कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्मारक क्षेत्रमा बाँसको टहराका स्कुल

भक्तपुर — भक्तपुर दरबार क्षेत्रको विद्यार्थी निकेतन माविको भवन २०७२ वैशाखको भूकम्पले चिरा परेको थियो । अहिले पनि उस्तै छ । प्राविधिकले असुरक्षित भन्दै रातो स्टिकर टाँसेको भवनमा विद्यालय प्रशासन, लेखा, कम्प्युटर ल्याबलगायत कार्य सञ्चालनमा छन् ।

बालबालिका बाँसको अस्थायी टहरामा पढ्न बाध्य छन् । विभिन्न संघसंस्थाले बनाइदिएको बाँसको टहरासमेत जीर्ण बनिसकेको छ । ‘बाँसको अस्थायी टहरा भत्काउनुपर्ने अवस्थामा पुगेको छ, पुरानो क्षतिग्रस्त भवनमा पानी चुहिन्छ, दुईपल्ट त्रिपाल फेरिसक्यौं,’ विद्यालयकी प्रधानाध्यापक सर्जनी जोशीले भनिन्, ‘विद्यालय पुनर्निर्माण अनिश्चितजस्तै छ ।’ २००४ मा स्थापित विद्यालय पुनर्निर्माणका नगरपालिकामा नक्सा पेस गरेको तर, अझै दर्ता नभएको विद्यालय प्रशासनको भनाइ छ ।


विश्व सम्पदा क्षेत्रभित्र पर्ने उक्त विद्यालय भवन पुरानै शैली चुनासुर्कीको प्रयोग गरी पुनर्निर्माण गर्ने भक्तपुर नगरपालिकाको अडान छ भने, प्राधिकरण बाहिरी स्वरूप मौलिक शैलीमा बने पनि भित्री पाटो बलियो बनाउन सिमेन्ट डन्डीकै प्रयोग गर्नुपर्ने बताउँदै आएको छ ।


क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि जिल्ला आयोजना कार्यान्वयन एकाई शिक्षा (डीएलपीआईयू) ले पनि नगरपालिकाकै सल्लाहअनुसार नक्सा तयार गरे पनि सिमेन्ट, डन्डीको प्रयोग गर्ने नगर्ने विषयमा अन्योल भएपछि पुनर्निर्माण थप अलमलमा परेको छ ।


ऐतिहासिक ९९ चोकभित्र पर्ने विद्यार्थी निकेतनको भवन निर्माणमा नगरपालिका, वडा कार्यालयले ठोस निर्णय दिन नसकेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमचरण अमात्य बताउँछन् । ‘जोखिमपूर्ण अवस्थामा विद्यालय सञ्चालन भइरहेको छ, जुनसुकै बेला भवन लड्न सक्छ,’ उनले भने, ‘करिब साढे ४ सय विद्यार्थी अध्ययनरत विद्यालयको पुनर्निर्माण अन्योलमा पर्नुभएन ।’ एडीबीको सहयोगमा तीन वर्षअघि नै बन्ने विद्यालय नगरपालिका र डीएलपीआईयूको सहमति हुन नसक्दा थप अलमल भएको उनी बताउँछन् ।


त्यस्तै, दरबार क्षेत्रकै शारदा माविको अवस्था पनि उस्तै छ । भूकम्पका कारण क्षतिग्रस्त तीनतले भवनको दुई तला भत्काएको रातो स्टिकर टाँसेको भवनमा प्रशासन, पुस्तकालय, कम्प्युटर ल्याब, लेखा, प्रशासन सञ्चालनमा छन् । भवन अभावका कारण नर्सरी कक्षासमेत क्षतिग्रस्त रातो स्टिकर टाँसेकै भवनमा सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक रोशनराज तुइतुईले बताए ।

भूकम्पपछि दाताको सहयोगमा निर्मित अस्थायी टहरामा अध्यापन गराउँदै आएको उनले बताए । २००९ मा स्थापित विद्यालय पुनर्निर्माणका लागि नगरपालिकामा नक्सापास प्रक्रिया थालेको जनाएको छ । भूकम्प गएको ४ वर्ष कटदासम्म पनि क्षतिग्रस्त विद्यालय पुनर्निर्माणको टुंगो नलागेको श्रीपद्म माविका प्रधानाध्यापक राम हाडा बताउँछन् । सरकारले श्रीपद्म माविलाई नमुना विद्यालयमा समेत छनोट गरेको छ । १९८१ मा स्थापित श्रीपद्म माविको राणाकालीन भवन क्षतिग्रस्त छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?