चिहानको जग्गा विवाद : दर्शनधारी कोषमा धाएको धायै

'कोष सेवा गर्नै आएको संस्था होला भनेर आधाभन्दा बढी जग्गा छोड्यौं, तर सहमति कार्यान्वयन गर भन्दा तनाव दिइएको छ’
दामोदर न्यौपाने

काठमाडौँ — परम्परादेखि प्रयोगमा आइरहेको जमिन चिहानका रुपमा प्रयोग गर्न नपाएपछि दर्शनधारीहरू आन्दोलित छन् । उनीहरूले समस्या सुल्झाउन पशुपति क्षेत्र विकास कोषसँग पटकौं आग्रह गरे । कोषका पदाधिकारीहरू भने यो समुदायका अगुवालाई भेट्न समेत आलटाल गरेको छ । 

चिहानलाई प्रयोग हुने जग्गा सम्झौताअनुसार उपलब्ध गराइदिन माग कोषका सदस्यसचिव प्रदीप ढकाललाई ज्ञापन दिन गएका कपाली समुदाय भेट नपाई फर्किएका छन ।

परापूर्वकालदेखि प्रयोग गर्दै आएको चिहान घटाएर धमाधम पर्खाल लगाउन लागेकाले त्यसलाई रोकेर पूर्ववत् सम्झौता कायम गर्न सदस्यसचिवलाई भेटेरै छाड्ने अड्डी कँस्दै उनीहरू सदस्यसचिवको कार्यकक्षबाहिर बसे । कर्मचारीले कोषका निर्देशक भरत मरासैनीलाई भेट्नु भन्दै सदस्य सचिवको सन्देश सुनाइदिए ।

मरासैनीलाई भेट्न पनि उनीहरू तयार भएनन् । केही बेरमा ढकाल बाहिर आए । ‘समय लिएर आउनुभएको भए हुन्थ्यो’ भन्दै उनले पनि मरासैनीलाई नै भेट्नु भने । ‘अर्को दिन समय लिएर आउनु’ भन्दै उनी कार्यालयबाट निस्किए । ‘हाम्रो संस्कृतिमा आघात परेको छ । चिहानमा मान्छेको दाहसंस्कार गर्नसमेत तनाव सिर्जना भएको छ । कोष संवेदनशील हुँदैन भन्दै कपाली समाजका अध्यक्ष रत्न कपाली श्रेष्ठको अगुवाइमा मरासैनीलाई भेट्न गए उनीहरू ।

मरासैनीले ‘सदस्यसचिवले जे भन्नुहुन्छ, मैले त्यही मान्ने हो’ भन्दै फेरी आउन आग्रह गरे । ‘समाधिस्थल संरक्षण गर्ने उद्देश्य हो कोषको,’ मरासैनीले भने, ‘कति संरक्षण गर्ने भन्ने बेग्लै कुरा हो । जति जग्गा छ, त्यति संरक्षण गर्ने हो ।’ यसको संरक्षणका लागि सरकराले बजेट व्यवस्था गरेको उनले जानकारी दिए । ‘असार २५ सम्म काम सक्नै पर्ने बाध्यता छ,’ उनले भने, ‘नत्र बजेट जान्छ । यो वर्ष गयो भने अर्को वर्ष आउँदैन, किनभने आउँदो वर्षको बजेटमा समाधिस्थलका लागि बजेट मागेकै छैनौं ।’

कपाली समुदाय शव दाह गृहको उत्तरतिर सानो खुला ठाउँ छुट्याइएको छ यसका लागि । केही दिनअघिसम्म यहाँ काठको चाङ लगाएर दाह संस्कारमा समस्या सिर्जना गरिदिएको थियो कोषले । आर्यघाटमा दाहसंस्कार गर्न चिता तयार पार्न टिम्बर कर्पोरेसनले राखेको यो डिपो अहिले हटाइएको छ ।

यो ठाउँ पशुपति क्षेत्रमा परापूर्वकालदेखि बसोबास गर्दै आएका दर्शनधारी, कपाली र कुसुलेको चिहानका लागि छुट्याइएको थियो । पहिला फराकिलो क्षेत्रमा रहे पनि समय क्रममा खुम्चँदै गयो । अहिले पशुपति क्षेत्र विकास कोषले झनै खुम्च्याइदियो ।

पशुपति क्षेत्र विकास कोष नियमावलीमा सांस्कृतिक सम्पदाको जर्गेना गर्ने भन्ने छ । यस हिसावले चिहान सांस्कृतिक क्षेत्र हो । ‘चिहान जोगाउनुपर्ने हो,’ समाजका सोचित कपाली भन्छिन्, ‘तर चिहानै अधिकरण गरिदियो कोषले । अहिले चिहानमा समेत तनाव व्यहोर्नु परेको छ ।’

राष्ट्रिय गौरवको योजनाअन्तर्गत कोषले विद्युतीय शव दाह गृह बनाउने योजना बनायो । आफ्नो चिहानसमेत अधिकरण गर्न लागेको थाहा पाएपछि कपाली समाज विरोधमा उत्रियो । विरोधमा उत्रिएपछि कोषले अधिकरण गरेर बाँकी रहेको चिहान व्यवस्थित गरिदिने सहमति गरेको थियो । ‘हामीले सम्झौता कार्यन्वयन गर भनेका हौं,’ केशव कपाली भन्छन्, ‘कोष सेवा गर्नै आएको संस्था होला, विकास गर्न आएको संस्थ होला भनेर आधाभन्दा बढी जग्गा छोड्यौं । तर सहमति कार्यान्वयन गर भन्दा हामीलाई तनाव दिइएको छ ।

कोषले चिहान व्यवस्थित गरिदिने भनेको तीन वर्ष बितेको छ । व्यवस्थित भने अझै भएको छैन । २०७२ भदौ १७ गते विद्युतीय शव दाह गृह सञ्चालन गर्ने सम्बन्धमा बैठक बसेको थियो । कोषका तत्कालीन सदस्यसचिव गोविन्द टण्डनको संयोजकत्त्वमा बसेको बैठकले कपालीको समाधिस्थल संरक्षण गर्ने निर्णय गरेको थियो ।

बैठकमा कोषका कर्मचारीदेखि राजनैतिक पार्टीका प्रतिनिधिसमेत सहभागी थिए । कपाली समाजका अध्यक्ष रत्न, सदस्यसचिव टण्डन, निर्देशक भरत मरासिनी, इन्जिनियर राजेन्द्र राजोपाध्य, नेपाली कांग्रेस वडा नम्बर ८ का सभापति प्रेम क्षेत्री, तत्कालीन एमालेका वडा अध्यक्ष कृष्णमान श्रेष्ठ, तत्कालीन एनेकपा माओवादीका उपाध्यक्ष ध्रुव भेटुवाल, नेकपा माओवादीका वडा नम्बर ८ का इन्चार्ज रमेशसिंह डंगोल, पशुपति कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीसहित सहभागी थिए ।

‘राजनीतिक दलदेखि प्रहरी प्रशासनसमेत बसेर गरेको निर्णय अझै कार्यान्वयन भएको छैन,’ कपाली भन्छन्, ‘हामी धाएको धायै छौं । तर कुरै सुन्दैनन् ।’ टण्डनको अध्यक्षतामा बसेको बैठकमा कोष र कपाली समाजबीच ६ बुँदे सहमति गरेको थियो ।

बैठकले जग्गाको सिमांकन गरेको थियो । विद्युतीय शव दाह गृह भवनको उत्तरतर्फको ८ फिट छाडेर बाँकी जग्गा चिहान निर्धारण गरेको थियो । पूर्वमा वाग्मती नदीको पश्चिमतिरको पर्खाल, वनकालीबाट बाग्मती निस्कने १२ फिटको बाटोको दक्षिण र शव दाह गृहको पश्चिम सिमानबाट उत्तरतिरको जग्गासम्म सिमाना छुट्याइएको थियो । उक्त चार किल्लाभित्रको करिब ३ रोपनी जग्गा चिहान प्रयोग गर्न दिने सहमति भएको थियो ।

सिमांकन गरेपछि त्यहाँ मलामीका लागि केही संरचनासमेत बनाउने सहमति भएको थियो । ‘समाधिमा आउने मलामीको सुविधाका लागि चार किल्लाभित्रका उपयुक्त स्थानमा १२ फिट लम्बाइ र १२ फिट चौडाइको एउटा कोठा र स्नानन घर, शौचालयसहितको सानो सत्तल निर्माण गरी कोषले उक्त समाजले प्रयोग गर्ने गरी उक्त स्थान उपलब्ध गराउने सहमति निर्णय गरियो,’ बैठकको निर्णयमा छ ।

पटक पटक ताकेता गर्दा पनि यो काम पूरा नभएको कपालीले गुनासो गरे । कोषले त्यहाँ सिमांकन गर्ने तयारी गरेको जनाएको छ । चिहान क्षेत्रमा कम्पाउड लगाएर चिहान जोगाइदिने गरी टेन्डर आहृवान गरिएको कोषले जानकारी दिएको छ । तर चिहान व्यवस्थित गर्ने भन्दै जग्गा अझै घटाउने गरी टेन्डर आहृवान गरेको कपालीले गुनासो गरे ।

जग्गा घटाउँदै लैजाँदा दाहसंस्कार गर्न समस्या हुने उनले बताए । पहिला यहाँ चिहानको नामम दुई कित्ता जग्गा थिए । २०४२ सालमा बनेको फिल्ड बुकमा कित्ता नम्बर कित्ता नम्बर ६८ मा ८ आना २ पैसा ३ दाम थियो । कित्ता ७३ मा ४ रोपनी ३ आना थियो । २०२१ सालमा बनेको फिल्ड बुकमाचाहिँ कित्ता ९ र १० थियो ।

फिल्ड बुकमा जग्गाधानीको नाम चिहान उल्लेख छ । २०२१ सालअघि भने त्यो पर्ति जग्गा थियो । कपालीका अनुसार पहिला भएको जग्गा पनि २०४२ सालमा कित्ताकाँट गर्दा घट्यो । २०२१ सालको फिल्ड बुकमा कित्ता नम्बर १० मा ५ रोपनी १५ आना जग्गा थियो । त्यही १० कित्ता पछि ७३ कित्ता भएको हो । ‘चिहान घटाउदै घटाउँदै लगियो,’ कपाली भन्छन्, ‘यस्तै हो भने हाम्रो आउँदा पुस्तालाई चिहानै नहुने भो । मृत्यु भएपछि चिहान खोज्दै हिँड्नुपर्ने बाध्यता आइलाग्ने भयो ।’

कपाली समुदायमा ६० घर छन् । खस समाजमा दशनामी भनेजस्तै नेवारी समाजमा दर्शनधारी भन्ने गरिन्छ । खस समाजको गिरी, पुरी, भारतीलगायतको चिहान क्षेत्र श्लेष्मान्त हो । कपालीको भने वाग्मती किनाराकै शव दाह गृह छेउमा पुस्तौंदेखि प्रयोग गर्दै आएका हुन् । नेवार समुदायको अरू समुदायको जलाउने गरिन्छ । कपालीको भने गाड्ने चलन छ । दर्शनधारी र दशनामी दुवै शैव समुदायका हुन् ।

दर्शनधारीको सम्बन्ध कपाली सम्प्रदायसँग छ । कपाली सम्प्रदाय आफूलाई कुशलनाथका शिष्य मान्छन् । कुशलनाथ अपभ्रंश भएर कुसुले भएको उनीहरू विश्वास गर्छन् । उनीहरू शैव धर्म र गोरखनाथ सम्प्रदायको मिश्रण भएको विश्वास गर्छन् । यी सम्प्रदायमा अहिले पनि दीक्षा लिने परम्परा छ । न्यास, ध्यानर भस्मधारण गरेर दीक्षा लिन्छन् ।

सबैको चिहान एकै ठाउँमा हुनु हुँदैन । चिनो लगाएर आफन्त गाडेको ठाउँ पहिचान गर्छन् । केही रुख रोपेर चिहानको पहिचान कायम राख्छन् । कहीं शिवलिंग बनाएर पहिचान राख्छन् । चिहान खन्ने क्रममा हाड देखिनु हुँदैन भन्ने मान्यता छ ।

प्रकाशित : असार १०, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

महालक्ष्मी नगरपालिका : नीति तथा कार्यक्रम पोहोरकै

कान्तिपुर संवाददाता

ललितपुर — प्राचीन लुभु बस्तीस्थित गंगामहारानी दरबार चारैतिर पोखरीले घेरिएका छन् । मूलपीठमा ३ मूल पोखरी छन् । यी पोखरीमा पानी जम्मा भएपछि सिपेज भएर बस्तीका इनार, ढुंगेधारा, पोखरीमा रिचार्ज हुन्छ । 

जात्रापर्व तथा ठूला योजना सुरु गर्नुअघि पोखरीमा देः (देश) पूजा गर्ने चलन छ । अहिले यी पुरातात्त्विक धार्मिक महत्त्वका पोखरी चौरमा परिणत भइसकेका छन् । पोखरी भर्न पानी ल्याउने राजकुलोको बाँध भत्केको दुई दशक बढी बितिसक्यो । अहिलेसम्म मर्मत गर्न सकेको छैन ।

महालक्ष्मी नगरपालिकाले भने प्रत्येक वर्ष पोखरी, इनार, ढुंगेधारा संरक्षण गर्ने नीति तथा कार्यक्रममा छुटाउने गरेको छैन । गत वर्षझैं यस वर्ष सार्वजनिक गरेको नीति तथा कार्यक्रममा जल सम्पदा संरक्षण गर्ने भनी सोही वाक्य दोहोराइएको छ । साविक लुभु गाविसका अध्यक्ष चन्द्रबहादुर बज्राचार्य भन्छन्, ‘नीति तथा कार्यक्रम अपडेटसहितको आउनुपर्ने हो । तर, अधिकांश बुँदाजस्ताको तस्तै उतारिएको देखिन्छ । जुन लजास्पद कुरो हो ।’

उनका अनुसार बस्तीका अधिकांश पोखरी मिचिएका छन् । जोखिम मोलेर कसैले पनि सिमांकन गर्न चाहेनन् । पोखरी नाश भएदेखि इनार, ढुंगेधारा सुक्न थालेका हुन् । ‘बस्तीमा कम्तीमा ३ ठूला र साना पोखरी हुन्छन्,’ उनले भने, ‘सरसफाइ गरेर टेन्डर गर्न सकेमा राजस्व भित्रिने मात्र नभई लुभुवासीलाई माछा खान भारतबाट आयात गर्न पर्दैन । तर, यसतर्फ कसैले चासो दिएनन् ।’

लुभुको सबभन्दा ठूलो इनार तगः तुः टोलमा छ । बस्तीको बीचमा पर्ने इनारमा पानी आउँछ । तर, प्रयोग गर्न योग्य छैन । चक्का राखेर सेफ्टी ट्यांकी बनाएकाले निकास सोसेर इनारमा आउने गरेको स्थानीयबासी बताउँछन् ।
भागवती लाछी, चौतारा, घाफल टोलको ढुंगेधारामा पानी सुकिसकेका छन् ।

लुभु क्याम्पस भवन नजिकै परम्परागत इँटाका गारो लगाएका २ वटा पँधेरो छ । यो पनि पुरि सकेको छ । यहाँ कुनै बेला लुभु–लामाटार–लाकुरी भञ्ज्याङ हुँदै काभ्रे पनौती पुग्ने यात्रुले प्यास मेटाउँथे । नगरपालिकाले भने प्रत्येक वर्ष कुवा, ढुंगेधारा र इनारको मुहान संरक्षण गरी अन्डरग्राउन्ड रिचार्ज गर्न पोखरी निर्माण गर्ने योजना सार्वजनिक गर्छ ।

तर, कार्यान्वयन भने हुँदैन । यस वर्ष सार्वजनिक गरेको अधिकांश नीति तथा कार्यक्रम कुवा संरक्षण गर्ने भनी गत वर्षकै वाक्य दोहोर्‍याइएको छ । पोखरी, ढुंगेधारा, इनार संरक्षण गर्ने वाक्य मात्र नभई अधिकांश बुँदा जस्ताको तस्तै हुबहु राखिएको छ । यस वर्ष सार्वजनिक गरेको कार्यक्रमलाई मिति मात्र परिवर्तन गरिएको छ ।

सार्वजनिक सेवा तथा सुशासनअन्तर्गत राखिएका १९ वटा बुँदा जस्ताको तस्तै राखिएका छन् । स्वास्थ्य तथा सरसफाइअन्तर्गत राखिएका ११ वटा बुँदा, खानेपानीअन्तर्गतका ५, भौतिक पूर्वाधार तथा यातायातअन्तर्गत १६, आर्थिक विकासअन्तर्गतका १३ बुँदा हुबहु राखिएका छन् ।

कृषि, सिँचाइ तथा पशुपालन, वातावरण, विपद् व्यवस्थापन र वैकल्पिक ऊर्जा, कला, संस्कृति र पर्यटन, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, युवा तथा रोजगारका अधिकांश बुँदा पनि उस्तै छन् । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले इनार, ढुंगेधारा, पोखरी संरक्षण गर्न म्यापिङ भइरहेको दाबी गरे ।

‘राजकुलो मिचेको ठाउँमा सानो र नमिचेको ठाउँमा जस्ताको तस्तै बनाउने योजना छ,’ उनले भने, ‘राजकुलोका सरसफाइ भइरहेको छ ।’ उनले नीति तथा कार्यक्रम दोहोरिनु स्वाभाविक भएको बताए ।

प्रकाशित : असार १०, २०७६ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्