रञ्जना लिपि अब डिजिटल

गणेश राई

काठमाडौँ — खुसिबु टोल बस्छिन्, रीतिका महर्जन । एसईई दिएर बसेकी उनले खाली समयमा रञ्जना लिपि सिकिन् । अहिले नाम लेख्न जान्ने भएकी छन् । त्यत्तिले पनि उनलाई दंग पारेको छ । रीतिका मात्र होइन, एसईई दिएर बसेका भूमिका महर्जन, अरहत तुलाधर, राबिया तन्डुकार, क्रिस्टा महर्जन, अविरल मानव श्रेष्ठ पनि यो लिपि सिक्दै छन् ।

‘नयाँ विषय सिक्न पाएकोमा गर्व लागेको छ,’ रीतिका भन्छिन्, ‘ऐतिहासिक कुरा एक महिनामै जान्न पाएकी छु ।’ उनीहरूले रञ्जनासँगै नेपाल लिपि पनि सिक्दै छन् ।

सबैले सिक्ने एउटै ठाउँ हो, काठमाडौं महानगरपालिका २७ तलाछें ज्याठाटोलस्थित नेपाल लिपि गुठीको भवनको भुइँतला । ‘सबैभन्दा गाह्रो रञ्जना लिपि हो । अहिले आधारभूत लेखाइ सिक्यौं,’ अरहतले भने ।

गुठीले युवा र वयस्कलाई लक्ष्य गरी हरेक साँझ दुई समूहलाई यी दुई लिपि सिकाउँदै आएको छ । चार दशकदेखि । अहिले पहिलो समूहमा २६ जना र दोस्रोमा २२ जनाले यी लिपि सिकिरहेका छन् । त्यसमा किशोरकिशोरीदेखि वृद्धवृद्धासम्म छन् । इतिहास अध्ययन गरिरहेका ५८ वर्षीय राजेश्वरलाल अमात्यले पनि यी लिपि सिक्दै छन् । ‘इतिहास अध्ययन गर्दा शिलालेख रञ्जना लिपिमा छन्,’ उनले भने, ‘त्यसैले यी लिपि सिक्न थालेको हुँ ।’

उनीहरूलाई पढाउँछन्, बिक्की वज्राचार्यले । सिकाइने सबै विषयमा उनले नेपाल भाषामै व्याख्या विश्लेषण गर्दै आएका छन् । ‘अन्य लिपिको तुलनामा रञ्जना लिपि फरक छ,’ डेढ दशकदेखि लिपि प्रशिक्षणमा संलग्न उनी भन्छन्, ‘यो लिपि बुझाउन समय लाग्छ । देवनागरीमा जस्तो तेर्सो नभई माथिबाट तल गाँस्दै लेखिन्छ । कलात्मक सीप नहुनेका अक्षरमा सौन्दर्य झल्किँदैन ।’

समयसमयमा गुठीका अध्यक्ष निरन्जनमान ताम्राकारले पनि प्रशिक्षार्थीको लेखन कला सुधार्न सिकाउँदै आएका छन् । विशेषगरी नेवारी लेखनमा प्रयोग हुँदै आएको यो लिपि अब ‘डिजिटल ल्याङवेज ल्याब’ मा राखिने भएको छ । त्यसका लागि नेपाल लिपि गुठीले प्रक्रिया अघि बढाएको हो । काठमाडौं महानगरपालिका, प्रदेश ३ का सांसदलगायतले यसमा सघाइरहेका छन् । लिपिको प्रचारप्रसार एवम् विस्तारका लागि लिपि विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पनि हुँदै छ ।

नेपालभाषा लेखन प्रयोगमा रहेका रञ्जनाबाहेक लिपिका युनिकोड निर्माण भइसकेका छन् । ‘रञ्जना लिपिको विशेषतालाई भाषावैज्ञानिक ढंगले केलाएर संसारको जुनसुकै कुनामा बसेका सर्वसाधारणले समेत प्रयोग गर्न सक्ने बनाउन चाहेका हौं,’ अध्यक्ष ताम्राकारले भने, ‘आधारभूत भाषा सिकाइसँगै लिपिलाई प्रवर्द्धन गर्न युनिकोड निर्माण, प्रविधिमैत्री बनाएर प्रत्येकको मोबाइल पहुँच विस्तार गर्नेछौं । अडियो, भिजुअलसमेत बन्नेछ ।’

नेवार समुदायमा मातृभाषालाई ‘नेपाल भाषा’ र लिपिलाई ‘नेपाल लिपि’ भनेर चिनाइएको छ । नेपालभाषा लेखनमा १० वटा लिपि प्रयोग गरिएका छन् । नेपाल लिपि (प्रचलित लिपि), भुजिमोल, लितुमोल, कुँमोल, हिंमोल, क्वयँमोल, पाचुमोल, गोलमोल, कुताक्षर चलनचल्तीमा छन् । त्यसमा सबैभन्दा पुरानो रञ्जना लिपि हो । यही लिपिमा बुद्धधर्मको महायान, वज्रयानसित सम्बन्धित ऐतिहासिक ग्रन्थ लेखिएका छन् ।

चीनको ल्हासा, ग्रेटवाललगायत गुम्बामा रञ्जना लिपि खोपिएको पाइन्छ । १०औं शताब्दमा यो लिपिको विकास भएको इतिहासविद् काशीनाथ तमोटको भनाइ छ । पछिल्लो समय रञ्जना लिपि सिक्नेहरू बढदै गएको ताम्राकार बताउँछन् । ‘सबैले चासो देखाएकाले यसको प्याकेजिङमा लागिपरेका छौं,’ उनले भने, ‘युवालाई लक्ष्य गरी इलेक्ट्रोनिक डिजिटाइजेसन गर्ने तयारीमा छौं । त्यसपछि डिजिटल ल्याङवेज ल्याब अनलाइनमा तयार हुनेछ ।’

लिपि भाषा संस्कृति देश, विदेशमा प्रचारप्रसार र प्रवर्द्धनको पहल अघि बढाएको गुठीले जनाएको छ । प्रदेश नं.३ का सांसद राजेश शाक्यले सांसद क्षेत्र विकास कोषबाट लिपि प्रवर्द्धनका निम्ति गुठीलाई ५० लाख रुपैयाँ रकम सहयोग गरेका छन् । ‘रञ्जना लिपि राष्ट्रिय लिपि हो,’ काष्ठमण्डप निर्माण समितिका अध्यक्षसमेत रहेका सांसद शाक्यले भने, ‘यही रञ्जना लिपिको उत्थान गर्न मैले मैले यो रकम उपलब्ध गराएको हो ।’

काठमाडौं महानगरपालिकाले नेपाल लिपि गुठीलाई तीन वर्षदेखि वार्षिक डेढ लाख रुपैयाँ बजेट उपलब्ध गराउँदै आएको छ । गुठीअन्तर्गत दुई अगल अक्षयकोष निर्माण गरिएको छ । यसमा पाँच लाख रुपैयाँ राशिको ‘साहु संघधर तुलाधर नेपाल लिपि कोष’ र चार लाख रुपैयाँको ‘ज्ञानज्योति कंसाकार रञ्जना लिपि कोष’ छ । त्यही कोषको ब्याजबाट वार्षिक गतिविधि गरिँदै आएको छ ।
‘अहिलेसम्म गुठीले भाषा, लिपि र संस्कृतिको प्रवर्द्धनमा स्वयंसेवकको भूमिका निर्वाह गर्दै आएको छ,’ अध्यक्ष ताम्राकार भन्छन्, ‘हामी व्यक्तिव्यक्ति मिली रकम उठाएर लिपि प्रशिक्षण दिँदैआएका छौं ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्मारक क्षेत्रमा बाँसको टहराका स्कुल

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर दरबार क्षेत्रको विद्यार्थी निकेतन माविको भवन २०७२ वैशाखको भूकम्पले चिरा परेको थियो । अहिले पनि उस्तै छ । प्राविधिकले असुरक्षित भन्दै रातो स्टिकर टाँसेको भवनमा विद्यालय प्रशासन, लेखा, कम्प्युटर ल्याबलगायत कार्य सञ्चालनमा छन् ।

बालबालिका बाँसको अस्थायी टहरामा पढ्न बाध्य छन् । विभिन्न संघसंस्थाले बनाइदिएको बाँसको टहरासमेत जीर्ण बनिसकेको छ । ‘बाँसको अस्थायी टहरा भत्काउनुपर्ने अवस्थामा पुगेको छ, पुरानो क्षतिग्रस्त भवनमा पानी चुहिन्छ, दुईपल्ट त्रिपाल फेरिसक्यौं,’ विद्यालयकी प्रधानाध्यापक सर्जनी जोशीले भनिन्, ‘विद्यालय पुनर्निर्माण अनिश्चितजस्तै छ ।’ २००४ मा स्थापित विद्यालय पुनर्निर्माणका नगरपालिकामा नक्सा पेस गरेको तर, अझै दर्ता नभएकोविद्यालय प्रशासनको भनाइ छ ।

विश्व सम्पदा क्षेत्रभित्र पर्ने उक्त विद्यालय भवन पुरानै शैली चुनासुर्कीको प्रयोग गरी पुनर्निर्माण गर्ने भक्तपुर नगरपालिकाको अडान छ भने, प्राधिकरण बाहिरी स्वरूप मौलिक शैलीमा बने पनि भित्री पाटो बलियो बनाउन सिमेन्ट डन्डीकै प्रयोग गर्नुपर्ने बताउँदै आएको छ ।

क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि जिल्ला आयोजना कार्यान्वयन एकाई शिक्षा (डीएलपीआईयू) ले पनि नगरपालिकाकै सल्लाहअनुसार नक्सा तयार गरे पनि सिमेन्ट, डन्डीको प्रयोग गर्ने नगर्ने विषयमा अन्योल भएपछि पुनर्निर्माण थप अलमलमा परेको छ ।

ऐतिहासिक ९९ चोकभित्र पर्ने विद्यार्थी निकेतनको भवन निर्माणमा नगरपालिका, वडा कार्यालयले ठोस निर्णय दिन नसकेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमचरण अमात्य बताउँछन् । ‘जोखिमपूर्ण अवस्थामा विद्यालय सञ्चालन भइरहेको छ, जुनसुकै बेला भवन लड्न सक्छ,’ उनले भने, ‘करिब साढे ४ सय विद्यार्थी अध्ययनरत विद्यालयको पुनर्निर्माण अन्योलमा पर्नुभएन ।’ एडीबीको सहयोगमा तीन वर्षअघि नै बन्ने विद्यालय नगरपालिका र डीएलपीआईयूको सहमति हुन नसक्दा थप अलमलभएको उनी बताउँछन् ।

त्यस्तै, दरबार क्षेत्रकै शारदा माविको अवस्था पनि उस्तै छ । भूकम्पका कारण क्षतिग्रस्त तीनतले भवनको दुई तला भत्काएको रातो स्टिकर टाँसेको भवनमा प्रशासन, पुस्तकालय, कम्प्युटर ल्याब, लेखा, प्रशासन सञ्चालनमा छन् । भवन अभावका कारण नर्सरी कक्षासमेत क्षतिग्रस्त रातो स्टिकर टाँसेकै भवनमा सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक रोशनराज तुइतुईले बताए ।
भूकम्पपछि दाताको सहयोगमा निर्मित अस्थायी टहरामा अध्यापन गराउँदै आएको उनले बताए । २००९ मा स्थापित विद्यालय पुनर्निर्माणका लागि नगरपालिकामा नक्सापास प्रक्रिया थालेको जनाएको छ । भूकम्प गएको ४ वर्ष कटदासम्म पनि क्षतिग्रस्त विद्यालय पुनर्निर्माणको टुंगो नलागेको श्रीपद्म माविका प्रधानाध्यापक राम हाडा बताउँछन् । सरकारले श्रीपद्म माविलाई नमुना विद्यालयमा समेत छनोट गरेको छ । १९८१ मा स्थापित श्रीपद्म माविको राणाकालीन भवन क्षतिग्रस्त छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT