सुरु भयो स्मार्ट पार्किङ

दुई पांग्रे सवारीको पार्किङ शुल्क प्रतिघण्टा २५ रूपैयाँ र चार पांग्रेका लागि ८० रूपैयाँ तोकिएको महानगरपालिकाले जनाएको छ ।
शिल्पा कर्ण

काठमाडौँ — काठमाडौं महानगरपालिकाले अव्यवस्थित पार्किङको समस्या समाधानका लागि आइतबारदेखि स्मार्ट पार्किङ सुरु गरेको छ । बढी अव्यवस्थित पार्किङ हुने तथा कारबाहीमा पर्ने स्थान वीर अस्पताल र न्युरोड क्षेत्रमा एपबाटै बुकिङसमेत गर्न सक्नेगरी निश्चित संख्यामा पार्किङको व्यवस्था गरिएको महानगरले जनाएको छ । हील्स ट्रली योर्स नामक संस्थासँगको सहकार्यमा स्मार्ट पार्किङ सुरु गरिएको हो ।

काठमाडौंको न्युरोडस्थित विशाल बजार परिसरमा स्मार्ट पार्किङ सेवा परीक्षण गरिँदै । तस्बिर : बिजु महर्जन/कान्तिपुर

हाल न्युरोडमा सुरु गरिएको यो सेवा बिस्तारै प्युखा, खिचापोखरी, पाकोलगायत खाली स्थानमा पनि विस्तार गरिनेछ । हाल योजनामा रहेका सबै स्थानमा पार्किङ सुरु भए ८ सय वटा मोटरसाइकल र ४० चारपांग्रे पार्किङ गर्न सकिने एप डेभलपर संस्थाले जनाएको छ । पहिल्यै बुकिङ नगरेकाले पुगेपछि खाली ठाउँ हेरेर त्यहीअनुसार पार्किङ गर्न सक्नेछन् । त्यहाँका गतिविधि आवाजसहित रेकर्ड गरिनेछ साथै शुल्क तिर्नेले पनि बिल प्राप्त गर्ने हुँदा राजस्व छली तथा बढी शुल्क उठाउने समस्या नहुने महानगरको भनाइ छ ।

हालका लागि दुई पांग्रे सवारीको पार्किङ शुल्क प्रतिघण्टा २५ रुपैयाँ र चार पांग्रेका लागि ८० रुपैयाँ तोकिएको महानगरपालिकाले जनाएको छ ।

स्मार्ट पार्किङका लागि एन्ड्रोइड तथा आईओएस दुवै अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोगकर्ताले ‘केटिएम एप’ डाउनलोड गरेर सेवाग्राहीले पार्किङ स्थल बुक गर्न सक्छन् । फोनमार्फत कन्फर्म गरेको १५ मिनेटभित्र सवारीसाधन बुकिङ गरिएको ठाउँमा पुग्नुपर्ने हुन्छ । अन्यथा बुकिङ रद्द हुने एप विकासकर्ताको भनाइ छ । पार्किङको चाप र अवस्थाबारे ट्राफिक प्रहरी, महानगरपालिका र एप निर्माता तीनैले चाहेका बेला हेर्न सक्नेछन् । सुरक्षाका लागि ४८ सीसीटीभी जडान गरिएको छ ।

गत वर्षकै नीति तथा कार्यक्रममा स्मार्ट पार्किङ राखिए पनि यस वर्षको अन्त्यमा मात्र कार्यान्वयनमा आएको हो । गत वर्ष बहुतले भवनमा पार्किङ मात्र हुने खालको पार्किङ निर्माण गर्ने भनिए पनि अहिलेसम्म त्यो भएको छैन । प्राविधिक कारणले सुरुहुन नसकेको महानगरले जनाएको छ । एक कार्यक्रमबीच महानगरका मेयर विद्यासुन्दर शाक्यले स्मार्ट पार्किङको उद्घाटन गरे ।

मेयर शाक्यले ‘पीओएस’ भन्ने उपकरणबाट ‘क्यू आर कोड’ सहितको बिल प्रिन्ट गरेर यसको उद्घाटन गरेका हुन् । उनले महानगरभित्र तत्कालको आवश्यकता पूर्तिका लागि मात्र यसको सुरुवात भएको तर दीर्घकालीन रूपमा भने भूमिगत वा बहुतले पार्किङ नै उपयुक्त विकल्प रहेको बताए ।

प्रकाशित : असार २, २०७६ ०७:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बल्खु बाटोको यो हालत

शिल्पा कर्ण

काठमाडौँ — बल्खुस्थित वाग्मती नदीको दुवै किनारामध्ये ललितपुरतर्फ मात्र बनेको छ करिडोर । काठमाडौंतर्फ भने झन्डै ५ सय मिटर हिलाम्मे बाटो छ । वर्षामा त झन् हिँड्न मुस्किल । बीचमा पानी जमेको छ । साना गाडीले त्यो बाटो प्रयोग गर्नै सक्दैनन् । 

बल्खुस्थित जागरण टोलमा हिलाम्मे सडकमा हिँड्दै सर्वसाधारण । तस्बिर : कान्तिपुर 



‘बीचबाट हिँड्न सकिने ठाउँ नै छैन । अर्कोतिर गोदाम छन्, गाडीहरू निस्किरहेका हुन्छन्,’ विद्यालयबाट छोरी लिएर त्यही बाटो घर फर्किँदै गरेकी एक महिलाले भनिन्, ‘गाडी, मोटरसाइकल जे आए पनि हिलो छ्यापेर हिँड्छन् । यो बाटो हिँड्न पनि डर छ ।’
काठमाडौं महानगरपालिका वडा नं. १४ मा पर्ने जागरण टोल सुधार समितिका उपाध्यक्ष केबी राईले वडासँग पटकपटक बस्दा पनि ठोस निर्णय हुन नसकेको बताए ।

उनले भने, ‘दिनमा ३ सयभन्दा बढी गाडी यो बाटो भएर गुड्छन् । तर सडकको अवस्थाबारे भने सम्बन्धित निकायलाई चासो छैन ।’ शनिबारभन्दा बाहेक दैनिक ठूला मालवाहक ट्रक सामान ओसार्ने र अन्य गाडी पनि आवतजावत गर्ने गरेको उनी सुनाउँछन् । सुकुम्बासी बस्तीमा झन्डै साढे ४ सय घर छन् । खोलासँगै बस्ती र अर्कोतर्फ व्यापार संघ तथा गोदाम छन् । सडक बनाउने बेला ढल मात्र बनाएर छाडेकाले अन्य पानीको उचित निकासनहुने र सडक नै हिलाम्मे बनेको राईले बताए ।

उनले भने, ‘यहाँ १८ देखि २२ चक्के गाडीसम्म हुन्छन् । सामान, खाद्यान्न, फलफूल लिएर आउँछन् । तर कसैले सडकमा ध्यान दिएका छैनन् ।’ उक्त क्षेत्रमा ग्यारेज पनि सञ्चालित छन् । आकाशे पानीको निकास नभएको स्थानीयको भनाइ छ । वडाध्यक्ष शोभा सापकोटाले भने आफूले पटकपटक प्रयास गर्दा पनि त्यो सडक निर्माणमा सफल नभएको बताइन् । ‘वाग्मती सभ्यता आयोजनाले करिडोर बनाउने भनेर पप्पु कन्स्ट्रक्सनलाई ठेक्का दिएर ढल बनायो,’ उनले भनिन्, ‘तर मन्दिर, पेट्रोल पम्प, विद्यालय र बस्ती भएको त्यो ठाउँ अलपत्रै छाडियो । सडक निर्माणको कामै भएको छैन ।’

नजिकैको सामुदायिक विद्यालयमा उक्त क्षेत्रका प्रतिनिधिसभा सांसद, वाग्मती सभ्यता एकीकृत विकास समितिका प्रतिनिधि सबैलाई एक ठाउँ राखेर बैठक बस्दा पनि निष्कर्ष ननिस्केको उनले बताइन् । ‘८ मिटरभन्दा ठूलो बाटो महानगरपालिकाले हेर्ने नै होइन । त्यहाँ भएको सडक पनि भत्काएर ढल बनायो । तर घरको पानीको निकास भएन,’ सापकोटाले भनिन् ।

उनका अनुसार त्यो सडक ढलानमा ५० करोड हाराहारी लाग्छ । यो वडाको बजेटले नभ्याउने साथै वाग्मती आयोजनाको कार्यक्षेत्र पर्ने भएकाले कतैबाट केही गर्न नसकेको उनको गुनासो छ । उनी भन्छिन्, ‘स्कुल पढ्ने बालबच्चा पनि हिँड्न सक्दैनन् । त्यहीँका स्थानीयलाई पैसा हाल्न लाएर सडक बनाउन पनि सकिन्न । आफ्नो तर्फबाट पहल गर्दा पनि आयोजनाले बनाइदिएन गुनासो भने वडामा आइहेको छ ।’

प्रकाशित : जेष्ठ ३१, २०७६ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT