३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फोहोरले स्थानीयमा त्रास

शिल्पा कर्ण

काठमाडौँ — दक्षिणकाली–१ चाल्नाखेल दक्षिणकाली जाने सडक छेउमै छ ध्रुव तामाङको घर । उनको बारी मुख्य सडकबाट झन्डै ५ सय मिटर पर छ । त्यहीँ बारीमुनि नगरपालिकाले फोहोर संकलन गरेर फाल्न थालेको छ । उनीहरूलाई बस्ती र बारी नजिकै फोहोर फाल्दा रोग फैलिने त्रास बढेको छ । 

फोहोरले स्थानीयमा त्रास

‘सुरुमा प्रशोधन केन्द्र खोल्ने भनेको थियो । अहिलेसम्म १२ टिप जति फोहोर फालिसकिएको छ,’ तामाङले भने, ‘गाउँले, हामीले भोट दिएको मान्छेले उल्टै हामीलाई नै दु:ख दिन लागेजस्तो लागेको छ ।’ खेतबारीमा गर्न गइरहनुपर्ने तर अहिल्यै चिल कागका हुल आउन थालेको उनले बताए । दक्षिणकाली नगरपालिकाकी उपमेयर वसन्ती डंगोल तामाङको घर पनि त्यही वडामा पर्छ । उनकै आफन्तको जग्गा भाडामा लिएर फोहोर फाल्न थालिएपछि वरपर खेत र घर हुनेहरू समस्यामा परेका छन् । फोहोर फाल्न नहुने उनीहरूको तर्क छ ।


‘त्यहाँ धान रोप्ने, मकै गोड्ने र अन्य बाली लगाउँछौं,’ स्थानीय सरोज खडकाले भने । स्थानीयसँगको छलफल अनुसार साउन १ देखि सबै व्यवस्था मिलाएर मात्र फाल्ने भनियो, तर हिजोआज नै दिनको १/२ टिप ल्याएर फाल्ने गरिएको छ ।’ दुई साता अघि वडाका बासिन्दासँग नगरपालिकाले छलफल गर्दा वडावासीलाई असर नपर्ने गरी र दुर्गन्ध नआउने गरी औषधि छर्केर त्यो ठाउँ सफा राख्ने भनिए तापनि त्यसो नभएको उनी गुनासो गर्छन् ।


स्थानीय युवाले विरोध गरेपछि उक्त स्थानमा सोमबार प्रहरी परिचालन गरेर फोहोर फालियो । फोहोर छुट्याएर ल्याउने र औषधि छरिने पनि नगरिएको उनले बताए । फोहोर नछोप्दा झिँगा बढेको र कागजस्ता चराचुरुंगीले फोहोर यताउति फाल्दिने गरेको उनले सुनाए । फोहोर फाल्न थालेपछि त्यस क्षेत्रमा गन्धका आउन थालेको स्थानीय बताउँछन् । यस अघि नगरपालिकाको फोहोर अन्य स्थानीय तहझैं टेकुमा राखेर नुवाकोटको ओखरपौवामा व्यवस्थापन हुँदै आएको थियो । अवरोधका कारणले त्यहाँ पनि प्रत्यक्ष प्रभाव पर्ने भएपछि नगरभित्रै विकल्प खोजिएको नगरपालिकाको भनाइ छ । वडा अध्यक्ष जय थापामगरले वडासँग समन्वय गरे पनि छलफलअनुसार काम नभएको बताए । ‘फोहोर छुट्याएर पुनर्प्रयोग गर्न नमिल्नेलाई अर्कै ठाउँमा व्यवस्थापन गरिने भनिएको थियो,’ वडाध्यक्ष मगरले भने, ‘तर त्यो भएन । फोहोर प्रशोधन केन्द्र खोल्न पनि त मापदण्ड हुन्छ । त्यसलाई बेवास्ता गर्दै बस्ती र उब्जाउ खेतमा फोहोर फाल्न पाइएन नि ।’


तर वातवरण तथा सरसफाइ शाखाका प्रमुख दीपक केसी भने त्यो जग्गा खोज्न उपमेयर वसन्ती डंगाल तामाङले समन्वय गरेको बताए । उनले जग्गा वार्षिक डेढ लाख रुपैयाँका दरले नगरपालिकाले भाडामा लिएको सुनाए । हाल ४ जनालाई फोहोर टिप्ने काम दिइएको केसीको भनाइ छ । निश्चित अध्ययन वा सर्वेक्षण नभए पनि फोहोर छान्ने जिम्मा दिइएको उनी बताउँछन् । उनका अनुसार बेच्न मिल्ने सामान बेचेर नगरपालिकाले आय लिने, बाँकी फोहोर कम्पोस्ट मल बनाउने नगरको योजना छ ।


‘मान्छेको मानसिकता फोहोरले रोग ल्याउँछ, गन्हाउँछ । तर त्यसो होइन,’ उनी भन्छन्, ‘त्यहाँका जनता उपत्यभरिकै फोहोर बोकेर आउने वाग्मतीको पानीले पीडित छन् ।’


प्रकाशित : असार ७, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?