२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

भक्तपुरमा शैक्षिक ऋण

भक्तपुर — भक्तपुर नगरपालिकाले उच्च शिक्षाका लागि शैक्षिक ऋण वितरण सुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र स्थायी बसोबास भएका जेहेनदार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजदरमा ५ लाख रुपैयाँसम्मको शैक्षिक ऋणको व्यवस्था गरेको छ ।

नगरपालिकाले आइतबार एक समारोहबीच शैक्षिक ऋण वितरण कार्यक्रम सुरु गरेको नगरप्रमुख सुनील प्रजापतिले बताए । आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले प्रतिविद्यार्थी ५ लाख रुपैयाँसम्म ६ प्रतिशतको सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था गरेको उनले बताए । नगरका १० वटै वडाबाट वडाध्यक्षको सिफारिसमा वर्षमा १०/१० जना गरिब तथा जेहेनदार विद्यार्थीलाई सहुलियत ब्याजदरमा शैक्षिक ऋण व्यवस्था गर्ने निर्देशिका पारित गरेको शिक्षा, संस्कृति तथा स्वास्थ्य समिति सदस्य एवं वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताए । विद्यार्थीको रुचिका विषयमा स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी गर्न चाहने विद्यार्थीका लागि नगरपालिकाले एकमुष्ट अथवा किस्ताबन्दीमा ऋण दिने व्यवस्था गरेको उनले बताए । आइतबार उच्च शिक्षाका लागि सहुलियतको शैक्षिक ऋण लिन नगरक्षेत्रका ३५ विद्यार्थीले नगरपालिकासँग सम्झौता गरेको छ । ‘विद्यार्थीले हातमा पैसा पाउने होइन, अध्ययनरत संस्थाको खातामा ऋण पठाइदिने हो,’ नगरप्रमुख प्रजापतिले भने ।


ऋण लिएर अध्ययन गरेको विद्यार्थीले अध्ययन पूरा गरेको १ वर्षमा २५ प्रतिशत, २ वर्षमा ५० प्रतिशत, ३ वर्षमा ७५ प्रतिशत र ४ वर्षमा ऋण चुक्ता एवं एकमुष्ट ऋण तिर्न सक्ने व्यवस्था गरेको समेत नगरपालिकाले जनाएको छ ।

स्थानीय तह निर्वाचनको दौरानमा घोषणापत्रमा उल्लेख भएअनुसार नगरका गरिब तथा जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्ने उद्देश्यले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका पारित गरेको छ ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?