कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

शल्यक्रियापछि संक्रमण

फातिमा बानु

काठमाडौँ — छाती दुखिरहने समस्या भएपछि बाराका ४० वर्षिय एक विरामी बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भए । गत जेठ २६ गते उनको मुटुको शल्यक्रिया भयो । शल्यक्रियाको छ दिनपछि अस्पतालबाट डिस्चार्ज पनि भए । ‘अपरेशनपछि भाइको अवस्था ठीकै थियो । खाने बोल्ने सुत्ने सबै सामान्य थियो ।’ बिरामीका आफन्तले भने, ‘२ दिनमै छातीको बाहिरी भागबाट पानी निस्किने र छाती थिच्दा मुखबाट पिप आउने हुन थाल्यो ।’

शल्यक्रियापछि हुने संक्रमणका कारण उनलाई यस्तो समस्या भएको फलोअप उपचारबाट पत्ता लाग्यो । संक्रमणले उनको अवस्था मात्रै बिग्रिएन दोह्र्याएर शल्यक्रिया गनुपर्ने भयो । हाल अस्पतालले उनको दोह्र्याएर शल्यक्रिया गरिदिएको छ ।


उनी अहिले अस्पतालको बेडमा मृत्युसँग लडिरहेका छन् । आफन्त भन्छन्, ‘दोह्र्याएर मुटु खोलेको बिरामी बाँच्दैन भन्छन् । डर लागिरहेको छ ।’ गंगालाल अस्पतालमा मुटुको शल्यक्रियापछि संक्रमणका कारण ज्यान जोखिममा परेका बिरामी उनी एक उदाहरण मात्रै हुन् ।


संक्रमणका बिरामीले पोस्टअप वार्ड (शल्यक्रिया गरिएका बिरामी राख्ने कक्ष) भरिएको छ । शल्यक्रिया सफल भएपनि कति बिरामी संक्रमणकै ज्यान गुमाइरहेका छन् । र, शल्यक्रिया गुणस्तरिय ढंगले नहुनुको मुख्य कारण हो ( प्रोत्साहन भत्ता । यो अस्पतालमा शल्यचिकित्सकले मासिक तलब बाहेक पनि कार्यालय समयमै काम गरेवापत थप भत्ता पाइरहेका छन् ।


के हो प्रोत्साहनभत्ता

अस्पतालमा वरिष्ठ चिकित्सक टिकाइराख्न र उनीहरूको निजि अभ्यास रोक्नका लागि विस २०६९ देखि यो प्रोत्साहनभत्ताको व्यवस्था गरिएको थियो । यस्तो व्यवस्था नेपालको अन्य कुनै अस्पतालमा छैन । भत्ता लिएपनि न उनीहरूको नीजि अभ्यास भने रोकिएको छैन । सरकारले २०७३ देखि बाथमुटुरोगको शल्यक्रिया निशुल्क गरेसँगै चिकित्सकले प्रोत्साहनभत्ता पनि सरकारी बजेटबाटै खाँदै आइरहेका छन् ।


अस्पताल सञ्चालक समितीकै निणर्यमा भएको यो व्यवस्था अनुसार शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक, रजिष्टार चिकित्सक, एनेस्थिेसियोलोजिस्ट (बिरामी बेहोश बनाउने चिकित्सक) ले कार्यसम्पादन र बरिष्ठताका आधारमा यस्तो भत्ता खाँदै आइरहेका छन्, जुन मासिक तलबभत्ता बाहेकको हो ।


हिसाब गर्दा भने मासिक तलबभत्ता प्रोत्साहनभत्ताको रकम बढि देखिन्छ । शल्यक्रियाका बिरामी जति धेरै भयो उति नै प्रोत्साहनभत्ताको रकम पनि बढ्छ । हाल जुनियर चिकित्सकले मासिक न्यूनतम ७० हजार र बरिष्ठ चिकित्सकले २ लाखसम्म प्रोत्साहनभत्ता पाइरहेका छन् । मासिक तलब भने १ लाख भन्दा कम नै छ ।


जनशक्ती र पूर्वाधार न्यून

जति बढी शल्यक्रिया उती बढी भत्ता । संसारभर दैनिक एक चिकित्सकले एउटा मात्रै बिरामीको मुटुको शल्यक्रिया गर्ने अभ्यासलाई लत्याउँदै गंगालालले दैनिक ६ देखि १० वटा सम्म शल्यक्रिया गर्दै आइरहेको छ । अस्पतालको शल्यक्रिया विभागमा हाल ५ जना बरिष्ठ चिकित्सक छन् । जो दुई यूनिटमा बाँडिएका छन् ।


एक यूनिटले एक दिन बिराएर शल्यक्रिया गर्ने गरेका छन् । एउटा यूनिटमा २ जना मात्रै चिकित्सक छन् र अर्कोमा ३ जना छन् । ‘२ जनाले १० वटा शल्यक्रिया गर्दा बिरामीलाई प्रयाप्त समय दिन सम्भव छैन, अस्पताल स्रोत भन्छ, ‘हतारमा शल्यक्रिया गरेकै कारण अधिकांस बिरामीलाई संक्रमण हुने गरेको छ । दोह्र्याएर शल्यक्रिया गरिन्छ र ज्यान गुमाउँछन् ।’ न्यून जनशक्ती र थोरै पूर्वाधारकाबिच धेरै बिरामीको शल्यक्रिया गर्दा यसले बिरामीलाई नै घाटा पुग्ने गरेको स्रोत चिकित्सकको भनाई छ ।


अस्पतालमा हाल ३ वटा शल्यकक्ष छ । ३ चिकित्सकले तिनैवटा कक्षमा शल्यक्रिया गर्दापनि १० वटा शल्यक्रिया भ्याउन एक जनाले ३ भन्दा बढी बिरामीको शल्यक्रिया गर्नुपर्ने हुन्छ । झन् २ चिकित्सकले कसरी भ्याउलान् ? शल्यक्रिया भ्याइहाले पनि त्यसपछि बिरामी व्यवस्थापन गर्नका लागि आवश्यक पर्ने आईसीयू, पोस्टअप वार्ड र जनशक्ती नहुँदा बिरामीले थप सास्ती खेपिरहेका छन् ।


बिरामीले धेरै दिन आईसीयूमा बसेर बिशेष हेरचाह पाउँदैन । छिटै डिस्चार्ज भएकै कारण संक्रमणले घाउ पाकेर अस्पताल धाइरहेका छन् । संक्रमणकै कारण बिरामीको मृत्युदर पनि बढेको छ ।

प्रकाशित : असार ११, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?