३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘गंगालाल अस्पतालको सेवा विश्वस्तरीय’

काठमाडौँ — सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आफूकहाँ हुने कुल वार्षिक शल्यक्रियामध्येको संक्रमण दर करिब १ देखि २ प्रतिशत मात्र रहेको जनाएको छ । यस्तै बर्सेनि हुने ‘ओपन हार्ट सर्जरी’ मा मृत्यु दर ३ देखि ५ प्रतिशतमा रहेको अस्पतालले जनाएको छ । 

‘हामीकहाँ शल्यक्रियापछि देखिन सक्ने संक्रमण र मृत्युको प्रतिशत विश्वको कुनै उत्कृष्ट मुटुसम्बन्धी अस्पतालसँग तुलनायोग्य छ,’ संक्रमणले मृत्यु बढेको भन्ने कान्तिपुरमा बुधबार छापिएको समाचारप्रति असहमति राख्दै केन्द्रका कार्यकारी निर्देशक डा.ज्योतिन्द्र शर्माले भने । उनका अनुसार केन्द्रमा बर्सेनि १८ सयदेखि १८ सय ५० वटा ओपन हार्ट सर्जरी हुने गरेको छ । केन्द्रले शल्यक्रियाको प्रतीक्षा सूची करिब ६ महिनाबाट २–३ महिनामा झारेको छ ।


‘प्रोत्साहन भत्ताले गर्दा शल्यचिकित्सकले धेरै केस गर्न खोजे, बिरामीको मृत्यु भयो जस्ता कुरा पूर्णतः गलत हुन्,’ उनले भने, ‘यो भत्ताले दक्षजनशक्तिलाई आकर्षित गरी यही राखिराख्न अलि भरथेग गरेको छ ।’ तर अझै सरकारीभन्दा धेरै बढी पारिश्रमिक पाएपछि निजी क्षेत्रको स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक जाने क्रम रोकिएको भने छैन ।


९ शय्याबाट सुरु भएर २०० शय्या क्षमतामा पुगेको केन्द्रमा बर्सेनि सुधार हुँदै जानुका साथै नयाँ उपकरण, जनशक्ति थपिएको छ । योसँगै सेवामा समेत विस्तार भएको छ । हृदयाघात भएर तुरुन्त आइपुग्ने बिरामीका लागि चौबीसै घण्टा प्राथमिक एन्जियोप्लास्टीको सेवासमेत केन्द्रले प्रदान गर्दै आएको छ । मुटुको चालमा गडबडी भएका बिरामीका लागि आधुनिक ‘३ डी म्यापिङ’ पद्घतिबाट उपचारको साथै विशेष प्रकारको पेसमेकर प्रत्यारोपणसमेत गरिँदै छ ।


यति मात्र नभई मुटुमा जन्मजात प्वाल भएका, भल्भ साँघुरो भएका बिरामीका लागि शल्यक्रियाबिना ‘डिभाइस क्लोजर’ पद्घतिबाट सेवा दिइराखिएको छ ।


केन्द्रले जनकपुरमा शाखा खोलेर मुटुसम्बन्धी सेवा दिइरहेको उल्लेख गर्दै डा.शर्माले केन्द्र आत्मनिर्भर भएको र आफनो सञ्चालन खर्चसमेत आफैं निकाल्ने गरेको बताए ।

प्रकाशित : असार १२, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?