चाँगुनारायणमा सम्पत्ति कर अनिवार्य

भक्तपुर — चाँगुनारायण नगरपालिकाले सम्पत्ति कर अनिवार्य गर्ने भएको छ । नगरपालिकाको पाँचौं नगरसभामा आइतबार उपमेयर बिना बाँस्तोलाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरवासीको सम्पत्ति कर अनिवार्य गर्ने नीति लिएको उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५५ सम्पत्तिकर लगाउने व्यवस्था भएअनुरूप नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ को साउन १ गतेबाट सम्पत्ति कर लागू गर्ने नीति लिएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । नगरक्षेत्रभित्र रहेको साधारण निर्माणमुखी खानी तथा खनिज पदार्थहरूको सञ्चालन तथा उचित व्यवस्थापन गरी आन्तरिक आयस्रोत व्यवस्थापन गरिने उनले बताए ।


नीति तथा कार्यक्रममा नगरकोट अवलोकनका लागि आउने पर्यटकको प्रवेश सेवा शुल्क चाँगुनारायण र मण्डन देउपुर नगरपालिकाले संयुक्त रूपमा उठाउने, व्यवसाय करलाई व्यवस्थित कार्यान्वयन गर्न नयाँ आर्थिक वर्षको साउन, भदौ र आश्विन महिनालाई व्यवसाय दर्ता अभियानका रूपमा सञ्चालन गरेर व्यवसायलाई करको दायरामा ल्याउने उल्लेख छ ।


नगर क्षेत्रभित्र दर्ता नभई सञ्चालित व्यवसायहरू वडामार्फत सहजीकरण गरी वडा कार्यालयमै दर्ता हुने व्यवस्था गरिएको र दर्ता प्रक्रियामा नआएका व्यवसायलाई व्यवस्थित गर्न व्यवसाय दर्ता अभियान सञ्चालन गरेर हरेक व्यवसायलाई करको दायरा ल्याइने उल्लेख छ ।


नगरलाई आर्थिक समृद्धितर्फ लैजान आन्तरिक आयवृद्धि गर्न नगरवासीलाई सबै प्रकारको सेवा सुविधा उपलब्ध गराउन नगरवासीको आर्थिक अवस्थाअनुसार निर्धारण गरी करको दायरा फराकिलो बनाइने, वातावरणमैत्री उद्योग कलकारखाना स्थापना गर्दा दर्ता प्रक्रियामा विशेष सहुलियत प्रदान गरिने नीति अवलम्बन गरिने नगरपालिकाले जनाएको छ ।


सम्पति कर, घरबहाल, व्यवसाय कर र सबै प्रकारका आन्तरिक आयको अभिलेख व्यवस्थापन र संकलन गर्ने कार्यलाई अनलाइन सफ्टवेयर प्रयोग गरी व्यवस्थित नीति बनाइने नगरप्रमुख मिश्र बताउँछन् । नगरको बेरुजु रकम शून्य पुर्‍याउन आवश्यक नीति तयार गर्ने, आर्थिक प्रशासन शाखाका काम कारबाहीहरूलाई छिटोछरितो र पारदर्शी बनाउन खर्च लेखांकन तथा प्रतिवेदनलाई व्यवस्थित गर्न सूत्र प्रणाली लागू गर्ने तयारी गरेको कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी, ‘विकासको आधार, भौतिक पूर्वाधार’ नीतिलाई अँगाल्दै नगरवासीलाई व्यवस्थित सडक सञ्जाल जोडिने अपेक्षा पूरा गर्ने, नगरको केन्द्रबाट प्रत्येक नगर बस्ती र वडा केन्द्रलाई सुरक्षित र भरपर्दो सडक सञ्जाल जोडिने योजना रहेको उपप्रमुख बाँस्तोलाले बताइन् ।


नगरका सबै सडकको नामकरण गरी मेट्रिक ठेगाना प्रणालीमा आधारित घर नम्बरको व्यवस्थापन गर्ने, ‘उज्यालो चाँगुनारायण’ अभियानअन्तर्गत नगरका मुख्य सडकमा विद्युतीय सडक बत्ती जडान गरिने आगामी वर्षको नीति तथा कार्यक्रमको प्राथमिकतामा छ ।


मनोहरा, घट्टेखोलो, खस्याङखुसुङ, महादेव खोला तथा तब्याखोसी कोरिडोरलगायत नगरक्षेत्रभित्रका खोलाको विस्तृत अध्ययन प्रतिवेदन तयार भएका योजनाको कार्यान्वयनका केन्द्र तथा प्रदेशसँग समन्वय गर्ने जनाएको छ ।

प्रकाशित : असार ९, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?