१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पलिस्वाँ पुखु बन्दै

भक्तपुर — वर्षौंदेखि पलिस्वाँ पुखुः (कमलपोखरी) संरक्षणको आवाज उठाउँदै आएका मध्यपुरथिमि ८ बोडेबासीको अपेक्षा पूरा हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाले ऐतिहासिक पलिस्वाँ पुखुः को संरक्षण, पुनर्निर्माण तथा जीर्णोद्धार कार्य सुरू गरेको छ ।

पुखुः संरक्षणका लागि सोमबारबाट सीमा पर्खाल लगाउन सुरू गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । पलिस्वाँ पुखुः संरक्षणका लागि सिमाङनको कार्य भइसकेको र सीमा पर्खाल निर्माणका लागि नगरपालिकाले ७५ लाख रुपैयाँ विनियोजन गरेको उनले बताए । सीमा पर्खाल चालू आर्थिक वर्ष ०७५/७६ को असार मसान्तभित्र सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ ।


जिल्ला अदालत भक्तपुरले २०७५ असार २० मा विभिन्न व्यक्तिको नाममा बिक्री हुँदै आएको ऐतिहासिक पलेस्वाँ पुखुःलाई सार्वजनिक पोखरीको रूपमा कायम गर्ने फैसला गरेको थियो ।


अदालतका न्यायाधीश मातृकाप्रसाद मरासेनीको एकल इजलासले २०३५ देखि व्यक्तिले हकदाबी गर्दै बिक्री हुँदै आएको पोखरीको १५ रोपनी ९ आना जग्गा मध्यपुरथिमिवासीको सार्वजनिक सम्पत्ति रहेको र संरक्षण गर्ने आदेशसहित फैसला सुनाएको हो । अदालतको उक्त फैसलासँगै नगरपालिका ऐतिहासिक महत्त्वको पलिस्वाँ पुखुः संरक्षणमा लागेको नगरप्रमुख श्रेष्ठ बताउँछन् ।


अदालतले २०३५, ०३७ र ०५५ मा विभिन्न व्यक्तिको नाममा फैसला गरेको अदालती आदेशलाई समेत बदर गर्दै सार्वजनिक पोखरीको रुपमा फैसला गरेको हो । २०२१ को नापीमा समेत सार्वजनिक पुखुःकै रुपमा रहेको प्रमाणित छ । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको पलेस्वाँ पुखु जोगाउन माग गर्दै स्थानीयले वर्षौंदेखि दबाब दिँदै आएको थियो । तत्कालीन बोडे गाउँ पञ्चायत वडा ६ कित्ता नम्बर १ को १५ रोपनी ९ आना सार्वजनिक जग्गा २०४२ मा व्यक्तिको नाममा दर्ता भई बिक्रीवितरण भएको थियो ।


२०४२ असार ३१ गते कमलपोखरी कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ माघ २२ मा अधिकृत वारेससनामा बकसपत्र गरी मनाङ घरभई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा पास भएको स्थानीय बताउँछन् । जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिनीको नाममा, १ रोपनी कर्सी जद्योना गुरुङको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको थियो ।


सार्वजनिक पोखरी भएको जग्गा खरिदबिक्री हुँदै आए पनि कसैले उपभोग भने गर्न सकेको थिएन । केही वर्षअघि उक्त पोखरीमा माटो पुर्न आएका केही व्यक्तिलाई स्थानीयले लखेटेदेखियता पोखरी पोखरीकै रुपमा रहेको छ । पोखरी सार्वजनिक हुनुपर्ने माग गर्दै स्थानीयले ऐतिहासिक पोखरी संरक्षण समिति गठन गरी आन्दोलन गर्दै आइरहेका थिए । नगरपालिकाले पलिस्वाँ पुखुः संरक्षण तथा पुनर्निर्माणका लागि करिब ८ करोड रुपैयाँ लाग्ने इस्टमेट तयार गरेको छ ।


पुखुःको चारैतिर पैदलमार्ग निर्माण गर्ने, पोखरीको बीचमा कमलको फूलको प्रतिमा निर्माण गर्ने, शौचालय, बोटिङ स्थल लगायतको लक्ष्य लिएको जनाएको छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वको पोखरीलाई नगरपालिकाले मौलिक स्वरूपमा निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ ।


मध्यपुरथिमि नगरपालिकाले यसअघि विष्णु कुण्ड पुनर्निर्माण गरिसकेका छन् भने, दुईपोखरीको जीर्णोद्धार थालेको छ । मध्यपुरथिमि ४ स्थित दुईपोखरीमध्ये एकमा पानी पर्ने, पैदलमार्ग निर्माणलगायत कार्य सम्पन्न गरिसकेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?