प्रसूति गृह आउजाउ नै गाह्रो

सीमा तामाङ

काठमाडौँ — टन्टलापुर घाम छ । थापाथलीदेखि प्रसूति गृह जाने सडकको खोलापट्टि हिँड्दै थिइन् ५५ वर्षीया पुगेकी शान्ति जोशी । उनको बसाइँ बबरमहल । अस्पताल र साथीको घर गर्दा उनले गाडी चढ्नुभन्दा पैदल हिँड्नु नै उपयुक्त छ । दिनको दुईपटक आउजाउमा उनलाई निकै सकस हुन्छ ।

प्रसूति गृह आउजाउ नै गाह्रो

सकस हिँड्न नसकेर भने होइन । हिँड्न फुटपाथ नै असजिलो भएर हो । ‘फुटपाथ छैन, बाटो साघुँरो । गाडीको चाप । ज्यान जोगाएर हिँड्न मुस्किल छ,’ उनले भनिन्, ‘बस चढ्दाभन्दा हिँडेरै पुगिने ठाउँ हो भन्दा पनि हिँडेर आउजाउ गर्न सुरक्षित छैन ।’


प्रसूति गृह अगाडि नवजात शिशु बोकेर उभिरहेकी थिइन् २७ वर्षीया मीना ठाकुर । मान्छेका भीड ओहोरदोहर गरिरहँदा उनी अरूलाई बाटो दिन अघिपछि गरिरहेकी थिइन् । ट्याक्सी लिएर आउने आफन्तलाई पर्खिरहेकी उनलाई पैदलयात्रुको भीडले एकै ठाउँ उभिन गाह्रो भइरहेको थियो । ‘अस्पतालबाट निस्केर बाहिर गाडी पर्खिन एउटा प्रतीक्षालय भए पनि कस्तो राम्रो हुन्थ्यो,’ उनले भनिन्, ‘फुटपाथ साघुँरो छ । मान्छेहरू ठोक्किँदै हिँड्छन् । लडिएला कि भनेर आफ्नोभन्दा बच्चाको बढी फिक्री लाग्छ ।’ लड्छु कि भन्ने डर लागिरहने उनले बताइन् ।


थापाथली चोकदेखि प्रसूति गृह जाने सडक खण्डका फुटपाथ साघुँरा छन् । यहाँ प्रसूति गृह त छँदै छ, नर्भिक अस्पताल पनि छ । साना सवारीको चाप उत्तिकै रहन्छ । न व्यवस्थित फुटपाथ छ न त कुनै प्रतीक्षालय । नेपालको सडक मापदण्ड, २०७० (संशोधित) अनुसार व्यस्त ठाउँमा कम्तीमा १.५ मिटर फराकिलो फुटपाथ हुनुपर्छ ।


फुटपाथमा मान्छेको चापअनुसार चौडाइ बढाउनुपर्ने मापदण्डमा उल्लेख छ । दैनिक ५ सय मानिस आवतजावत गर्ने ठाउँमा १.५ मिटर, १५ सय जना मानिस हिँड्ने सडकमा २ मिटरको फुटपाथ र ३५ सय मानिस हिँड्ने ठाउँमा ३ मिटर चौडाइ भएको फुटपाथ हुनुपर्ने व्यवस्था सरकारद्वारा जारी मापदण्ड निर्देशिकामा छ ।


सडकमा हिृवलचियर अट्ने गरी १.५ मिटर चौडाइ भएको फुटपाथ निर्माण गर्नुपर्ने पनि मापदण्डमा उल्लेख छ । तर, अपांग र नेत्रहीन त के साङ्ग पैदलयात्रु पनि सहजै हिँड्न सक्ने अवस्था नभएको सडक सुधार्न सम्बद्ध निकायको ध्यान गएको छैन । थापाथली चोकदेखि करिब ५० मिटरभित्र हिँडेपछि खोलापट्टिको सडकखण्डमा फुटपाथ भए पनि अर्को खण्डमा फुटपाथ नै छैन । भएको फुटपाथ पनि सवारी पार्किङ र नाङ्लो पसलमैत्री बनेको छ । यहीँ फुटपाथमा हिँडिरहेको भेटिएका ५६ वर्षीय सुरेश बज्राचार्य पनि हेर्दै हैरान भेटिए । कुपन्डोल बस्ने उनी छोरालाई भेट्न नर्भिक हस्पिटल आएका थिए ।


‘फुटपाथ एक जनाबाहेक अर्को हिँड्नै नसकिने छ, बाँकी मान्छे सडकमै हिँड्नुपर्छ,’ उनले भने, ‘मान्छे र गाडीको चाप रहने सडक सुधार्न सरकारको ध्यान किन नगएको होला ?’ अस्पताल क्षेत्रको व्यस्त सडकमा पैदलयात्रु मात्र नभएर सवारीसाधनको पनि चाप उस्तै छ । समूहमा मानिस हिँड्दा आफू जोगिन भए पनि मुख्य सडकमै हिँड्नुपर्छ नत्र ठोक्किएर कहाँ पुग्ने थाहा हुँदैन ।


पिच सडकमा हिँड्दा पनि अगाडि–पछाडि आउने गाडीले ठक्कर दिने डर बोक्दै हिँड्नुपरेको उनको गुनासो छ । उपत्यकामा मुख्य सडकबाहेकका भित्री अधिकांश सडकका फुटपाथको अवस्था यस्तै रहेको उनले बताए । यस्तै अनुभव सुनाउँछिन् शंखमूल निरु तुलाधार पनि । थापाथलीचोक हुँदै सधैं घर आउजाउ गर्ने उनलाई बाटो पार गर्न निकै कठिन हुने गरेको छ । फुटपाथ नहुँदा गाडीले ठक्कर दिने हो कि भन्दै डराउँदै हिँड्नुपरेको उनले बताइन् ।


‘बिहान अफिसको समय र साँझ गाडीको भीड र मान्छेको चाप बढी हुने भएकाले बाटोमा हिँड्न मुस्किल छ,’ उनले भनिन् । चोकबाट प्रसूति गृह जाँदा फुटपाथ देखिए पनि नर्भिक हस्पिटल पुगेपछि फुटपाथ नै सकिन्छ । अर्को खोलापट्टिको सडकखण्डमा फुटपाथ भए पनि फुटपाथे व्यवसायीले ओगट्दा पैदल यात्रुलाई गाह्रो परेको उनले बताइन् ।


पार्किङ निषेधित क्षेत्रमा बाइक पार्किङ छ, जसले पैदल यात्रुलाई हिँड्न कठिनाइ हुन्छ । फुटपाथलाई व्यापार गर्ने ठाउँ र पार्किङ स्थल बनाउन नपाइने काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘सडकमा फुटपाथ विस्तार तथा मर्मत सम्भार गर्न सडक विभागसँग छलफल भइरहेको छ,’ उनले भने, ‘यस वर्षको नीति तथा कार्यक्रममा फुटपाथको विषय समावेश गरिएको छ । छलफलपछि मात्र बजेट निर्धारण हुन्छ ।’


८ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरले हेर्ने उनले बताए । ‘ठूलालाई सडक विभागले हेर्छ,’ उनले भने, ‘आवश्यकताअनुसार फुटपाथ व्यवस्थापनका लागि महानगरपालिकाले सूची तयार पार्दै छ ।’

प्रकाशित : जेष्ठ ३२, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?