कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोकर्णेश्वरमा सुनको छाना

माया श्रेष्ठ

काठमाडौँ — लिच्छविकालीन गोकर्णेश्वर महादेव मन्दिरको छाना सुनले छाउने काम धमाधम भइरहेको छ । स्थानीयवासीको सक्रियतामा घरघरबाट तामाका भाडा संकलन गरेर मन्दिरको छानामा तामाको पातामा २३ किलो सुनको लेपन लगाएर छाउन सुरु गरिएको गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर ४ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार पशुपतिनाथ, मनकामना मन्दिरको जस्तो पानी नचुहिने छाना छाउन १७ करोड रुपैयाँ बराबरको लागत लाग्ने अनुमान छ । ०७२ सालको भूकम्पले मन्दिरलाई जीर्ण भएपछि झिँगटीको सट्टामा सुनको जलप भएको छानाले प्रतिस्थापन गर्न लागिएको हो । मन्दिर गोकर्णेश्वर–४ मा अवस्थित छ । ‘पुरातात्त्विक महत्त्वका काठ अनि दुई तलाको झिँगटीको छाना जीर्ण बन्यो,’ उनले भने, मन्दिरको दुरावस्था हेरेर हामी बस्न सकेनौँ अनि जीर्णोद्धार अभियान सुरु गर्‍यौँ ।’


गोकर्णेश्वरको स्थापना सत्ययुगमा ब्रह्माले गरेका हुँदा यस स्थानमा आई पितृलाई तर्पण, दान र पिण्ड दिनाले अगति परेका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । गोकर्णेश्वर नगरपालिकाको धार्मिक तथा पर्यटकीय विकासका लागि गोकर्णेश्वर महादेव मन्दिरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष श्रेष्ठको छ ।


सुनको जलपसहितको छाना फेर्न स्थानीयको सहयोगमा महायज्ञ सञ्चालन गरिएको जानकारी श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समन्वय समितिका अध्यक्ष कोमलबहादुर विष्टले दिए । उनका अनुसार महायज्ञबाट तीन करोड रकम संकलन गरिएको थियो । ‘स्थानीयवासीले घरघरबाट तामाका अम्खरा मन्दिरका लागि सहयोग गरे,’ उनले भने, ‘तामाका भाँडावाट मात्रै ४६ लाख उठ्यो ।’ यस्तै नगरपालिकाले १ करोड रुपैयाँ सहयोग गरेको छ ।


‘सुनको लेपनसहितको २ तलामा छाना लगाउन १६ करोड लाग्छ ’ उनले भने, ‘४ करोड ५० लाख त उठ्यो अन्य खर्च जुटाउन सहयोगी हातको आवश्यकता छ ।’ धार्मिक तथा पर्यटकीय क्षेत्र राज्यको मात्रै नभएर सबैको साझा सम्पत्ति भएकाले संरक्षण र दायित्व नागरिकको पनि भएको उनले बताए । तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला छानामा सुनले छाउने काम ०७७ असारसम्ममा सकिने समितिका सचिव इर्श्वर पाण्डे बताउँछन् ।


‘पहिलो र दोस्रो तलामा झल्लर, कुपा र म्हुठल तलामा राख्ने काम सकियो,’ उनले भने, ‘दोस्रो तलामा २४ सय स्क्वायर फिटमध्ये १७ सय २८ स्क्वायर फिटमा सुनको लेपनको छाना राखिएको छ ।’


गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धार पुरातत्त्व विभागले पनि गरीरहेको छ । मन्दिरको छानामा तामाको पातामा सुनको लेपन लगाउने कामबाहेक अन्य मर्मत सम्भार कार्य पुरातत्त्व विभागले गर्ने भएको छ ।


विभागले मन्दिरको जोर्णोद्धार गर्नका लागि ४ करोड ७३ लाख ९५ हजार सहयोग गर्ने श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समन्वय समितिका अध्यक्ष कोमलबहादुर विष्टले बताए । पुरातत्त्व विभागले आर्थिक वर्ष २०७५ र ०७६ मा १ करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?