कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरका बिरामीको खाना कटौती

एक सातादेखि बिरामीले थोरै खाना पाइरहेका छन् । कुनै वार्डका बिरामी खाना नपुगेर भोकै हुने गरेका छन् ।
फातिमा बानु

काठमाडौँ — वीर अस्पताल र ट्रमा सेन्टरमा भर्ना भएका बिरामीलाई खानामा कन्जुस्याइँ गरिएको भेटिएको छ । अस्पतालले बिरामीलाई दैनिक दिने खानाको परिमाण घटाएको छ । यस्तै एक उदाहरण हुन्– अस्पतालमा लामो समयदेखि भर्ना भई उपचार गरिरहेकी ३३ वर्षीया एक महिला ।

गत आइतबार साँझ उनले अस्पतालबाट दिने खाना पाइनन् । उनले भनिन्, ‘खाना बाँड्दाबाँड्दै सकियो भने । मैले क्यान्टिनबाट किनेर खाएँ ।’ यसअघि उनले अस्पतालबाट चारपटक खानेकुरा पाउने गरेकी थिइन् । केही दिनदेखि अस्पतालले बिहानको दूध बिस्कुट, दिउँसोको खाना र बेलुकको खाना अड्कलेर दिने गरेको छ । उनीजस्तै वीर अस्पताल र ट्रमा सेन्टरमा भर्ना भएका बिरामीले खाना कम दिने गरेको गुनासो गरेका छन् । एक सातादेखि बिरामीले थोरै मात्रामा खाना पाइरहेका छन् । कुनै वार्डका बिरामी त खाना नपुगेर भोकै हुने गरेका छन् ।


वीर र ट्रमा सेन्टर दुवैतिर गरेर दैनिक दुई सयदेखि दुई सय ५० खाना खुवाउनुपर्ने बिरामी भर्ना हुन्छन् । जसका लागि अस्पतालमा खाना र नास्ताको निःशुल्क दिने व्यवस्था छ । यसका लागि सरकारले नै बजेट उपलब्ध गराउँदै आइरहेको छ । यी दुवै अस्पतालका अधिकांश बिरामी गरिब विपन्न हुन्छन् । कति खान नपाएकै कारण बिरामी परेर भर्ना भएका हुन्छन् ।


शल्यक्रिया गरेका र दीर्घरोगका बिरामीका लागि आधा औषधि खाना नै मानिन्छ । बिरामी भन्छन्, ‘दुध र सागसब्जी पनि थोरै दिन्छन् दाल पनि पातलो हुन्छ ।’ खानाको सट्टा रोटी खाँदै आइरहेका मधुमेहका बिरामीलाई रोटीसमेत कटौती गरिएको छ ।


कुनै समय कुरुवालाई समेत पुग्नेगरी खाना पाउँथे बिरामीले । यसबारे सम्बन्धित कर्मचारीले अस्पताल प्रशासनमा बारम्बार गुनासो गर्दा, ‘विज्ञले बनाएको खाना चार्टअनुसार बिरामीलाई खाना दिएको’ दाबी गरे ।


वीर अस्पतालमा जेठ २ गतेदेखि न्यु सुयोग इन्टरप्राइजेज सप्लायर्स फर्मले खाद्य सामग्री दिँदै आइरहेको छ । सुयोग त्यही फर्म हो, जसको योग्यता र अनुभव नपुग्दा पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) टेन्डर स्वीकृत गरेको थियो । यही फर्मले अस्पतालमा १ पैसामै अण्डालगायत अन्य खाद्यसामग्री दिने सम्झौता पनि गरेको थियो ।


अस्पताल स्रोत भन्छ, ‘सस्तोमा टेन्डर स्वीकृत गर्दाका परिणाम यसरी नै देखिन्छ । मिलोमतोमा आफूनिकट फर्मको टेन्डर दिन्छन् जसले अस्पतालमा पर्याप्त सामग्री दिँदैनन् ।’ स्रोतका अनुसार अस्पतालले अहिले भित्रकै ‘डाइटिसियन’ लाई जिम्मेवारी नदिई बाहिरको विज्ञ खटाएर बिरामीको खाना चार्ट बनाउने गरका कारण बिरामीको खाना तलमाथि भइरहेको हो ।


बिरामीले पर्याप्त खाना नपाएकोबारे आफूलाई केही थाहा नभएको वीर अस्पतालका निर्देशक डा.केदारप्रसाद सेञ्चुरीले बताए । उनले भने, ‘यसबारे अनुगमन गर्नका लागि समिति गठन भएको छ । समितिलाई खटाएर सत्यतथ्य पत्ता लगाउँछु ।’

प्रकाशित : जेष्ठ १९, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?