३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

शरीर आफ्नो, रगत अरूको

फातिमा बानु

काठमाडौँ — बजारमा रगत अभाव भयो भन्ने हल्ला सुन्दा दीपा केसीलाई चिन्ता लाग्छ । उनको जीवन बजारमा पाइने रगतको भरमा चलेको छ । २२ वर्षीया उनी जन्मजात रगत उत्पादन गर्न नसक्ने रोग थालेसिमियाले ग्रस्त छिन् । 

सातामा दुईपटकसम्म रगत चढाउन सकिएन भने उनको जीवन खतरामा पर्छ । उनका हातमा रगत चढाउनका लागि घोचिएका सुईका दाग जताततै छन् ।


रगत चढाउन एक दिन ढिला भयो भने शरीरमा विभिन्न समस्या देखा पर्छन् । ‘शरीर सेतोफुस्रो देखिन्छ, जीउ भारी हुन्छ, कमजोरीले ओछ्यानबाट उठ्ने हिम्मत हुँदैन,’ उनी भन्छिन्, ‘धेरै दिन रगत पाइएन भने सास फेर्न गाह्रो हुन्छ ।’ रगत अभावकै कारण खाना नरुच्ने, बान्ता हुने समस्या त उनले दिनहुँ भोग्दै आएकी छन् ।


कहिलेकाहीँ रगत हाल्दा पनि उस्तै समस्या हुन्छ । उनका अनुसार रगत चढाएको दिन शरीर चिलाउने, राताराता डाबर आउने हुन्छ । अरूको रगत चढाएकै कारण शरीरमा फलामको मात्रा बढछ । त्यसलाई रोक्न अर्को उपाय अपनाउनुपर्छ । रगत जुटाउन र फलाम तत्त्व फाल्ने औषधि जोहो गर्न झनै मुस्किल पर्ने उनी बताउँछिन् ।


‘सँगै पढ्ने, खेल्ने साथीको जीवन सामान्य छ, मेरो किन यस्तो ?’ उनको मनमा प्रश्न उब्जिरहन्छ । निराश मात्रै भएर जीवन चल्दैन भन्ने उनलाई थाहा छ । थालेसिमियाका अन्य बिरामी भेटदा उनलाई आफनो दुःख कम लाग्छ । भन्छिन्, ‘यो रोग लागेका कति मान्छे अहिले पनि भाग्यलाई दोष दिएर उपचार गर्दैनन् । पूर्वजन्मको पाप, देउताको श्राप सम्झेर धामी झाँक्रीको पछि लागेका छन् ।’


उनको ठूलो सपना छैन । सपना केवल आफनालागि आफैं औषधि जुटाउन सक्ने बन्ने छ । औषधिकै लागि मासिक ५ देखि २० हजारसम्म खर्च गर्नुपरेको उनी बताउँछिन् । औषधि किन्न पुग्ने मात्रै कमाइ गर्न पाए जीवनमा अरु केही चाहिँदैन थियो जस्तो लाग्छ उनलाई । कति बिरामी औषधि किन्न नसकेकै कारण महिनौंसम्म रगत नचढाई बसेको देख्दा उनलार्ई त्यस्ता बिरामीको हकहितमा काम गर्ने रहर पनि छ ।


‘कसैको रगत शरीरमा चढाउनु भनेको त्यो व्यक्तिको रोग पनि लिनु हो,’ उनले भनिन्, ‘रगत परीक्षण सुरक्षित र व्यवस्थित हुन नसक्दा कहिलेकाहीँ रोगका किटाणु पनि सँगै चढछन् ।’ यस्तै समस्याबाट पीडित भइन् थालेसिमिक एलिना बज्राचार्य । रगत चढाउने क्रममा उनलाई हेपटाइटिस सी संक्रमण सर्‍यो ।


एकपटक घटेको यस्तो घटनाले उनलाई रगत लिने हरेक दिन तर्साउँछ । त्यतिबेलाको संक्रमणले उनलाई लामो समय दुःख दियो । उनी भन्छिन्, ‘जन्मजात कहिल्यै निको नहुने रोग लिएर आएँ । त्यही रोगको उपचार गर्दा अर्को रोग सर्‍यो ।’ रगतसम्बन्धी ज्ञान लिएर सुरक्षित हुनकै लागि उनले ‘ल्याबटेक्निसियन’ विषय लिएर पढिरेहेकी छन् । अहिले उनी हेपटाइटिस सीमुक्त भइसकेकी छन् । फेरि सर्ला भन्ने डरबाट मुक्त हुन सकेकी छैनन ।


अरूको रगत लिँदा शरीरमा आइरन तत्त्व बढी उत्पादन भएर मुटु, कलेजोमा असर गर्छ । बढी भएको आइरन तत्त्व फाल्नका लागि औषधिको आवश्यकता पर्छ । त्यो औषधि सजिलै नपाइने उनीहरू बताउँछन् । राजधानीका सीमित फार्मेसीमा मात्रै पाइन्छ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?