कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चरक्क गर्मी

नुमा थाम्सुहाङ

काठमाडौँ — दिउँसोको चर्को घाममा हिंड्दै थिए ५९ वर्षीय ज्योति श्रेष्ठ । शंखमूल बस्ने उनी टन्टलापुर घाममा थापाथलीतर्फ जाँदै थिए । गर्मीले थकित देखिन्थे । ‘गर्मीको समयमा गर्मी हुनु ठिकै हो तर अहिले काठमाडौंमा गर्मी बढ्न थालेको छ,’ उनले भने, ‘त्यसैले बाहिर निस्कन पनि गाह्रो छ ।’ उपत्यकामा रूखबिरुवा देख्नै मुस्किल छ । असार लागे पनि पानी पर्न नसक्दा गर्मी बढिरहेको छ । 

चरक्क गर्मी

गर्मी बढेसँगै उपत्यकावासीलाई दिउँसो काम गर्न समेत गाह्रो हुन थालेको छ । घामको रापले बाटो तातेर एकछिन बाहिर हिंड्न समेत समस्या भएको हो । गर्मीले बालबालिका, वृद्ध, वयस्कलाई समेत बाहिर निस्कन मुस्किल छ ।


नौ महिनाको बच्चो बोकेर हिंडिरहेकी थिइन् तिलगंगाकी ३४ वर्षीया विन्दु देउला । थापाथली इन्जिनियरिङ कलेजमा प्रिन्टिङ शाखामा कार्यरत उनी घर फर्कंदै थिइन् । उनले भनिन्, ‘घाममा नानीलाई लिएर हिंड्न एकदम गाह्रो छ ।’ घरमा बच्चा हेर्ने मान्छे नहुँदा काममा पनि लिएरै आउनुपर्ने उनको बाध्यता छ ।


थापाथलीकैं बाटो छेउमा बिजुलीको पोलमा तार मिलाइरहेका थिए २४ वर्षीय विशाल केसी । काम गर्दा उनको शरीर पूरै पसिनाले भिजेको थियो । वर्ल्डलिंक इन्टरनेटको तार मिलाइरहेका केसी गर्मीको वास्ता नगरी आफ्ना काममा व्यस्त थिए ।


‘जाडो र घाम नभनी काम गर्नुपर्छ । दिउँसोको चर्को घाममा बसेर नेटको लाइन मिलाउनुपर्छ, काम गर्न एकदम अप्ठ्यारो छ,’ विशालले कामको पीडा पोख्दै भने, ‘हिंड्ने बाटो पनि तातेको छ । गर्मीका कारण सास फेर्नसमेत गाह्रो छ ।’


थापाथली चोकमा १० वर्षदेखि मकै पोल्ने काम गर्दै आएकी ४० वर्षीया सञ्जुदेवी चौधरीलाई गर्मीले झन् समस्या पारेको छ । ‘मकै पोलेर बेच्नुपर्छ । गर्मी पनि उस्तै छ,’ उनले सुनाइन्, ‘गर्मी धेरै छ, यस्तो गर्मीमा पनि मकै पोलेर बेच्नुपर्छ ।’


मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन आउन ढिलो भएका कारण उपत्यकाको गर्मी बढ्दै गएको हो । पश्चिमी वायुको प्रभावले समयमा मनसुन भित्रिन नसकेको उनले बताइन् ।


‘पूर्वीे वायुको प्रभाव परेपछि मनसुन सुरु हुन्छ । मनसुन सुरु भएसँगै गर्मी आफैं घटेर जान्छ,’ उनले भनिन् । बढ्दो जनघनत्व, गाडीबाट निस्कने धूवाँधूलो र वायु प्रदूषणका कारणले उपत्यकाको न्यूनतम र अधिकतम तापक्रममा वृद्धि भइरहेको उनले बताइन् ।


बढ्दै गएको गर्मीले आम मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको रश्मि पोलिक्लिनिक थापाथलीका डा. रामहरि श्रेष्ठले बताए । ‘गर्मीको समयमा शरीर आलस्य हुने, टाउको दुख्नेजस्ता समस्या देखा पर्न थालेको छ,’ उनले भने, ‘यस्ता समस्याबाट छुटकारा पाउन प्रशस्त मात्रामा पानी र झोल पदार्थ पिउने र बाहिर निस्कँदा छाता ओढेर हिंड्ने गर्नुपर्छ ।’ गर्मीमा रक्तचापमा परिवर्तन देखा पर्ने भएकाले खानामा कार्बोहाइड्रेटयुक्त खानेकुरा खानुपर्ने उनको सुझाव छ ।

प्रकाशित : असार २, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?