विद्याश्रमको जग्गा घटेको घट्यै

दामोदर न्यौपाने

काठमाडौँ — शिक्षा पाठ्यक्रमले विद्यार्थीलाई खेलकुद अनिवार्य गरेको छ । वेद विद्याश्रमका विद्यार्थीको हकमा भने यो व्यवस्था लागू भएको छैन । केही खुला ठाउँमा बगैंचा छ । अरु ठाउँ मासिँदै आएका छन् । ‘विद्यार्थीलाई खेल्ने ठाउँ नै छैन,’ विद्याश्रमका प्रधानाध्यापक केशव अधिकारी भन्छन्, ‘भएका जग्गा धमाधम मिचिँदै र मासिँदै आएका छन् ।’


वेद विद्याश्रम र काठमाडौं वडा ८ कार्यालयबीच जग्गाको विषयमा झगडा छ । वेद विद्याश्रम वडा कार्यालयलाई जग्गा दिने पक्षमा छैन । वेद विद्याश्रमले नदिने भनेपछि पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले वडा कार्यालयलाई विद्याश्रम कोषअन्तर्गतको निकाय भएकाले जग्गामा भवन बनाउन भनेका छन् । वडा अध्यक्ष दिनेश डंगोलले वेद विद्याश्रम स्थानीय सरकारअन्तर्गतपर्ने भएकाले भवन बनाउन अवरोध गर्नु हुँदैन ।

विद्याश्रमका प्रधानाध्यापक अधिकारीलाई विद्यालयसँगै वडा कार्यालय बन्दाको चिन्ता छ । छात्रावासमै जोडिए बन्ने वडाको भवनले विद्यालयमा हुनुपर्ने शान्तिलाई खल्बल्याउने प्रअ अधिकारीको धारणा छ । वडा कार्यालय राजनीतिक ठाउँ भएकाले कोही बेला झैझगडा पर्दा त्यस बेला विद्यार्थीलाई बाधा पुग्ने अधिकारीको धारणा छ । ‘त्यही भएर यहाँ नभई अन्त बनाउनुस् वडा कार्यालय भनेका हौं,’ अधिकारी भन्छन्, ‘यो ठाउँकोविकल्प पक्कै होला । खोज्नुपर्छ ।’

गुठी संस्थानअन्तर्गत रहेको विद्याश्रम २०४५ सालमा कोषमा आएको थियो । कोषअन्तर्गत आए पनि यसका भौतिक पूर्वाधारमा ध्यान दिएको छैन । वर्षमा १ करोड २५ लाख रुपैयाँ दिन्छ । त्यसैबाट शिक्षकलाई तलब खुवाउनुपर्छ । प्रशासनिक खर्च व्यहोर्नुपर्छ ।
वेद विद्याश्रमको जग्गा खुम्च्याउने क्रम पछिल्लो पटक पशुपति क्षेत्र विकास कोषबाटै भएको छ । कोषले काठमाडौं महानगरपालिका वडा ८ को कार्यालय भवन बनाउने अनुमति दियो । विद्याश्रमलाई जानकारी नै नदिई उत्तर कुनामा गत साता डोजर चलाइयो । डोजर चलाउन सुरु गरेपछि रोक्न शिक्षक गए । वटुक गए । वटुकलाई पन्छाएरै डोजर लगाइयो । जग खनियो । वटुकले विरोध गरिरहे । डोजर चलिरह्यो । बाक्लो सुरक्षाकर्मी तैनाथ गरेर महानगरका मेयर विद्यासुन्दर शाक्यले भवन शिलान्यास गरे ।

डोजर लगाएको केही दिनमा गुठी संस्थानले आफ्नो जग्गा भन्दै भवन निर्माण रोक्न पत्र लेख्यो । गुठीको पत्र पाएपछि वडा कार्यालयले भवन निर्माण रोकेको छ । गुठी संस्थानले महानगरलाई पत्र लेख्दै गुठीको जग्गाको संरक्षण गर्न माग गरेको छ । कित्ता नम्बर १०६ मा २१ रोपनी जमिन गुठीको नाममा भएको दाबी गर्दै संस्थानले पत्र पठाएको हो । सदस्यसचवि ढकाल भने जग्गा कोषले अधिकरण गरिसकेको दाबी गर्छन् । ‘कोषले पशुपति क्षेत्रका सबै जग्गा अधिकरण गरेको छ । सबै कोषको मातहात आएको छ । लालपुर्जा नभएको मात्रै हो । अब लालपुर्जा बन्ने क्रममा छ,’ ढकाल भन्छन्, ‘गुठीलेहाम्रो जग्गा भन्नु हास्यास्पद छ ।’

गुठी संस्थानले भने अधिकरण गरेको जानकारी नभएको जनाएको छ । ‘अधिकरण गरेको भए जानकारी त दिनुपर्ने हो नि,’ गुठी संस्थानका प्रवक्ता सरोज थपलिया भन्छन््, ‘जग्गा धनीलाई नै जानकारी नदिई कसरीअधिकरण हुन्छ ? लालपुर्जा हाम्रो नाममा छ ।’

भवन महानगरकै खर्चमा
पशुपति मन्दिर छेउकै वडा कार्यालय कोषले भत्काइदिएपछि भवनविहीन भएको थियो । २०५८ सालमा यो क्षेत्रबाट बस्ती हटाइयो । यहाँका १ सय १९ घर भत्काइयो । वनकाली क्षेत्रको ९० र तिलगंगा क्षेत्रको ५८ घर भत्काइएका थिए । २०५५ सालमै १० वर्षे योजना बनेको थियो ।

त्यही गुरुयोजनाअन्तर्गत २ सय ६५ हेक्टर जमिन अधिकरण गरिएको थियो । त्यही बेला कोषले नै सर्तमा वडा कार्यालय भत्काइएको थियो । त्यही बेलादेखि कोषअन्तर्गतको अमालकोट कचहरीको भवनका दुई तला प्रयोग गर्न दिएको थियो । ‘म त्यति बेला पनि वडा सदस्य थिएँ,’ वडा अध्यक्ष डंगोल भन्छन्, ‘कोषले भवन बनाइदिएर वडालाई हस्तान्तरण गर्ने सहमति भएको थियो ।’

महानगरले सबै वडा कार्यालय भवन बनाउने योजना बनाएको छ । त्यही योजनाअन्तर्गत वडा ८ मा भवन बनाउन पनि नगर परिषद्ले बजेटछुट्याएको थियो । डंगोलका अनुसार ३ करोड ६५ लाख रुपैयाँ छुट्याएको छ । चारतले भवन नेपाली वास्तुकला झल्कने गरी डिजाइन गरिएको उनले बताए ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीको पालामा त्यस ठाउँमा भवन बनाउने निर्णय भएको थियो । २०७३ माघमा जग्गा दिने निर्णय गर्दा कोषका तत्कालीन सदस्यसचिव गोविन्द टण्डन, कोषका कार्यकारी निर्देशक रमेश उप्रेती, गुठी संस्थानका अध्यक्ष लक्ष्मणलाल ज्ञवालीलगायत सहभागी थिए । त्यही बैठकले बढीमा ४ आना जग्गा दिने निर्णय गरेको थियो ।

हडपिएका जग्गा विद्याश्रमलाई
खासमा यो जग्गा पशुपतिनाथलाई फूल चढाउने बगैँचा हो । बगैँचा तत्कालीन प्रधानपञ्च चन्द्रमान राजभण्डारी, बालान्द वैद्यलगायतले आफ्नो नाममा दर्ता गरे । महास्नान पूजाका लागि परापूर्वकालदेखि नै गुठी राखिएका छन् । मल्ल वंशीय राजा लक्ष्मीनरसिंह मल्लले पनि १६९१ मा १६ रोपनी जमिन गुठी राखिदिएका थिए । देवीदासले पनि १७३२ सालमा गुठी राखेका थिए ।

मल्ल वंशपछि शाहकालमा पनि यसका लागि धेरै गुठी राखिएका थिए । कान्तवतीले महास्नान महाबलि गुठी स्थापना गरिन् विसं. १८५६ मा । अभिलेखअनुसार कान्तिवती क्षयरोगले ग्रस्त थिइन् । यसबाट मुक्तिको कामना गर्दै यो गुठी स्थापना गरिएको थियो । गुठीका लागि गोकर्ण देवपतन र सिन्धुपाल्चोकको फटकशिलामा २२ सय रोपनी जग्गा राखिएको थियो ।

गोकर्ण र देवतपतनमा १६ सय ३३ रोपनी र फटकशिलामा ५ सय ६६ रोपनी जमिन राखिएको थियो । देवपतनको जमिनबाट ८ सय ५१ मुरी धान कुत स्वरूप उठाउने गरिएको थियो । गुठी अमानत हुनुभन्दा अगाडि तीन जना गुठियारले असुल तहसिल गर्थे । पछि तिनै गुठियारले जग्गा हडपेका थिए । २०२१ सालमा नापी हुँदा आफ्नो नाममा पारेका थिए । त्यही जग्गा खोसेर तत्कालीन राजा महेन्द्र साहले वेद विद्याश्रमलाई जग्गा दिएका थिए । वेद विद्याश्रम बनाउनमहेन्द्रले वडागुरुज्यू नै खटाएका थिए ।

जग्गा घटेकोघट्यै
२०२६ सालमा निर्माण सुरु भएर २०३१ सालमा सम्पन्न भएको हो विद्याश्रम । प्रधानाध्यापक अधिकारीका अनुसार सुरु हुने बेलामा विद्याश्रमको जग्गा ४९ रोपनी थियो । ४९ रोपनीबाट खुम्चिएर अहिले २१ रोपनीमा झरेको छ । २१ रोपनीमध्येबाट पनि वडा कार्यालयलाई ८ आना दिन लागेको छ । कति जग्गा वडालाई दिन लागेको हो, आफूलाई जानकारी नै नदिएको अधिकारी बताउँछन् ।

जग्गा कति दिएको भन्नेमा कोषका सदस्यसचिव ढकाल र वडा अध्यक्ष डंगोलको भनाइ बाझिएको छ । सदस्यसचिव ढकालले कान्तिपुरसँग ४ आना मात्रै दिन लागेको बताएका थिए । ‘मैले दिन लागेको होइन,’ ढकालले भने, ‘पहिलाकै परिषदले ४ आना दिने निर्णय गरेको रहेछ । मैले त्यही कार्यान्वयन गर्न लागेको मात्र हुँ ।’ डंगोल भने ८ आना दिन कोष सहमत भएको बताउँछन् । ‘पहिला हाम्रो भवन ५ आनामा बनेको थियो,’ डंगोल भन्छन्, ‘अहिले चार आनाले पुग्दैन भनेर आठ आना मागेका छौं ।

कोष दिन तयार भएको छ ।’ विद्याश्रमले पनि कति जग्गा दिएको र अब कति दिँदै जाने हो भनेर आफूहरूलाई अन्योल भएको बताउँछन् । वेद विद्याश्रमकै जग्गामा बसेको हो कोषको कार्यालय । विद्याश्रमको दक्षिणमा आएर २०४३ सालमा बस्यो कोष । कोषकै जग्गामा बस्यो गौशला प्रहरी । कोष बसेको ठाउँमा विद्यार्थीका लागि स्वास्थ्य चौकीकै व्यवस्था गरिएको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रञ्जना लिपि अब डिजिटल

गणेश राई

काठमाडौँ — खुसिबु टोल बस्छिन्, रीतिका महर्जन । एसईई दिएर बसेकी उनले खाली समयमा रञ्जना लिपि सिकिन् । अहिले नाम लेख्न जान्ने भएकी छन् । त्यत्तिले पनि उनलाई दंग पारेको छ । रीतिका मात्र होइन, एसईई दिएर बसेका भूमिका महर्जन, अरहत तुलाधर, राबिया तन्डुकार, क्रिस्टा महर्जन, अविरल मानव श्रेष्ठ पनि यो लिपि सिक्दै छन् ।

काठमाडौं महानगरपालिका २७ तलाछें ज्याठाटोलस्थित नेपाल लिपि गुठीको भवनमा रञ्जना लिपि सिक्दै प्रशिक्षार्थी । तस्बिर : बिजु महर्जन/कान्तिपुर

‘नयाँ विषय सिक्न पाएकोमा गर्व लागेको छ,’ रीतिका भन्छिन्, ‘ऐतिहासिक कुरा एक महिनामै जान्न पाएकी छु ।’ उनीहरूले रञ्जनासँगै नेपाल लिपि पनि सिक्दै छन् ।

सबैले सिक्ने एउटै ठाउँ हो, काठमाडौं महानगरपालिका २७ तलाछें ज्याठाटोलस्थित नेपाल लिपि गुठीको भवनको भुइँतला । ‘सबैभन्दा गाह्रो रञ्जना लिपि हो । अहिले आधारभूत लेखाइ सिक्यौं,’ अरहतले भने ।

गुठीले युवा र वयस्कलाई लक्ष्य गरी हरेक साँझ दुई समूहलाई यी दुई लिपि सिकाउँदै आएको छ । चार दशकदेखि । अहिले पहिलो समूहमा २६ जना र दोस्रोमा २२ जनाले यी लिपि सिकिरहेका छन् । त्यसमा किशोरकिशोरीदेखि वृद्धवृद्धासम्म छन् । इतिहास अध्ययन गरिरहेका ५८ वर्षीय राजेश्वरलाल अमात्यले पनि यी लिपि सिक्दै छन् । ‘इतिहास अध्ययन गर्दा शिलालेख रञ्जना लिपिमा छन्,’ उनले भने, ‘त्यसैले यी लिपि सिक्न थालेको हुँ ।’

उनीहरूलाई पढाउँछन्, बिक्की वज्राचार्यले । सिकाइने सबै विषयमा उनले नेपाल भाषामै व्याख्या विश्लेषण गर्दै आएका छन् । ‘अन्य लिपिको तुलनामा रञ्जना लिपि फरक छ,’ डेढ दशकदेखि लिपि प्रशिक्षणमा संलग्न उनी भन्छन्, ‘यो लिपि बुझाउन समय लाग्छ । देवनागरीमा जस्तो तेर्सो नभई माथिबाट तल गाँस्दै लेखिन्छ । कलात्मक सीप नहुनेका अक्षरमा सौन्दर्य झल्किँदैन ।’

समयसमयमा गुठीका अध्यक्ष निरन्जनमान ताम्राकारले पनि प्रशिक्षार्थीको लेखन कला सुधार्न सिकाउँदै आएका छन् । विशेषगरी नेवारी लेखनमा प्रयोग हुँदै आएको यो लिपि अब ‘डिजिटल ल्याङवेज ल्याब’ मा राखिने भएको छ । त्यसका लागि नेपाल लिपि गुठीले प्रक्रिया अघि बढाएको हो । काठमाडौं महानगरपालिका, प्रदेश ३ का सांसदलगायतले यसमा सघाइरहेका छन् । लिपिको प्रचारप्रसार एवम् विस्तारका लागि लिपि विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पनि हुँदै छ ।

नेपालभाषा लेखन प्रयोगमा रहेका रञ्जनाबाहेक लिपिका युनिकोड निर्माण भइसकेका छन् । ‘रञ्जना लिपिको विशेषतालाई भाषावैज्ञानिक ढंगले केलाएर संसारको जुनसुकै कुनामा बसेका सर्वसाधारणले समेत प्रयोग गर्न सक्ने बनाउन चाहेका हौं,’ अध्यक्ष ताम्राकारले भने, ‘आधारभूत भाषा सिकाइसँगै लिपिलाई प्रवर्द्धन गर्न युनिकोड निर्माण, प्रविधिमैत्री बनाएर प्रत्येकको मोबाइल पहुँच विस्तार गर्नेछौं । अडियो, भिजुअलसमेत बन्नेछ ।’

नेवार समुदायमा मातृभाषालाई ‘नेपाल भाषा’ र लिपिलाई ‘नेपाल लिपि’ भनेर चिनाइएको छ । नेपालभाषा लेखनमा १० वटा लिपि प्रयोग गरिएका छन् । नेपाल लिपि (प्रचलित लिपि), भुजिमोल, लितुमोल, कुँमोल, हिंमोल, क्वयँमोल, पाचुमोल, गोलमोल, कुताक्षर चलनचल्तीमा छन् । त्यसमा सबैभन्दा पुरानो रञ्जना लिपि हो । यही लिपिमा बुद्धधर्मको महायान, वज्रयानसित सम्बन्धित ऐतिहासिक ग्रन्थ लेखिएका छन् ।

चीनको ल्हासा, ग्रेटवाललगायत गुम्बामा रञ्जना लिपि खोपिएको पाइन्छ । १०औं शताब्दमा यो लिपिको विकास भएको इतिहासविद् काशीनाथ तमोटको भनाइ छ । पछिल्लो समय रञ्जना लिपि सिक्नेहरू बढदै गएको ताम्राकार बताउँछन् । ‘सबैले चासो देखाएकाले यसको प्याकेजिङमा लागिपरेका छौं,’ उनले भने, ‘युवालाई लक्ष्य गरी इलेक्ट्रोनिक डिजिटाइजेसन गर्ने तयारीमा छौं । त्यसपछि डिजिटल ल्याङवेज ल्याब अनलाइनमा तयार हुनेछ ।’

लिपि भाषा संस्कृति देश, विदेशमा प्रचारप्रसार र प्रवर्द्धनको पहल अघि बढाएको गुठीले जनाएको छ । प्रदेश नं.३ का सांसद राजेश शाक्यले सांसद क्षेत्र विकास कोषबाट लिपि प्रवर्द्धनका निम्ति गुठीलाई ५० लाख रुपैयाँ रकम सहयोग गरेका छन् । ‘रञ्जना लिपि राष्ट्रिय लिपि हो,’ काष्ठमण्डप निर्माण समितिका अध्यक्षसमेत रहेका सांसद शाक्यले भने, ‘यही रञ्जना लिपिको उत्थान गर्न मैले मैले यो रकम उपलब्ध गराएको हो ।’

काठमाडौं महानगरपालिकाले नेपाल लिपि गुठीलाई तीन वर्षदेखि वार्षिक डेढ लाख रुपैयाँ बजेट उपलब्ध गराउँदै आएको छ । गुठीअन्तर्गत दुई अगल अक्षयकोष निर्माण गरिएको छ । यसमा पाँच लाख रुपैयाँ राशिको ‘साहु संघधर तुलाधर नेपाल लिपि कोष’ र चार लाख रुपैयाँको ‘ज्ञानज्योति कंसाकार रञ्जना लिपि कोष’ छ । त्यही कोषको ब्याजबाट वार्षिक गतिविधि गरिँदै आएको छ ।
‘अहिलेसम्म गुठीले भाषा, लिपि र संस्कृतिको प्रवर्द्धनमा स्वयंसेवकको भूमिका निर्वाह गर्दै आएको छ,’ अध्यक्ष ताम्राकार भन्छन्, ‘हामी व्यक्तिव्यक्ति मिली रकम उठाएर लिपि प्रशिक्षण दिँदैआएका छौं ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT