कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

प्रक्रिया नपुर्‍याई अस्पताल भवन 

भक्तपुर — भक्तपुर अस्पतालको नयाँ निर्माण कार्य अन्योलमा परेको छ । वीर अस्पतालपछिको दोस्रो ११४ वर्ष पुरानो भूकम्पले क्षतिग्रस्त अस्पतालको भवन रेट्रोफिटिङ गर्ने तथा सुविधायुक्त डिपार्टमेन्टसहितको नयाँ भवन निर्माण गर्ने योजना बने पनि नक्सापास नहुँदा 
अन्योलमा परेको हो । 

भवन निर्माणका लागि गत माघ २३ मा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्रकुमार यादव, प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, बेलायती विकास नियोग (डीएफआईडी) लन्डनका महानिर्देशक रिचार्ड क्लार्कलगायतले अस्पतालको रेट्रोफिटिङ तथा नयाँ भवन निर्माणबारे औपचारिक घोषणा गरेका थिए ।


डीएफएआईडीको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको स्वास्थ्य क्षेत्र कार्यक्रम (एनएचएसएसपी) अन्तर्गत अस्पताल भवन संरचनाहरू रेट्रोफिटिङ कार्य गर्ने कार्यक्रम छ । रेट्रोफिटिङअन्तर्गत भूकम्पीय प्रवलीकरण स्वास्थ्योपचारका लागि उपयोगी हुने गरी स्तरोन्नति र खानेपानी, ढल, फोहोर, भित्री हावाको गुणस्तर व्यवस्थापनलगायत समावेश गरेको योजना बताएको छ ।


नयाँ भवनमा सुविधा सम्पन्न प्रसूति वार्ड, आईसीयू सेवा सञ्चालन, ओपीटी सेवा र पार्किङ व्यवस्थापन गर्ने लक्ष्य लिएको अस्पताल प्रशासनले जनाएको छ । शल्यक्रिया कक्ष, ओपीडी कक्ष, भान्साघर, शौचालय, शव गृह तथा पोस्ट मार्टम कक्ष, पार्किङलगायतको भौतिक संरचना निर्माण गर्ने डिजाइन तयार छ । तर, नगरपालिकाले मालपोत असुल रसिद, नक्साको डिजाइन, नगरपालिकामा दर्ता भएको डिजाइनको इजाजत पत्रलगायत माग गर्दै नगरपालिकाले सिफारिस गरेकै इन्जिनियरबाट डिजाइन हुनुपर्ने भन्दै अस्पताल

प्रशासनलाई पत्रचार गरेको छ ।


अस्पतालको सहजीकरणमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भवन निर्माण तथा रेट्रोफिटिङ प्रक्रिया थालिएको भए पनि अस्पताल परिसरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुर र भक्तपुर क्यान्सर अस्पतालले भोगचलन गरेको जग्गाको समेत तिरो (मालपोत) तिर्नुपरेकोले भवन निर्माण थप अन्योल बनेको मेडिकल सुपरिटेन्डेन्ट डा.सुधा देवकोटा बताउँछिन् ।


‘पहिलेपहिले कुन प्रक्रियाबाट अस्पतालको जग्गा अन्य संस्थालाई भोगचलन गर्न दिइयो थाहा छैन, अहिले भक्तपुर अस्पतालले मालपोत तिर्न नगरपालिकाले पत्रचार गरेको छ,’ उनले भनिन्, ‘अर्को संस्थाको मालपोत तिर्ने बजेट हामीसँग छैन ।’ भक्तपुर अस्पतालले भोगचलन नै नगरेको जग्गाको मालपोत तिर्न नसक्ने उनले बताइन् । अस्पतालको १८ रोपनी ४ आना जग्गाको मालपोत दस्तुर हालसम्म तिरेको छैन । हालसम्मको मालपोत दस्तुर १ लाख ६४ हजार रुपैयाँ तिर्नुपर्ने अस्पताल प्रशासनको भनाइ छ । अस्पतालको १८ रोपनी ४ आना जग्गामा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, रेडक्रस, क्यान्सर अस्पताल, भक्तपुर नगरपालिकाले सार्वजनिक शौचालय बनाएको छ ।


कुल २० करोड ३४ लाख २५ हजार ५ सयमा नयाँ र मौजुदा भवन रेट्रोफिटिङका लागि १२ करोड ४१ लाख ८४ हजार ३ सय रुपैयाँ गरी ३२ करोड ७६ लाख ९ हजार ८ सय रुपैयाँ बजेट विनियोजन भएको समेत जनाएको छ ।


पुरानो र भूकम्पका कारण आंशिक क्षति पुगेको पानी चुहिने अस्पतालमै सेवा दिन बाध्य भएको अस्पताल प्रशासनले जनाएको छ । ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ को नामबाट १९६१ मा स्थापित १५ शय्याको अस्पताल हाल २०६० देखि ७५ शय्या सञ्चालित छ । दिन प्रतिदिन बिरामीको चाप बढ्दै गएकाले अस्पताल प्रशासनले ७५ शय्यालाई थप गरी १ सय २५ शय्या पुर्‍याउन माग गरेको छ ।


अस्पतालमा दरबन्दी नहुँदा आईसीयू सञ्चालन गर्न नसकेको बताउँदै सरकारले डाक्टर र कर्मचारीको दरबन्दी थप गर्नुपर्ने डा.देवकोटा बताउँछिन् । मुलुककै दोस्रो जेठो अस्पतालमा डिपार्टमेन्टको व्यवस्था छैन । अस्पतालको नयाँ भवनसँगै आईसीयू सञ्चालन गर्ने लक्ष्य लिएको मेडिकल सुपरिटेन्डेन्ट डा.देवकोटाले बताइन् । अस्पतालको स्तरवृद्धि गर्ने, पार्किङ व्यवस्थापन, बगैंचा निर्माण, एक्स–रे, प्रोटेबल यूएसजी, ल्याबक्रोस्कोपी, इन्डेस्कोपीलगायत सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताइन् ।


अपांगमैत्री नयाँ भवनमा लिफ्ट जडान गरी मौजुदा भवनहरूमा समेत आवागमनमा सहजता ल्याउने गरी डिजाइन गरिएको छ । संघीयता लागू भएपछि प्रदेश अस्पतालको रूपमा सञ्चालित अस्पतालमा जेठ १ बाट मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालित छ । भवन अभावका कारण अस्पतालको भर्‍याङमुनि जस्ता बारेर मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न बाध्य भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.देवकोटाले बताइन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?