पुरुष पनि पीडित छन् दोहोरी र डान्सबारमा

मनोञ्जन क्षेत्रमा काम गर्नेलाई श्रमिकका रूपमा व्यवहार नगरिएको भनेर गुनासो
माया श्रेष्ठ

काठमाडौँ — सिन्धुलीका १२ वर्षीय इमान तामाङले सात वर्षअघि काठमाडौंको एक होटलमा काम गर्न सुरु गरे । चार वर्ष अरू विभिन्न होटलमा चहार्दै अन्ततः उनी एउटा डान्सबारमा आइपुगेका छन्, जहाँ आफू आर्थिक र शारीरिक दुवै शोषणमा पर्ने गरेको गुनासो उनको छ । 

पुरुष पनि पीडित छन् दोहोरी र डान्सबारमा

रातिसम्म हरेक दिन १० घण्टा वेटरका रूपमा काम गर्ने उनले पारिश्रमिक महिला सहकर्मीको भन्दा कम पाउने गरेका छन् । ‘होटलमा भन्दा काम गर्न सजिलो हुन्छ भनेर डान्सबारमा काम सुरु गरेँ,’ भन्छन्, ‘तर, यहाँ व्यवहार र पारिश्रमिक महिला र पुरुषबीच असमान रहेछ ।’

कामअनुसारको तलब नपाउँदा काठमाडौं बस्न नै धौधौ भएको उनले बताए । तामाङका अनुसार मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला मात्रै नभएर पुरुष पनि हिंसामा पर्ने गरेका छन् । ‘भिन्न सोच भएका मानिस मनोरञ्जन लिन यहाँ आउँछन्,’ उनले भने, ‘समलिंगीहरूबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा पुरुष पनि यौन हिसांमा र श्रम शोषणमा परेका छन् ।’

मनोञ्जन क्षेत्रमा काम गर्नेलाई श्रमिकका रूपमा व्यवहार नगरिएको भनेर गुनासो गर्नेमा पर्छन् बाग्लुङका रेशम बुढाथोकी मगर । दोहोरी साँझमा काम गर्न सुरु गरेको उनले ३ वर्ष भयो । तीन वर्ष अवधिमा धेरै पटक काम परिर्वतन गरे । मनोरञ्जन क्षेत्रमा काम गर्ने युवालाई सजिलो नभएको उनले बताए । ‘स्टेजमा बसेर महिलासँगै गाउने, नाच्ने गरे पनि महिलालाई साहुले प्राथमिकता दिन्छ,’ उनले भने, ‘पुरुषलाई विभिन्न बहानामा कामबाट निकालिदिन्छन् ।’

मगरका अनुसार महिला पुरुषले सँगसँगै ४ घण्टा गाउने काम गरे पनि पारिश्रमिक महिलाको धेरै हुन्छ । गाउँबाट सहर पढाइ सँगसँगै गायनमा प्रवेश गर्ने उद्देश्यले काठमाडौं आएका मगरले आर्थिक अभावका कारण पढाइलाई निरन्तरता दिन नपाएको गुनासो गरे । लोकसंगीतलाई मन पराउनेभन्दा पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा यौन स्वार्थ पूरा गर्ने उद्देश्य लिएर दर्शक आउँदा मनोञ्जन क्षेत्रमा काम गर्ने युवा निराश बनेको उनले बताए ।

श्रमशोषण र असमान व्यवहार भोग्ने रोल्पाका खबप्र चन्चल मगरको व्यथा पनि उस्तै छ । उनले मनोञ्जन क्षेत्रमा काम गर्न सुरु गरेका साढे ३ वर्ष भयो । प्रत्येक रात ६ घण्टा स्टेजमा नाच्ने गाउने गर्छन् । ‘मेलै स्टेजमा बसेर नाच्ने गाउने गरे पनि वेटरको काम गर्ने महिलाले कामको श्रेय र पैसा बढी कमाउँछन्,’ उनले भने, ‘साहुले पुरुषलाई बेवास्ता गर्छन् ।’

मनोरञ्जन क्षेत्रमा काम गर्ने पुरुषलाई पनि हेय भावनाले समाजले हेर्ने गरेको उनको भनाइ छ ।

डान्सबार, क्लब र दोहोरी साँझमा काम गरेर यौनशोषण र श्रमशोषणमा पर्ने थुप्रै घटनामध्ये प्रतिनिधि पात्र हुन् उनी ।

श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुयैयाँ हरेक कामदारले पाउनुपर्ने हो तर मनोञ्जन क्षेत्रमा काम गर्ने युवायुवतीले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नपाएको गुनासो गर्छन् ।

रेस्टुरेन्ट, डान्सबार, क्लब र दोहोरी साँझमा काम गर्ने महिलाले मात्रै होइन, पुरुषले पनि काठमाडौंमा कोठा नपाउने अवस्था छ । समाजले मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई नस्विकारे पनि मनोरञ्जन लिन डान्सबार र दोहोरी साँझमा जानेको संख्या कमी भने छैन ।

नेपाल ट्रेड युनियनका महासचिव जनक चौधरीका अनुसार डान्सबार, रेस्टुरेन्टहरूमा काम गर्ने पुरुषको संख्या कम भए पनि महिलाजस्तै उनीहरू पनि पीडित छन् ।

‘पुरुषले ती क्षेत्रमा दोहोरो काम गर्छन्,’ उनले भने, ‘श्रमशोषण र असमान व्यवहारमा उनीहरू पर्छन् ।’ डान्सबार, रेस्टुरेन्ट र दोहोरी साँझ सञ्चालकलाई संगठित बनाउन प्रयास गरिरहेको उनले बताए । ‘यी क्षेत्रमा अनुगमन गर्ने निकाय नहुँदा समस्या भयो,’ उनले भने, ‘काम गर्नेले श्रम ऐनअनुसार पारिश्रमिक पाएका छैनन् ।’

प्रकाशित : जेष्ठ १४, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?