१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

वीरमा औषधि अभाव

काठमाडौँ — देशकै ठूलो र पुरानो अस्पताल वीरको फार्मेसीमा औषधि अभाव देखिएको छ । औषधि खरिदको टेन्डर प्रक्रिया लम्बिँदा लामो समयदेखि अस्पतालमा औषधि अपुग भएको हो । आकस्मिक, शल्यक्रिया र आईसीयूका बिरामीका लागि प्रयोग हुने औषधिसमेत अभाव हुँदा बिरामीले सास्ती खेपिरहेका छन् ।

वीरमा औषधि अभाव

वीरको फार्मेसीमा अहिले छाला एलर्जीको आकस्मिक अवस्थामा प्रयोग हुने औषधि ‘हाइड्रोकोर्टिसन’ अभाव छ । कमजोरी र बेहोसी उपचारमा प्रयोग हुने औषधि ‘न्युट्रिडेक्स’ छैन । शल्यक्रिया गरेपछि घाउ सिलाउने धागो (सुचर) सबै किसिमका छैनन् । मिर्गौलामा बिरामीलाई डाइलासिस गर्न प्रयोग हुने पाइप ‘क्याथेटर’ छैन । विष पिएर अस्पताल भर्ना भएका बिरामीको उपचारमा प्रयोग हुने औषधि ‘एट्रोपिन’ पनि अभाव छ । जीवन बचाउने आकस्मिक औषधि त पाइँदैनन् नै, सामान्य खोकी लाग्दा खानुपर्ने ‘बिटाटु’ समेत पाइँदैन वीर अस्पताललको फार्मेसीमा । कलेजो बिग्रिएका बिरामीलाई चाहिने ‘ह्युमन अबलुमिन इन्जेक्सन’ नहुँदा बिरामीले बाहिरको फार्मेसीबाट दोब्बरतेब्बर महँगो मूल्यमा खरिद गरिरहेका छन् । क्यान्सरका बिरामीको पीडा कम गर्ने औषधि ‘मर्फिन’ पनि अभाव छ । बाहिरका फार्मेसीमा पनि सजिलै नपाइने यो औषधि नपाउँदा बिरामी कुरुवा भौंतारिन्छन् । औषधि अभावका यी केही उदाहरण मात्रै हुन् ।


अस्पताल फार्मेसीभित्र औषधि नहुँदा बिरामीहरू बाहिरबाट महँगो शुल्क तिरेर औषधि किन्न बाध्य भइरहेका छन् । विशेष गरी स्वास्थ्य बिमा गरेका बिरामी बढी घाटामा छन् । बिमा गरेका बिरामीले अस्पताल फार्मेसीबाट नि:शुल्क औषधि पाउने व्यवस्था भए पनि औषधि अभावका कारण यो व्यवहारमा लागू हुन सकिरहेको छैन । दैनिक अत्यधिक मात्रामा प्रयोग हुने आकस्मिक औषधिसमेत नहुँदा बिरामीले दु:ख पाइरहेका छन् । सरकारी फार्मेसीमा बिरामीले ३० देखि २ सय प्रतिशतसम्म सस्तो मूल्यमा औषधि पाउँछन् ।


२०७२ देखि सरकारी फार्मेसी स्थापना गर्नुको उद्देश्य पनि औषधिका लागि बिरामीले निजीबाट चर्को मूल्यमा तिर्नु नपरोस् भन्ने नै थियो । टेन्डर प्रक्रिया लम्बिएकै कारण अस्पतालले तीनदेखि पाँच लाख रकम बराबरको आौषधि सिधै खरिद गरेर समेत बेच्ने गरेको छ । सिधै खरिद गर्दा औषधिको मूल्य महँगो हुने हुँदा बिरामीले सस्तो मूल्यमा औषधि पाउन सक्दैनन् । अस्पतालको खरिद एकाइ प्रमुख भगवती थपलियाले औषधि खरिद प्रक्रियाका लागि टेन्डर सम्झौता भइसकेको बताइन् । उनले भनिन्, ‘टेन्डरमा नपरेको औषधि अभाव भएको होला । एक साताभित्रै टेन्डर प्रक्रिया पूरा हुन्छ र औषधि अभाव घट्छ ।’ फार्मेसी निर्देशिका–२०७२ अनुसार सबै सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने नियम छ । यो नियमअनुसार अस्पतालको फार्मेसी २४ घण्टा खोल्नुपर्ने भनिए पनि वीरमा यो लागू छैन ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?