भाडावालमाथि मनलाग्दी

कान्तिपुर संवाददाता

काठमाडौं — सर्लाहीकी रिना महतोलाई चिकित्कसले वैशाख अन्तिम साता सुत्केरी हुन सक्ने सम्भावना बताएका थिए । त्यसैअनुसार तयारीमा थिइन् । अचानक वैशाख सुरुवातसँगै उनी बस्ने ललितपुर महालक्ष्मीस्थान विशाल चोकका घरबेटीले घर बेचेको थाहा पाइन् । नयाँ घरबेटी आउनेबित्तिकै भाडा बढाए ।

११ हजार रुपैयाँ मासिक तिरिरहेकी उनले अब १५ हजार तिर्नुपर्ने भयो । तिर्ने भए बस्नु नत्र तुरुन्त निस्केर जान भन्दै घरबेटीले दबाब दिए । तर आफू गर्भवती थिइन्, श्रीमान् भने दिनभर जागिरमा । कोठा पाउन सास्ती भएको उनको अनुभव छ । ‘कोठा पाउन निकै गाह्रो भयो । खोजेको जस्तो ठाउँमा, उपयुक्त भाडा र सुविधासहितको कोठा नपाइने,’ उनले भनिन्, ‘समय कम भए पनि पछि भेटेँ । सुत्केरी भएको भोलिपल्टै हामी कोठा सर्‍यौं ।’ एक वर्ष उक्त घरमा बसे पनि घरबेटीसँग कुनै किसिमको लिखित सम्झौता थिएन ।


घरबेटीबाट पीडितमा एक अर्का हुन् आकाश कर्ण । सिन्धुलीमा कार्यरत उनी काठमाडौं बसेको लामो समय भइसकेको थियो । झन्डै ६ वर्षअघि पढ्न राजधानी छिरेलगत्तै कुपण्डोलमा कोठा भाडामा लिए । पछि भाइ पनि आए, सँगै बसेर पढ्न थाले । उनी जागिरको सिलसिलामा उपत्यकाबाहिर बस्न थालेपछि कोठामा भाइ नै बस्थे । पछिल्लो ४/५ महिनायता उनी कामकै सिलसिलामा उपत्यकाबाहिर छन् । यता कोठा खाली नै छ । ‘भाइ थप अध्ययनका लागि बाहिर गयो । कोठामा कहिलेकाहीँ आफन्त आउँथे । राजधानीमा काम पर्दा आएका बखत घरका मान्छेसँग साँचो थियो, बस्नुहुन्थ्यो,’ उनले भने ।


मान्छे कोठामा आउँदा घरबेटीलाई फोनमार्फत जानकारी दिन्थे । घरबेटीसँग उनको नागरिकताको फोटोकपी र फोटो थियो । उनकै भनाइअनुसार आउने महिनाको भाडा अग्रिम भुक्तानी गर्नुपर्थ्यो । महिनाको ७ गतेभित्रै त्यो महिनाको भाडा घरबेटीको खातामा हाल्दिन्थे । ‘दुई पटक पाहुनालाई बस्न दिँदा घरबेटीले गाली गरे । न पाहुनाले अन्य भाडावाललाई असर पर्ने काम गरेका थिए न त अन्य कुनै खराब काम,’ कर्णले थपे, ‘बर्सेनि घरभाडा ५ देखि ७ सय बढाइरहे पनि त्यसैअनुसार तिर्दै आएको थिएँ ।’

फोहोर र पानीका लागि छुट्टै तिर्नुपर्थ्यो । घरबेटीले पाहुनालाई हकारेपछि घरबेटीसँग झगडा भयो, यसपछि उनले दुई हप्ताअघि घर खाली गरेका छन् । दुई वर्षअघि नरेफाँट बस्दै आएका अजित मिश्रलाई पनि घरबेटीले एक हप्ताभित्र कोठा खाली गर्न भनेपछि उपयुक्त ठाउँमा कोठा नपाए पनि सर्नुपर्‍यो । ‘नयाँ भाडावाल आउने र मान्छे नभएर कार्यालय राख्ने भनेपछि मसँगैका अर्कालाई पनि कोठा खाली गर्न भने,’ मिश्रले भने, ‘दुवै जनाले खोज्दै गयौं । समयमा नगए निकाल्छौं भनेर धम्की दिएपछि निस्किनैपर्‍यो ।’

कुनै कारण नै नदिई नयाँ भाडावाल आउने भनेर बसिरहेका बहालवाललाई निकाल्दा केही दिन उनले गर्दै आएको कामकाज नै प्रभावित भयो । बिदा लिएर कोठा खोज्न भौंतारिएको उनी बताउँछन् । तर खोजेको जस्तो सुविधायुक्त कोठा नपाए पनि उनी सर्नुपर्‍यो ।

घरबेटीसँग विभिन्न बहानामा झगडा हुँदा वा घरबेटीले चाहेअनुरूप घर छोड्नुपर्ने हुँदा उपत्यकाका भाडावाल समस्यामा छन् । घरबेटीले मनलाग्दी व्यवहार गर्ने, चित्त बुझे राख्ने, नत्र कोठा खाली गर्न लगाउने प्रवृत्तिले भाडावाललाई कठिनाइ भइहरेको छ । बखुण्डोल बस्दै आएका निशान्त पन्त घरबेटीसँगको सम्झौतापत्रमा बहालवालालाई निकै दायित्व दिइएको र घरबेटीको जिम्मेवारी भने उल्लेख नभएको बताउँछन् ।

बहालवाला तल पर्ने गरी विभिन्न बुँदा उल्लेख रहेको उनको भनाइ छ । ‘घरमा हल्ला गर्न नपाइने, भाडा बेलामा दिनुपर्ने, बिजुली र फोहोरबापत अतिरिक्त रकम तिर्नुपर्ने, घरमा केही तोडफोड भए क्षतिपूर्ति तिर्नुपर्नेजस्ता कुरा छन् । तर हामीलाई के के सुविधा हुन्छ वा घरबेटीले के कस्ता दायित्व बहन गर्नुपर्ने सम्झौतापत्रमा केही छैन,’ पन्तले भने ।

सरकारले यस विषयमा यथाशीघ्र नियम कानुन बनाउनुपर्ने सरोकारवाला बताउँछन् । उपत्यकाका न्यायिक समितिमा यी विषयबारे उजुरी परे पनि सम्झौतापत्र नहुनु समस्या रहेको समिति प्रमुखहरूको अनुभव छ । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना भन्छन्, ‘बहालमा बस्नेलाई समेट्ने किसिमको कानुन हामीसँग छैन । करार ऐनअनुसार गर्न सकिए पनि त्यो व्यावसायिक रूपमा घर भाडामा लिनेहरूले मात्र गर्छन् ।’ स्थानीय तहले यस विषयमा कडाइका साथ भएका नियमकानुन पनि पालना गरे भाडावाल समस्यामा नपर्ने उनको भनाइ छ ।

‘नक्सापास, निर्माण सम्पन्न प्रमाणपत्र दिने बेलामा र पछि पनि जुन प्रयोजनका लागि घर निर्माण भएको हो त्यहीअनुसार प्रयोग भए नभएको हेर्नुपर्छ,’ उनले थपे, ‘यहाँ आफू बस्न बनाएको घरमा भाडा दिने तर त्यसअनुसारको सेवासुविधा नदिने चलन छ ।’ नक्सामा भवनमा अन्डरग्राउन्ड पार्किङ राखेर त्यसमा शुल्क लिने, परिवारलाई वा व्यक्तिलाई भाडामा दिँदा सम्झौता नगर्ने, मनपरी भाडा बढाउने, बढी भाडा दिने आए बसिरहेकालाई निकाल्ने जस्ता प्रवृत्तिले उपत्यकामा भाडामा बस्ने पीडित रहेको उनको भनाइ छ ।

घर भाडा खोज्दिने भन्दै ठगी
अहिले अधिकांश समस्याको समाधान इन्टरनेटबाट हुन थालेको छ । सामाजिक सञ्जालको प्रयोग गर्दै खाली घर खोज्नेदेखि घरजग्गा खरिदबिक्रीसम्म हुँदै आएको छ । यसले दैनिक जनजीवनदेखि यस्ता कार्य सहज हुने गरेको छ । तर सामाजिक सञ्जालमार्फत घरभाडा खोज्दासमेत ‘बिचौलिया’ ले फाइदा लिने गरेका छन् ।

उनीहरूले अग्रिम भुक्तानी, कुरा मिलाइदिएबापत् अतिरिक्त शुल्क, शुल्क लिए पनि भनेजस्तो कोठा उपलब्ध नगराइदिने, पैसा लिएर गायब भइदिनेजस्ता घटना भइरहेका छन् । गत पुस अन्तिम साता एक युवतीले ‘रुम एन्ड फ्ल्याट अन रेन्ट इन काठमाडौं’ नामक फेसबुक पेजमा कोठा खाली रहेको विज्ञापन देखिन् । बानेश्वरमा ६ हजार र १४ हजार रूपैयाँ मासिक बहाल तिर्नेगरी, एट्याच बाथरुम र भान्सा भएको कोठा खाली रहेको जानकारी थियो ।

‘मैले सुरुमा म्यासेज गरेँ, भनेको नम्बरमा फोन गरेँ । कोठा देखाइदिने भन्दा एकछिनमा आउँछु भन्दै ती मान्छे पन्छिरहे । पछि त नम्बर नै ब्लक गरेछन्, अफ गरेर राखे,’ उनले भनिन् । मुख्य समस्या के भयो भने, उनले सुरुमै ती मान्छेले भनेअनुसार ईसेवाबाट अग्रिम भुक्तानी गरेसकेकी थिइन् ।

उनी भन्छिन्, ‘शीतल थापाका नाममा १५ सय रुपैयाँ पठाइदिएकी थिएँ । त्यसपछि पनि कुराए । अन्त्यमा भेट भएन ।’ यो कुराको जानकारी उनले ट्वीटरमा नेपाल पुलिस एजक्यू नामक नेपाल प्रहरीको ह्यान्डलमा म्यासेज गरिन् । घटनाबारे जानकारीका साथै नम्बर, पैसा पठाएको स्क्रिनस्ट सबै पठाए पनि प्रहरीले कार्यालयमै आएर निवेदन दिनुपर्ने बताएपछि कार्य व्यस्तताका कारण जान नसकेको उनले बताइन् । केही दिनपछि उनी फेरि अर्को ठगीमा परिन् । फेसबुक पेजमै खाली कोठा रहेको जानकारी पाइन् । ती मान्छेले कोठा देखाइदिने भनेपछि भेट्न गइन् । तर पहिले ५ सय रुपैयाँको फारम भर्नुपर्ने बताए ।

‘फारम भरेँ । तर खोजेको जस्तो कोठा नै देखाएनन् । शंखमूलमा एउटा कोठा वर्षामा आहाल बस्नेझैं डुब्ने रहेछ । अर्को कोठा देखायो घरमा माछा मासु नपकाउनुपर्ने, रात नपर्दै कोठा पुग्नुपर्ने खालको रहेछ,’ उनले भनिन् । पैसा फिर्ता नपाए पनि अन्त्यमा ढिलै भए पनि आफैंले कोठा खोजिन् र जडिबुटीमा बसिरहेकी छन् ।

प्रकाशित : जेष्ठ २९, २०७६ १०:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

घर भत्काइए, सडक बनेन

सडक कालोपत्रे, पदैलमार्ग र पर्खाल लगाउने जिम्मा पाएका चार ठेकेदार कम्पनी सम्पर्कविहीन
प्रशान्त माली

ललितपुर — उपत्यकाका अधिकांश सडक क्षेत्रमा कालोपत्रे गर्न नसक्नुका विभिन्न कारणमा समयमा विद्युत् पोल नसार्नु र ढल बनाउन नसक्नु पर्छन्  । तर, काभ्रेको बीपी राजमार्ग जोड्ने सडक खण्डअन्तर्गत ललितपुरको इमाडोलमा भने यस्तो समस्या छैन  ।

यहाँ विद्युत् पोल मात्र नभई घरहरूसमेत भत्काइसकेका छन् । तैपनि वर्षौंदेखि सडक अलपत्र छ । तीन महिनाअघि स्थानीयले धेरै विरोध जनाएपछि ठेकेदारले कालोपत्रे गर्ने भन्दै सडकमा ग्राबेल खन्यायो । तर, काम नगर्दा अहिले त्यही ग्राबेलको धुवाँधुलोले सडकवरिपरि बस्न सक्ने अवस्था छैन ।

रौटहतका ४५ वर्षीय विनोद महतो र उनकी श्रीमती गीतादेवीको दैनिकी यही धुवाँधुलोमा बिहान ७ बजेबाट सुरु हुन्छ । सडक छेउको कोठा भाडामा लिएर उनीहरूले ५ वर्षअघि फलफूल पसल थापेका थिए । सडकमा हालिने पानी सुकेपछि अत्यधिक धुवाँधुलो हुने गरेको गीतादेवी बताउँछिन् । माक्स लगाएर बसेको अवस्थामा भेटिएका उनी भन्छिन्, ‘पसलमा झाडु लगाउँदैमा दिन बित्छ । धुलो उठाउने गाडी मासिक एक पटक मात्र आउँछ ।’

उनले धुवाँधुलोले पसलको व्यापार घटेको मात्र नभई दुर्घटना पनि बढ्न थालेको सुनाउँछिन् । ‘३ वर्षयता कहिल्यै पनि घाँटी सन्चो भएन,’ उनले भनिन्, ‘धुवाँले फलफूल र सागसब्जी बिक्री हुन छोडेको छ ।’ सडकमा पानीपुरी पसल थाप्ने श्याम यादवको भनाइ पनि उस्तै छ । ‘सुरुमा पसल थाप्दा गाडीबाट ओर्लेरसमेत पानीपुरी खाएर जाने थुप्रो हुन्थे,’ उनले भने, ‘अहिले अत्यधिक धुवाँधुलोले गर्दा बटुवाले समेत खान छोडेका छन् ।’ यी दुई प्रतिनिधि पात्र मात्र हुन् ।

उनीहरूजस्तै इमाडोल सडक धुवाँधुलोका कारण मर्कामा पर्ने थुप्रो छन् । इमाडोलदेखि ३.२६ किमि सडक कालोपत्रे गर्ने डाँफे र समानान्तर जेभीले २०७५ असार २६ भित्र सम्पन्न गर्ने गरी २०७३ जेठमा २७ करोड २ लाख ८८ हजार रुपैयाँ भ्याटसहित ठेक्का पाएका थिए । ठेकेदारको थपिएको म्याद पनि २०७६ जेठ २९ बुधबार सकिँदै छ ।

सिद्धिपुर गोदावरी खोला–लुभु–लामाटार सडक कालोपत्रे गर्न आशिष/सीएम/ड्रागन जेभीले २०७४ पुसमा सम्पन्न गर्ने गरी २०७४ असारमा १० करोड ८७ लाख ८ हजार र लामा/समानान्तर जेभीले २०७६ पुसमा सम्पन्न गर्ने गरी २०७४ मा ५१ करोड ८३ लाख १६ हजार रुपैयाँ भ्याटसहित ठेक्का पाएका थिए।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख अर्जुन अर्यालले घर भत्काएका ८ वटाको क्षतिपूर्ति दिन बाँकी भएकाले ढिलाइ भएको बताए । ‘आज ३ वटा घरको क्षतिपूर्ति दिइयो,’ उनले भने, ‘क्षतिपूर्ति दिन एक जना इन्जिनियर फिल्डमा दैनिक खटिरहेका छन् ।’

ठेकेदारको मनोमानी बढ्यो
ऐनमा समयमा सडक निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कडा जरिवानाको व्यवस्था छैन । यसले गर्दा म्याद नाघेको २ वर्ष बितिसक्दा पनि अझै काम सुरु नगर्ने ठेकेदारहरूको संख्या बढ्न थालेको डिभिजन सडक कार्यालयले बताएको छ ।

सार्वजनिक खरिद ऐनको दफा १२१ मा ठेकेदार कम्पनीले सम्झौतामा तोकिएको म्यादमा काम नगरेमा म्याद सकिएको मितिदेखि प्रतिदिन सम्झौता रकमको ०.०५ (शून्य दशमलब शून्य पाँच) प्रतिशतका दरले अधिकतम २ सय दिनसम्म मात्र क्षतिपूर्ति तिराउन सकिने व्यवस्था छ । म्याद सकिएको ५/६ वर्षपछि काम सुरु गरे तापनि त्यही २ सय दिन बराबरको मात्र क्षतिपूर्ति तिरे पुग्छ ।

डिभिजन सडक कार्यालय इन्जिनियरहरूका अनुसार ऐनमा कडा जरिवानाको व्यवस्था नभएसम्म ठेक्कापट्टाको काम समयमा सम्पन्न हुँदैन । कार्यालयका इन्जिनियर सुजना कँडेलले भनिन्, ‘ऐनमा कडा जरिवानाको व्यवस्था गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पटकपटक भन्दा पनि चासो दिएको छैन । प्राविधिकहरूले मार खेप्नुपरेको छ ।’

डिभिजन सडक कार्यालयका अनुसार ०७१ चैतभित्रमा सम्पन्न गर्ने गरी पाएका २५ ससाना सडकको निर्माणको ठेक्कापट्टाको काम अझै सम्बन्धित ठेकेदार कम्पनीले सम्पन्न गरेका छैनन् । सडक कालोपत्रे, पदैलमार्ग र पर्खाल लगाउने जिम्मा पाएका चार ठेकेदार कम्पनी सम्पर्कविहीन छन् ।

प्रकाशित : जेष्ठ २९, २०७६ ०९:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT