिलो चौमासिकमा आवश्यकता, स्थान पहिचान गर्ने, दोस्रो चौमासिकमा सूचना प्रकाशन, सम्झौता, निर्माण सुरु गर्ने र तेस्रो चौमासिकमा सम्झौताअनुसार कार्य पूरा गर्ने योजना थियो । योजनाअनुसार आर्थिक वर्ष सकिन २ महिनाभन्दा कम समय बाँकी रहँदा महानगरले आवश्यकता पहिचान गर्न मात्रै सकेको छ ।


‘महानगरका ३२ वटै वडाबाट १६ हजार सडक बत्ती माग भएको छ, यसको लागत १२ करोड पर्न जाने अनुमान छ,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘हामीसँग बजेट ५ करोड मात्रै भएकाले के गर्ने ? छलफलमा छौ ।’


अनुमानभन्दा बढी माग आएकाले भएकै बजेटबाट पुग्दो मात्रै खरिद गर्ने या बजेट थप्ने यकिन निर्णय नभएको उनले बताए । आगामी तीन वर्षमा महानगरभित्र सम्पूर्ण सडक बत्तीको व्यवस्था गरिसक्ने योजना बनाएको महानगरले कामको गति बढाउन सकेको छैन ।


यसैगरी, माइतीघर मण्डल, चाबहिल र गौशालाको जयबागेश्वरीमा आकाशे पुल निर्माण गर्ने योजना थियो । आगामी तीन वर्षभित्रमा कम्तीमा १० आकाशे पुल निर्माण गर्ने योजनाअनुसार १२ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।


यी दुई उदाहरण मात्रै हुन् । महानगरले लक्ष्यअनुसार विकास, निर्माणमा फड्को मार्न सकेको छैन । जनप्रतिनिधि आएपछि विकासको लहर चल्ने जनअपेक्षाअनुरूप काम भएको छैन । महानगरको चालू आर्थिक वर्षको कुल बजेट १३ अर्ब २ करोड १२ लाख ३७ हजार रुपैयाँ छ ।


वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धरका अनुसार चैत मसान्तसम्म जग्गा एकीकरण आयोजनाबाहेक पूर्वाधार विकास, पुँजीगत खर्च, कर्मचारी तलब र कार्यालय सञ्चालनमा ३ अर्ब ७६ करोड ९१ लाख ४७ हजार अर्थात् ३१.३० प्रतिशत खर्च भइसकेको छ ।


पूर्वाधार सुधार तथा अन्य विकास खर्चतर्फ ८ अर्ब ४७ करोड ४७ लाख ४७ हजार छुट्याएको थियो । बितेको नौ महिनामा दुई अर्ब ६४ करोड ७० लाख ६ हजार अर्थात् ३१.२३ प्रतिशत मात्रै खर्च भयो ।


पुँजीगत खर्चतर्फ एक अर्ब ५० करोड ४० लाखमा १४.४५ प्रतिशत मात्रै खर्च भयो । शाक्यका अनुसार पछिल्लो डेढ महिनामा यकिन नभए पनि ३/४ प्रतिशत प्रगतिको अनुमान छ ।


विगतका वर्षझै यस वर्ष पनि पूर्वाधार, सुधार तथा अन्य विकासमा महानगरले खासै प्रगति गर्न नसक्ने देखिन्छ । गत वर्ष पूर्वाधार सुधार तथा अन्य विकासमा ९ अर्ब ४१ करोड ३७ लाख ८१ हजार बजेट छुट्याएकोमा असार मसान्तसम्म तीन अर्ब ९२ करोड ५ लाख ३४ हजार मात्रै खर्च गर्न सकेको थियो । महानगरका प्रवक्ता डंगोलले भने विकासमा प्रगति हुँदै नभएको भन्न नमिल्ने बताए ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?