कोटेश्वर–कलंकी सडक : एकै क्षेत्रमा दुर्घटना बारम्बार

महानगरीय ट्राफिक महाशाखाले सोमबारबाट मुख्य लेनमा ५० किमी प्रति घन्टा र सर्भिस लेनमा २० किमी प्रतिघन्टाको दरले गति निर्धारण गरेको छ
जनकराज सापकोटा

काठमाडौँ — नेपाल प्रहरीको महानगरीय प्रहरी प्रभाग सानेपाका इन्स्पेक्टर हिक्मत थापा त्यहाँ खटिएको ६ महिना भइसक्यो । यो अवधिमा उनले धोबीघाटदेखि नयाँबाटो सडक खण्डमा दुर्घटना नभएको दिन विरलै छ । चक्रपथ विस्तारको काम सुरु भएयता यो आठ लेनको सडक खण्डका निम्ति दुर्घटना नियमितजस्तै भएको छ । यसैको एउटा शृंखला थियो, आइतबारको दुर्घटना र दुईको मृत्युको घटना ।

कोटेश्वर–कलंकी सडक : एकै क्षेत्रमा दुर्घटना बारम्बार

आइतबार झन्डै चार बजेको थियो । एकान्तकुनाबाट बल्खुतिर जाँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कर्पियो स्वाट्टै मोडियो ।विपरीत दिशाबाट लस्करै आइरहेका थिए बोलेरो, महिन्द्राको जिप र बा४३प ९८६३ नम्बरको पल्सर मोटरसाइकल । उक्त स्कर्पियो सुरुमा बोलेरोसँग ठोक्कियो, त्यसपछि महिन्द्रा जिपसँग अनि अन्तिममा मोटरसाइकलसँग जुध्यो ।

मोटरसाइकलमा सवार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष पत्रकार गोविन्द घिमिरे र चन्द्रमणि मुडभरी घटनास्थलमै ढले । प्रहरीले तुरुन्तै उनीहरूलाई नजिकै रहेको मेगा अस्पताल लग्यो । अवस्था चिन्ताजनक भएपछि अस्पतालले रेफर गर्‍यो र, उनीहरूलाई थापाथलीको नर्भिक अस्पताल पुर्‍याइयो । प्रहरीका अनुसार अस्पतालले उनीहरूलाई मृत घोषणा गर्‍यो । घटनालगत्तै पक्राउ परेका स्कर्पियो चालकले गाडीको टायर पन्चर भएको र अनियन्त्रित भएपछि दुर्घटना भएको बताएका छन् ।

घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीले सीसीटीभी फुटेज हेर्दा गुडिरहेको गाडी अचानक स्वाट्टै मोडिएर विपरीत दिशाबाट आएका सवारीसँग ठोक्किन पुगेको देखिएको बताए । दुर्घटना गराउने गाडी अगाडिको टायर पन्चर भएको प्रहरीले बताएको छ । तर इन्स्पेक्टर थापाले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेकाले तत्काल केही भन्न नमिल्ने बताए ।


ट्राफिक प्रहरीका अनुसार चीन सरकारको अनुदानमा पहिलो चरणमा विस्तार भएको कोटेश्वर–कलंकी सडक खण्डमा सबभन्दा बढी दुर्घटना हुने स्थान नै धोबीघाट–नयाँबाटो सडक हो । थापाका अनुसार दुर्घटनाको मुख्य कारण तीव्र गतिभन्दा सडकको संरचना नै मुख्य हो । उनले अधिकांश दुर्घटनामा सडक काट्ने बटुवाहरू परिरहेको बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार दिउँसो अफिसियल ट्वीटर ह्यान्डलबाट एउटा सूचना प्रवाह गर्‍यो । उक्त सूचनामा कलंकी–कोटेश्वर सडक खण्डमा गति सीमा निर्धारण गरिएको उल्लेख छ । महाशाखाले मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ । सोमबारदेखि उक्त सडक खण्डमा सवारीसाधनको गति मापन गरिरहेको महाशाखाले तोकिएको भन्दा धेरै गतिमा सवारी चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १० को दफा १६४ अनुसार कारबाही गर्ने जनाएको छ ।

महाशाखाका एसएसपी वसन्त पन्तले कान्तिपुरसँगको कुराकानीमा कोटेश्वर–कलंकी सडक खण्डमा बढेको दुर्घटना न्यूनीकरण गर्न सोमबारदेखि नै एक साता लामो अभियान सुरु गरिएको बताए । पहिलो साता ट्राफिकले गति निर्धारणसम्बन्धी सूचना प्रवाह गर्ने र त्यसपछि सवारीको गति पत्ता लगाउने लेजर गन लिएर बसेका ट्राफिकले तोकिएको भन्दा धेरै गतिमा सवारी हाँक्नेहरूलाई कारबाही गर्ने बताए ।

ट्राफिक प्रहरीले उपत्यकाका धेरै दुर्घटना हुने स्थानहरूलाई ब्ल्याक स्पट पनि तोकेको छ । एसएसपी पन्तका अनुसार धेरै दुर्घटना हुने ब्ल्याक स्पटमध्ये आइतबार दुर्घटना भएको स्थान पनि एक हो । उनले तीव्र गति, आवश्यक ट्राफिक चिह्न र ट्राफिक बत्तीको अभावमा दुर्घटना निरन्तर भइरहेको बताए । उनले भने, ‘उक्त क्षेत्रमा केही पूर्वाधार थप्नैपर्ने देखिन्छ । त्यो भनेको आकाशे पुल, फुटपाथ र मुख्य सडक छुट्याउने बार र ट्राफिक चिह्न हो ।’ तर तीव्र गति मात्रै यो क्षेत्रमा दुर्घटनाको मुख्य कारण होइन ।

उक्त क्षेत्रमा खटिएका एक ट्राफिक प्रहरीले कान्तिपुरसँगको कुराकानीमा त्रुटिपुर्ण सडक संरचना, ओभरहेड ब्रिजको कमी, सडकछेउमा अपर्याप्त बत्ती र सडक संकेतको अभाव मुख्य कारण रहेको बताए । त्यसो त इन्स्पेक्टर थापा पनि सडकको संरचनागत त्रुटि नै दुर्घटनाको मुख्य कारण भएको तर्कसँग सहमत छन् ।


उनका अनुसार धोबीघाट–नयाँबाटो सडक खण्डको तीन–चार सय मिटर खण्डमा उकालो, ओरालो र थोरै घुम्ती छ । उनले भने, ‘रातिको समयमा पैदलयात्रु दायाँ बायाँ हेर्दै बाटो काट्न बाध्य छन् । अनि त्यही बेला सवारी दुर्घटनामा पर्ने गरेको देखिन्छ ।’

२२ चैतमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको ट्रक पनि आइतबार सडक दुर्घटना भएको स्थाननजिकै दुर्घटनामा परेको थियो । स्कुटरलाई बचाउन खोज्दा अनियन्त्रित भएको गाडीले तरकारी बोकेर गुडिरहेको भ्यान किचेको थियो । त्यति बेला भ्यानमा सवार तीनमध्ये दुईजनाको मृत्यु भएको थियो ।

इन्स्पेक्टर थापाको बुझाइमा सडक संरचना तयार भए पनि पर्याप्त ट्राफिक संकेतको अभाव पनि दुर्घटनाको एउटा कारण देखिन्छ । डेढ महिनाअघि मात्रै उक्त क्षेत्रमा फ्रहरीको सक्रियतामा तीनवटा जेब्रा त्रसिङ राखिएको थियो । उनले भने, ‘सधैँ दुर्घटना भइरहने यो सडक खण्डबारे अब फरक तरिकाले नसोची नहुने भइसक्यो ।’

प्रकाशित : जेष्ठ २१, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?