कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न भाका, न बाजा

सांस्कृतिक नाचगान जोगाउन स्थानीय सरकारले विद्यालय शिक्षाको पाठ्यक्रममै समावेश गरेर पढाइनुपर्नेमा सरोकारवालाको सुझाव
प्रशान्त माली

ललितपुर — प्रसंग १ -
मत्स्येन्द्रनाथलगायत ठूला पर्वमा पहिलेजस्तो झाँकी र रौनक देखिँदैन । एउटा कारण पहिलेदेखि नै गाइँदै आएको भाका र बजाउने बाजाको कमी हो । 

गोदावरी नगरपालिका १२ थेचोमा बजाइने मालीगा दाफा (एक प्रकारको मादल) बाजा ६३९ वर्ष पुरानो मानिन्छ । यो बाजा नेपाल सम्वत् १७७८ सालमा स्थापना भएको मालीगा दाफा खलले जनायो । गुँला पर्वको एक महिना बिहान र कात्तिक महिनाभर बेलुका माली गा: पाटीमा दाफा गाउने चलन थियो । यो गीत र बाजाको तालमा रम्नेहरूले जात्रामा बेग्लै उमङ्ग ल्याउँथे ।


थेचोको माथिल्लो लाछी टोल, कुटुझोल, खाँचा, धर्मस्थलीपुर गरेर अन्य ७ स्थानमा यो बाजा बजाउने चलन थियो । आजकाल न बाजा सुनिन्छ, न भाका । बाजा बजाउने चलन हराएसँगै रातो मत्स्येन्द्रनाथ, बालकुमारी, ब्रहृमायणी, बज्रबाराही, बुद्ध, महादेव, गणेश, राम, कृष्णलगायत देवीदेवतासँग सम्बन्धित संस्कृति लोप हुने खतरा छ । थेचोकै न्हुँछे दाफा खल:को पनि उही गति छ ।


प्रत्येक वर्ष बुङ्मतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिर र बुवाको मुख हेर्ने दिनमा कार्यविनायक मन्दिरमा पुगेर बाजा बजाउने गर्दथ्यो । गुँला पर्व एक महिना माथिल्लो लाछी टोलस्थित नाथगुरु पाटीमा बिहान र कात्तिक महिनाभर बेलुका बाजा बजाउने गरिन्थ्यो ।


माघ महिनाभर बाजा बजाउने पनि चलन थियो । कोजाग्रत पूर्णिमामा बाजा बजाउँदै हलिमली पासा (गेडागुडीबाट मन्दिर बनाउने) राख्ने पर्व चलाउँथ्यो । जनैपूर्णिमा नाथगुरु पाटी, पीठ, तल्ला लाछी टोलस्थित ब्रहृमायणी मन्दिर, धर्मस्थलीपुर गणेश स्थानमा पनि बजाउने चलन थियो । यी परम्परा पनि बन्द भइसकेको छ । खल:का अनुसार कात्तिक र माघ महिनामा बजाउने चलन बन्द भएको एक दशक बढी भइसक्यो ।


प्रसंग २

देवीनाच प्राचीन संस्कृतिको धरोहर हो । ठेचोका माली समुदायद्वारा सञ्चालन गरिने नाच कमै देखिन्छ । अहिले नाचमा १० जना गुठीयार खाली छन् । विष्णुदेवी, सिंघिनी, पोमी (देवता समाउने व्यक्ति) ५ जना, मुस्या: (चिराग) समाउने २ जना, कुमि (सामान ओसार्ने) १ जनाको गरी पद खाली छ । नाच पाटन दरबार क्षेत्रको लिच्छविकालीन जात्रासँग सम्बन्धित छ ।


दरबारमा लिच्छविकालीन, मल्लकालीन र शाहकालीन गरेर तीन समयका जात्रा हुन्छन् । जसमध्ये सबभन्दा पुरानो लिच्छविकालीन मनमानेश्वरी देवीको पूजाविधि पर्व हो । यस मानमानेश्वरी देवी पूजाविधि पर्व सञ्चालन गर्न नवदुर्गा नाच अनिवार्य रूपमा पाटन लैजानुपर्छ । नत्र जात्रा नै हुँदैन । संकटमा पर्दै गएका सम्पदा गोदावरी नगरपालिका क्षेत्रभित्र थुप्रो छन् ।


महत्त्व नबुझदा र फाइदा लिन नजान्दा संस्कृति लोप हुँदै गएको सरोकारवालाले औंलाएका छन् । शिक्षा अभियान्ता सुप्रभात भण्डारी भन्छन्, ‘विद्यालयमा पढाइने पाठ्यक्रममार्फत हामीले धेरै आधुनिक कुरा सिक्यौं । देशविदेशका रीतिथिति जान्यौं, बुझ्यौं । यसले व्यक्तिको जीवनस्तरमा उल्लेखनीय प्रगति पनि भयो । तर, यही समयभित्र विश्वलाई चकित तुल्याउने स्थानीय कला संस्कृतिको महत्त्वबारे कति सिक्यौं ? सम्पदा कति बुझ्यौं ? त्यो महत्त्वपूर्ण कुरा हो ।’


थेचो न्ह्यछेँ दाफा खल:का कजी (व्यवस्थापक) ५५ वर्षीय जितगोविन्द्र महर्जन भन्छन्, ‘हाम्रो पुर्खाले यस बाजा बजाउँदै आएको तीन शताब्दी बित्यो । बाजेको पालासम्म ८४ राग गाउँथे । अहिले हराउँदै ३४ रागमा सीमित भएको छ ।’ उनका अनुसार बाजा महत्त्व छुट्टै छ । ‘मानिसले ११ महिनासम्म व्यवहारमा बस्दा चाहेर वा नचाहेर झूट बोल्ने, पाप गरेका हुन्छन् । यसलाई पखाल्न बाजा बजाउदै गुँला महिनामा व्रत बस्ने, दुष्कर्म छोडेर सुकर्म, पुण्य सञ्चय, दान गर्ने र जाँडरक्सी, माछामासु र बलि चढाउन नहुने रीतितिथि छ,’ उनले भने ।


भण्डारी र महर्जन दुवैले यी सांस्कृतिक सम्पदा जोगाउन स्थानीय सरकारले विद्यालय शिक्षाको पाठ्यक्रममै समावेश गरेर पढाइनुपर्नेमा जोड दिए । भण्डारी भन्छन्, ‘स्थानीय आवश्यकतालाई उचित रूपमा सम्बोधन गर्न शिक्षालाई नै आधार बनाउनुपर्ने कुराले विश्वव्यापी मान्यता पाइसकेको अवस्थामा संस्कृति जोगाउन जनप्रतिनिधिले यसप्रति ध्यान दिन जरुरी छ ।’ उनले चेतनाको विकास गर्ने विभिन्न माध्यममध्ये पाठ्यक्रमै समावेश गरेर पठनपाठन गराउनु सर्वोचित माध्यम भएको बताए । ‘सरकारले पनि यसलाई वैधानिकता दिएको छ,’ उनले भने ।


गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगर क्षेत्रका सम्पदा संरक्षण प्रवर्द्धन गर्न प्रस्ताव लिएर आएमा सक्दो सहयोग गर्ने बताए । ‘बाजागाजा संरक्षण गर्न तालिम र प्रतियोगिताको आयोजना गर्दै आइरहेका छौँ,’ उनले भने । गोदावरी नगरपालिकाका नगर शिक्षा अधिकारी देवीलाल विष्टले नगर क्षेत्रभित्रका सांस्कृतिक पुरातात्त्विक महत्त्वका सम्पदालाई स्थानीय पाठ्यक्रममा समावेश गर्न छलफल भइरहेको बताए । ‘यसबारेमा पहिला बज्रबाराही स्रोत केन्द्रले किताब तयार पारेको छ,’ उनले भने, ‘त्यसैलाई आधार मानेर पाठ्यक्रमा समावेश गर्ने विषय खोजीनीति गर्न आगामी वर्षका लागि बजेट माग गर्ने तयारीमा छु ।’ उनले यसबारे जनप्रतिनिधिसँग पनि छलफल भइरहेको बताए ।


पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरद्वारा प्रकाशित ‘नेपालमा विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६३’ मा स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम निर्माणलाई प्राथमिकता दिइने उल्लेख छ । प्राथमिक शिक्षा पाठ्यक्रम (२०६२) ले सामाजिक अध्ययन, सिर्जनात्मक कला र शारीरिक शिक्षामा २० प्रतिशत पाठ्यभार स्थानीय विषयवस्तुमा आधारित हुनुपर्ने प्रावधान राखेको छ ।


प्रकाशित : जेष्ठ २२, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?