ट्राफिक सहज बनाउन ३ करिडोर, कहाँ–कहाँ तोकिए ट्याक्सी स्ट्यान्ड ?

दीपेन्द्र विष्ट

काठमाडौं — प्रहरीले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन उपत्यकामा तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ । तीन महिना लगाएर उपत्यका ट्राफिक महाशाखाले धोबीखोला, विष्णुमती र मनोहरा करिडोरका ७ अवरुद्ध स्थान सञ्चालनमा ल्याएको हो । 

विशेषगरी पुलमुनि सडक व्यवस्थापन नगर्दा ट्राफिक अस्तव्यस्त भएको भन्दै तीन महिनाअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफैं उपस्थित भएर करिडोर खुलाउने अभियान सुरु गरेका थिए । त्यसपछि प्रहरीले सडक विभाग, काठमाडौं महानगर, ललितपुर महानगर र उपत्यका विकास प्राधिकरणसँग समन्वय गरेर अन्डरपास र ढलानको व्यवस्थापन गरेको ट्राफिक प्रहरी महाशाखाका डीएसपी सुनीलजंग शाहले जानकारी दिए । ‘करिडोर व्यवस्थापन गर्दा ट्राफिकजाम नियन्त्रण गर्न सजिलो भएको छ,’ उनले भने, ‘वर्षौंदेखि अन्डरपास तथा पुलको मुनि सडक खोल्न सकिएको थिएन, अब यो भयो ।’ करिडोर सञ्चालनले उपत्यकामा बढ्दै गएको प्रदूषण र सवारी चाप नियन्त्रण हुने महाशाखाका प्रमुख वसन्त पन्तले बताए । ‘सडक ट्र्याक खोलेर कालोपत्रेसमेत गरेका छौं,’ उनले भने, ‘बाँकी स्थानमा पनि कालोपत्रे गर्दै छौं, धूवाँधुलोमुक्त बनाउन प्रहरी सक्रिय हुन्छ ।’


ललितपुरस्थित बालकुमारी पुल, गोपीकृष्ण पुल, भत्केको पुल, हनुमानस्थान, बालाजु, कालोपुल र रातोपुलमा पूर्णरूपमा ढलान तथा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । सवारी चापको प्राथमिकताका आधारमा करिडोर खोलिएको उनले बताए । ‘सबै करिडोरमा खोल्छौं,’ उनले भने, ‘अत्यधिक चाप हुने स्थानमा पहिलो चरणमा खोलेका हौं ।’ धोबीखोलाको करिडोर खोल्दा थापाथली, माइतीघर मण्डल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, मित्रपार्क र चाबहिल क्षेत्रको ट्राफिक निकै नियन्त्रण भएको उनले बताए । साथै, विभिन्न स्थानमा जेब्रा क्रसिङसमेत मर्मत गरिएको उनले बताए ।

बालकुमारी, गुण सिनेमा, चापागाउँ दोबाटो, महालक्ष्मी स्थान, धोबीघाट, नयाँ बानेश्वर, थापाथली, चक्रपथ, बालाजु, कलंकी, स्टार अस्पताललगायत दुई दर्जनभन्दा बढी स्थानमा जेब्रा क्रसिङको पेन्टिङ गरिएको छ । त्यसैगरी कोटेश्वरदेखि कलंकीसम्मको सडकमा दुर्घटना कम गर्न एकान्तकुना, महालक्ष्मी स्थान, बल्खु पुल, बालकुमारी र सातदोबाटोमा आकाशे पुल निर्माणको तयारी भइरहेको उनले बताए । ट्याक्सी स्ट्यान्ड पनि तोकिएको पन्तले जानकारी दिए ।


कहाँ–कहाँ तोकिए ट्याक्सी स्ट्यान्ड ?


कालोपुल, नागपोखरी, ढल्कु, भत्केको पुल, साततले, राधाकृष्ण मन्दिर, मिलन चोक, शीतपुर चोक, गणतन्त्र चोक, बालुवा खानी, अन्नपूर्ण चोक, मनमोहन अस्पताल अगाडि, बालमैत्री अस्पताल अगाडि, ज्याठामोड भित्र, चाबहिल, हायात होटल गेट, बौद्ध गेटको पूर्वपट्टि, जोरपाटी ओरालो, हिमचुली, बालाजु भाटभटेनी, मित्रनगर, शिवमन्दिर गरी जम्मा २६ भन्दा बढी स्थानमा ट्याक्सी स्ट्यान्ड तोकिएको छ ।

प्रकाशित : असार ७, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?