२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सम्पदा ३४ र शिक्षामा १४ प्रतिशत बजेट

भक्तपुर नगरपालिका
भक्तपुर

भक्तपुर — भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण तथा विकास निर्माणलाई प्राथमिकतामा राख्दै कुल बजेटको ३४ दशमलब २१ प्रतिशत अर्थात्, ७२ करोड ९१ लाख १० हजार रुपैयाँ छुट्याएको छ । भूकम्पले क्षतिग्रस्त मठमन्दिरको पुनर्निर्माणलाई प्राथमितामा राखेर बजेट विनियोजन नगरप्रमुख सुनिल प्रजापतिले बताए ।

नगरपालिकाले शिक्षालाई त्यसपछिको प्राथमिकतामा राख्दै कुल बजेटको १४ दशमलव ४२ प्रतिशत अर्थात्, ३० करोड ७३ लाख ९६ हजार छुट्याएको छ भने, स्वास्थ्यका लागि २५ करोड ५४ लाख ६२ हजार (११.९९ प्रतिशत), युवा तथा खेलकुदका लागि ५ करोड ५७ लाख, पर्यटन पूर्वाधार विकासका लागि ४ करोड ८६ लाख ९० हजार, भक्तपुर महोत्सवका लागि १ करोड, फोहोरमैला व्यवस्थापन तथा वातावरण सुधारका लागि १३ करोड ५७ लाख ५० हजार, नगरभित्रका सामुदायिक विद्यालयहरूमा बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरूको कार्य मूल्यांकन गरी प्रतिव्यक्ति प्रतिमहिना ४ हजार रुपैयाँका दरले नगरपालिकाको आफ्नै स्रोतबाट व्यहोर्ने गरी बन्दोबस्त गरिएको जनाएको छ ।


नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २ अर्ब १३ करोड १० लाख रुपैयाँ बजेट पेस गरेको हो । नगरपालिकाको पाँचौं नगरसभामा उपप्रमुख रजनी जोशीले बजेटको ४६ दशमलब ८३ प्रतिशत चालु खर्चतर्फ र ५३ दशमलब १७ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरेको जानकारी दिइन् । जसमध्ये चालुतर्फ खर्चका लागि ९९ करोड ८० लाख र पुँजीगततर्फ १ अर्ब १३ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको उनले बताइन् ।


आर्थिक अवस्था कमजोर भएका तर शैक्षिक स्तर राम्रो भएका जेहेनदार एवं मेधावी विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने हिसाबले नगरपालिकाले शैक्षिक ऋण कोषको व्यवस्था गरेको छ । उक्त कोषमा ४ करोड ९९ लाख ९० हजार रुपैयाँ विनियोजन गरेको छ ।


सांस्कृतिक प्रवर्द्धनका लागि २ करोड ३० लाख रुपैयाँ, खानेपानी व्यवस्थापन तथा पाइप सुधारका लागि ३ करोड ८१ लाख, कृषि तथा पशु सेवाका लागि १ करोड ६४ लाख, जग्गा तथा भवन खरिदका लागि ५ करोड ५० लाख, देको मिवा इटापाके जग्गा एकीकरण आयोजनाका लागि २५ करोड, सवारीसाधन खरिदका लागि ८० लाख, मेसिनरी औजार खरिदका लागि २ करोड, पुँजीगत अनुसन्धान तथा परामर्शका लागि २० लाख, शैक्षिक ऋण कोषका लागि ४ करोड ९९ लाख ९० हजार, नगरपालिकाका कर्मचारीको खाजा खर्चबापत् प्रतिव्यक्ति प्रतिमहिना ५ सय रुपैयाँ थप गरेको छ ।


त्यसैगरी, रानीपोखरी संरक्षण तथा पार्क निर्माण १ करोड, भैरवनाथ मन्दिर संरक्षण कार्य ६० लाख, भाज्या पोखरी जलेश्वर मन्दिर निर्माण १ करोड ९ लाख ३२ हजार ५ सय ८५ रुपैयाँ, पुरानो नगरपालिका भवन (थंथु दरबार) पुनर्निर्माण कार्य (दरबार स्क्वायर) १ करोड, न्यातपोल (पाँचतले) मन्दिर मर्मत कार्य ५० लाख, नरसिंह मन्दिर पुनर्निर्माण कार्य ५० लाख विनियोजन गरेको छ ।


ख्वपः अस्पताल निर्माणका लागि २० करोड, सिद्धपोखरी उत्तरतर्फको खेलमैदान व्यवस्थापन ७७ लाख, आकाशेपानी संकलन कार्य २६ लाख, औद्योगिक क्षेत्रभित्र सांस्कृतिक केन्द्र निर्माण ६० लाख रुपैयाँ, अरनिको सभा भवन निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ । आदर निकेतन सञ्चालन कार्यका लागि ५० लाख विनियोजन गरेको नगरप्रमुख प्रजापतिले बताए ।


त्यस्तै, सडक कालोपत्रे एक करोड ७९ लाख रुपैयाँ पार्किङ स्थल निर्माण गर्न ५० लाख, महेश्वरी खेलमैदान मर्मत तथा व्यवस्थापनका लागि १ करोड ५० लाख, सहिद स्मृति खेलमैदान निर्माण गर्न १ करोड, सांस्कृतिक संग्रहालयका लागि ५० लाख, कोसेली घरका लागि २५ लाख र पशु बधशाला निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको उनले बताए ।


भक्तपुरका परम्परागत सांस्कृतिक विधाहरूलाई जीवन्त बनाउन तथा सांस्कृतिकर्मी कलाकारहरूलाई जीवन जिउने आधारका रुपमा विकास गर्न सांस्कृतिक प्रदर्शनी केन्द्र सञ्चालन गर्ने तयारीसहित बजेट विनियेजन गरिएको छ । नगरबासीको खानेपानी समस्या न्यूनीकरण गर्न नगरपालिकाको तर्फबाट पहल गर्ने र नगरका ठाउँठाउँमा भूमिगत पानीको स्रोत पहिचान गरी खानेपानीको व्यवस्था एवं खानेपानीको पाइप सुधारका लागि ३ करोड ८१ लाख बजेट विनियोजन गरिएको छ ।


भक्तपुर १ स्थित ऐतिहासिक भाज्या पोखरी र पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिरलाई मौलिक शैलीमा पुनर्निर्माण गर्न बजेट विनियोजन गरिएको छ । सैनिक आवासीय महाविद्यालय परिसरभित्र रहेको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको रानीपोखरी पुनर्निर्माण कार्यलाई निरन्तरता दिने बजेटमा उल्लेख छ ।


उक्त पोखरी सर्वसाधारण जनताका लागि खुला गर्ने र पोखरीको दक्षिणतिर पार्क तथा पार्किङको व्यवस्था गर्ने सहमति नगरपालिका र नेपाली सेनाबीच भएको छ । भक्तपुर २ स्थित औद्योगिक क्षेत्रलाई साना तथा घरेलु उद्योगमा आधारित वातावरणमैत्री तथा पर्यटकीय केन्द्र बनाउन पहल गर्ने योजना बजेटमा उल्लेख छ ।


दरबारक्षेत्र परिसरमा जनज्योति पुस्तकालय रहेको पुरानो भवनलाई स्तरोन्नति गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि कोसेली पसः बनाउने कार्यक्रमसहित बजेट विनियोजन गरिएको छ । बजेटमा खेलमैदान सुधार, व्यवस्थित कभर्ड हल तथा खेलमैदान निर्माण, बाल उद्यान निर्माण र वडा वडामा शारीरिक व्यायाम स्थल विस्तार तथा व्यवस्थापन गर्ने उल्लेख छ ।


आगामी वर्ष नगरपालिकाले नगरबासी ज्येष्ठ नागरिकका लागि आदर निकेतन सञ्चालन गर्न अलग्गै बजेटको व्यवस्था गरिएको छ । किसानको उत्पादनलाई व्यवस्थित रुपमा सुपथ मूल्यमा बिक्री वितरण गर्न तथा उपभोक्ता हितमा व्यवस्थित तरकारी बजार निर्माण गर्नेसमेत बजेटमा उल्लेख छ ।


नगरपालिकाले आधुनिक सुविधा सम्पन्न अरनिको सभाभवनको विस्तृत डिजाइन तथा लागत इस्टिमेट तयार भएको र आगामी आर्थिक वर्षमा निर्माण कार्य थालनी गर्ने गरी बजेट विनियोजन गरेको छ । नगरको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन मुख्य चोक, गल्ली, सडक र सम्पदा क्षेत्रमा सीसीक्यामेरा र रात्रिकालीन बत्तीको व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।


सूर्यविनायकको बजेट १ अर्ब ३० करोड

सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि १ अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको पाँचौं नगरसभामा उपप्रमुख जुना बस्नेतले चालुतर्फ ११ करोड २८ लाख, सामाजिक सुरक्षातर्फ ८ करोड ९९ लाख, विषयगत शाखातर्फ ५ करोड १० लाख र ससर्त कार्यका लागि ३५ करोड ४३ लाख रुपैयाँ तथा पंुँजीगततर्फ ६९ करोड २० लाख रुपैयाँ गरी कुल १ अर्ब ३० करोडको बजेट पेस गरेकी हुन् ।


बस्नेतले प्रस्तुत गरेको बजेटमा नगरपालिकाको आन्तरिक स्रोतबाट ४६ करोड ४६ लाख ७० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै, प्रदेश सरकारको समानीकरण अनुदानतर्फ १ करोड १३ लाख, प्रदेश सरकारको ससर्त अनुदानबाट १० करोड, नेपाल सरकारको समानीकरण अनुदानतर्फ २० करोड ३८ लाख र नेपाल सरकारको ससर्त अनुदानबाट २४ करोड ८३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको बजेट वक्तव्यमा उल्लेख छ ।


केन्द्र र प्रदेश सरकारको राजस्व बाँडफाँडको रकम १४ करोड १० लाख ३० हजार, सामाजिक सुरक्षा भत्ता रकम ८ करोड ९९ लाख र अन्य स्रोतबाट ४ करोड १० लाख रुपैयाँ आय हुने अनुमान गरिएको छ । प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा १ सय ७० प्रतिशतले बढी भएको उनले बताइन् ।

प्रकाशित : असार ११, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?