कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाहिरी चक्रपथको जग्गाभित्र हाउजिङ

शिल्पा कर्ण

काठमाडौँ — बाहिरी चक्रपथ आयोजनाका लागि नक्सांकन गरिएको जग्गामा हाउजिङ बनिसकेको छ । कीर्तिपुर नगरपालिकाको वडा नं. ६ मा पर्ने उक्त आयोजनाको केही भागमा घर बनिसकेका छन् भने केहीमा बन्दै छन् ।

नगरपालिकाले दिएको निर्माण स्वीकृति तथा निर्माण सम्पन्न प्रमाणपत्रअनुसार चक्रपथ बन्ने मुख्य सडकभित्रै हाउजिङमा घर बनिसकेको देखिएको छ । जब कि हाउजिङका अनुमति उपत्यका विकास प्राधिकरणले दिन्छ भने, बाहिरी चक्रपथ पनि प्राधिकरणअन्तर्गतकै आयोजना हो ।


आयोजनाले बनाउने भनेको ५० मिटर सडककै बीचमा पनि केही घर बनिसकेका छन् । प्राधिकरणको डीपीआर २०७५ वैशाखमा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । तत्पश्चात् आयोजना बन्ने पक्काझैं भए पनि फेरि हाउजिङ र कृषि मन्त्रालयअन्तर्गतको एक आयोजनाका लागि आवश्यक भवनको बनिसकेको बाहनामा नक्सा परिवर्तनको तयारी भइरहेको छ । डीपीआरअनुसार चोभार–गाम्चा–सतुंगल खण्डमा विभिन्न संरचना निर्माण भएका छन् । कीर्तिपुरभित्र पर्ने खण्डको बीच सडकमा आधा दर्जन घर बनिसकेका छन् । कित्ता नं. १६२, १६३, १६६, १७९, १८० र १८६ मा हाउजिङभित्रको जग्गामा घर बनिसकेको छ ।


कृति हाउजिङका नाममा कीर्तिपुर नगरपालिकाले विभिन्न मितिमा गतवर्षसम्म पनि नक्सापास तथा भवन निर्माण इजाजत दिएको देखिन्छ । उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार विभोर प्रोपर्टी प्रालिले जग्गा विकासका लागि भनेर ४९ रोपनी, ११ आना र दुई पैसा जग्गाको स्वीकृति लिएका हुन् ।


शम्भुप्रसाद फुँयाललाई जग्गा विकास सञ्चालन गर्न २०६७ मंसिर १३ मा प्राधिकरणको बोर्ड बैठकबाट ८० वटा प्लट गर्न दिने निर्णय भएको छ । सोही कम्पनीले कृति हाउजिङ भनेर साविकको कीर्तिपुर नगरपालिका १५ मा घर निर्माण स्वीकृति लिएको देखिन्छ । जहाँ ८० भन्दा बढी घर बनिसकेको नगपालिकाको एक कर्मचारीले बताए ।


तर तथ्यांकले हाल २२ घर निर्माण भइसकेको देखाउँछ । ‘स्वीकृति लिएका भन्दा केही बढी पनि निर्माण भएका छन्,’ नक्सा उपशाखा प्रमुख तथा इन्जिनियर सुरज ओझाले भने, ‘हाई टेन्सन लाइनबाहेकका सबै क्षेत्रमा संरचना निर्माण भएका छन् ।’ नगरपालिकाका एक कर्मचारीले नगरपालिकालाई पत्र पठाइएअनुरुप सोध्ने गरिएको तर प्राधिकरणबाट निर्माण गर्न स्वीकृति दिएकाले नै निर्माण अनुमति दिइएको बताए ।


उनले भने, ‘प्राधिकरण आफैंले हाउजिङ अनुमति दिएको रहेछ । फेरि त्यहीँ बीचैबीच जाने चक्रपथको डीपीआर पनि तयार गरेको छ । हामीले पत्रमार्फत सुझाव माग्दा निर्माण अनुमति दिनु भनेरै जवाफ पायौं, त्यसैले दिएका हौं ।’ यसैगरी, आयोजनाका लागि छुट्याइएको जग्गामै व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले विश्व बैंकको सहयोगमा भवन निर्माण गरेको छ ।


केन्द्रीय बागवानीको हाताभित्र र बाहिरी चक्रपथको डीपीआरअनुसार सडकभित्र पर्ने गरी निर्माण गरिएका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले निर्माण थालेको पुष्प बजार बाहिरी चक्रपथभित्र पर्ने भएपछि केही दिन निर्माण रोकिएको थियो ।


ती संरचनाकै कारणले नक्सा फेर्ने तयारीमा रहेको प्राधिकरणका सर्भेयर रामकृष्ण बाँखुले बताए । ‘त्यहाँ कृषि आयोजनाका विभिन्न संरचना बनिसकेका छन् । हाउजिङ पनि छ । त्यसैले नक्सा फेर्ने कि भन्ने छलफल चलिरहेको हो,’ उनले भने । उनले हाउजिङका भवन र कृषिको संरचना छल्ने गरी खोल्सा हुँदै अर्को नक्सा कोर्ने तयारीमा प्राधिकरण रहेको जानकारी दिए ।


बाँखुका अनुसार प्राधिकरणले नगरपालिकालाई बाहिरी चक्रपथभित्र पर्ने कित्ता नं. र डीपीआर उपलब्ध गराएको थियो । तर त्यसबेला डीपीआर मन्त्रिपरिषदबाट स्वीकृत नभईसकेकाले बाध्यात्मक भने थिएन । उनले भने, ‘त्यो नक्सा आधिकारिक होइन । हामीले कित्ताकाट, संरचना निर्माण रोक्न अनुरोध मात्र गरेका हौं । रोक्का नै हुन त पत्रिकामा सूचना निकालेर चार किल्ला तोक्नुपर्‍यो । त्यसपछि मात्र आधिकारिक मानिन्छ र त्यसैअनुसार प्रक्रिया अगाडि बढ्छ ।’ केही वर्षअघि नगरमा नक्सा पठाएर कित्ताकाट र नयाँ संरचना निर्माण रोक्नु भनिए तापनि पछि खुलाइएको हो । यसैगरी कित्ताकाट केही समय रोकिए पनि यसैबीच कित्ताको संख्या बढेको थियो । कतिपय कित्ता परिवर्तन र थपिएका पनि छन् ।


बन्ने नबन्ने बीच अडेको यो आयोजनाबारे कीर्तिपुरका मेयर रमेश महर्जनले अब बन्ने सम्भावना नरहेको बताए । उनले भने, ‘अनौपचारिक रूपमा नक्सा फेर्ने भन्ने कुरा आएको छ । आधिकारिक जानकारी भने आएको छैन । तर बाहिरी चक्रपथ बन्ला जस्तो छैन ।’ झन्डै ५ वर्षअघि आफूहरू निर्वाचित नहुँदै प्राधिकरणबाट कित्ताकाट र संरचना निर्माण रोक्काको पत्र आएको जानकारी पाएको उनले बताए ।


कृति हाउजिङले जनप्रतिनिधि निर्वाचित हुनुअघि नै प्लटिङ अनुमति लिएकाले त्यसबारे जानकारी नभए पनि कृषि तथा फलफूल बजारसम्बन्धमा पछि जानकारीमा आएको बताए । प्राधिकरणबाट रोक्का गराइएको सम्बन्धी जानकारी नआएकाले निर्माण अनुमति दिइएको उनको भनाइ छ । महर्जनले भने, ‘यो वर्ष बाहिरी चक्रपथका नाममा बजेट पनि परेको छैन । दलालले जग्गाको मूल्य बढाउन मात्र चक्रपथको नक्सा परिवर्तन र बन्छ भनेर हल्ला चलाउने गरेको रहेछ ।’ सन् २००१ देखि नै बनाउने भनिएको बाहिरी चक्रपथ हालसम्म बन्न सकको छैन ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?