१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खानेपानीमा झेल

बूढानीलकण्ठ (काठमाडौं) — काठमाडौं खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारीको मिलेमतोमा खानेपानी वितरणमै जालझेल भएको पाइएको छ । बूढानीलकण्ठ नगरपालिका–७ मा पाइप बाँडफाँडमा दुई गाउँबीच भेदभाव गरिएको हो ।

कर्मचारीकै मिलेमतोमा स्थानीयले पीच सडकमुनि रहेको खानेपानी वितरणको हत्ता (साँचो) मा जालझेल गरी १ वर्षदेखि कृत्रिम अभाव गराएका थिए ।


पानी नआए पनि स्थानीयले शुल्क भने नियमित बुझाउँदै आएका छन् । स्थानीय राजेन्द्र खड्काका अनुसार एकातिरको बस्तीमा पानी आइरहने र अर्कोमा हाहाकार हुन थालेपछि सोधखोज गरिएको थियो । पछि महापुर टोलमा धेरै पानी जाने र हेपालीटार र गैरीटोलमा निकै कम जाने गरी ताला बन्द गरिएको भेटिएको थियो । पीडित पक्षले कर्मचारीलाई आफ्नो टोलमा पानी सधैं पठाउन कर्मचारीलाई घूस दिएर यो अभाव गराएको आशंका गरेका छन् ।


हेपालीटारका बासिन्दाको अनुसार पानीको नआउनुको कारण थाहा पाएपछि ७ महिनाअघि पानी घोटाला भएको स्थानमा अनुगमन गर्न केयूकेएलका कर्मचारीहरूलाई बोलाइएको थियो ।


जसमा केन्द्रीय तथा शाखा प्रमुख, इन्जिनियर, सबइन्जिनियरहरू सबैलाई सडकमुनि पानीको पाइप खोतलेर पानी बाँडफाँडको स्थिति हेरेर गएका थिए । सबैले यस समस्यालाई चाँडै समाधान गर्ने आश्वासन दिएर गए पनि समस्या भने उस्तै छ ।


उक्त क्षेत्रको पानी वितरण्को जिम्मा महांकाल चौरशाखाको हो । उक्त शाखा प्रमुख उमेश मरहठ्ठाले यसबारे आफूलाई थाहा नभएको बताए । पीडित बासिन्दाले धारामा पानी नझरे पनि लामो समयदेखि न्यूनतम रुपैयाँ १ सयका दरले मासिक शुल्क तथा मिटर ब्लकको नाममा रुपैयाँ ८ सय तिर्दै आएका छन् ।


पीडित तारादेवी गुरुङले पानी नआए पनि २४ महिना १ सय ५० दरले पैसा तिर्दै आएको बताइन् । ‘गैरीटोल र हेपालीटारमा ९० र महापुर टोलका १५० घरधुरीले केयूकेएलबाट पानी उपभोग गर्दै आएका छन् । केयूकेएलका केन्द्रीय कार्यालय त्रिपुरेश्वरका प्रवक्ता प्रकाशकुमार राईले भने खानेपानीको ४ इन्चको पाइप बिछ्याउने बेलामा स्थानीयले ८ इन्चको पाइप फुटाएकाले पानी जान नसकेको बताए । ‘नियमअनुसार उनीहरूले कि त्यो पाइप मर्मत गर्नुपर्‍यो कि त त्यस बराबरको दस्तुर तिर्नुपर्‍यो,’ उनले भने ।

प्रकाशित : असार १, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?