रोग होइन सेतो दुबी

अतुल मिश्र

काठमाडौँ — शरीरमा सेतो दुबी (भिटिलाइगो) आयो कि मानिस डराउँछन् । यो कतै ठूलो रोग हो कि भन्ने उनीहरूको आमधारणा छ । तर यो रोग नभएको र अरूमा पनि नसर्ने चिकित्सकले बताएका छन् । 

समाजमा अझै पनि सेतो दुबीप्रति नकारात्मक धारणा हट्न नसकेको चिकित्सकहरूको भनाइ छ । यसको उपचार सहज भएको छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णले बताए ।


छाला र कपाललाई रङ प्रदान गर्ने कोष मेलानोसाइटको मृत्यु भएपछि यस्तो समस्या देखा पर्ने उनको भनाइ छ । यस्तो हुँदा छालाले प्राकृतिक रङ गुमाउँछ र दुबी देखिन्छ । विश्वभर शून्य दशमलब ५ प्रतिशतदेखि २ प्रतिशत जनसंख्यामा देखिने यो समस्याबारे नेपालमा भने खासै अध्ययन भएको छैन ।


‘कुन कारणले छालामा यो रङको अभाव हुन्छ, अझै रहस्यमै छ,’ डा. कर्णले भने, ‘सेतो दुबी ज्यान लिने खालको समस्या होइन ।’

आफूकहाँ आउने बिरामीमध्ये करिब ८ प्रतिशतसम्म सेतो दुबीको समस्याका हुने उनले बताए । सेतो दुबी दिवसका अवसरमा मंगलबार क्युटिस केयरले आयोजना गरेको कार्यक्रममा उनले शरीरको रङलाई लिएर भेदभाव हुने ठाउँमा सेतो दुबीको उपचार बढी हुने गरेको जानकारी दिए । ‘शारीरिक नभई सौन्दर्य समस्या भएकाले यसको उपचार आवश्यक छैन,’ उनले भने । तर निको नभएसम्म असहज अनुभव गर्नेहरूमा भने यसले मानसिक समस्या निम्त्याउन सक्ने उनको भनाइ छ ।


‘विश्वमा दसौं लाख व्यक्ति सेतो दुबीबाट पीडित रहेको र त्यसमध्ये आधा जतिलाई २१ वर्षभन्दा अगावै यो समस्या देखिन्छ’, डा. कर्णले भने ।


बालबालिकामा दुबी देखिए तुरुन्त उपचार गर्दा छिट्टै निको हुन्छ । उमेर बढदै जाँदा भने निको हुने समय लाग्ने उनको भनाइ छ । दुबीको उपचारका लागि फोटो थेरापी, शल्यक्रिया, लेजर थेरापी, मेलानोसाइट प्रत्यारोपणलगायत सेवा प्रचलनमा छन् ।

प्रकाशित : असार १३, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?