मास्कबिना मुस्किल

सीमा तामाङ

काठमाडौँ — मुलुकको संविधानले स्वच्छ वातावरणमा बस्न पाउनु प्रत्येक नागरिकको मौलिक हक मानेको छ । सर्वोच्च अदालतले इँटाभट्टालाई बस्ती बाहिर सार्ने मुद्दाको फैसलामा स्वच्छ हावा फेर्न पाउने हरेक मान्छेको अधिकार हो भनेको छ । राजधानीको अवस्था भने संविधान र सर्वोच्च अदालतका फैसलाको प्रतिकूल देखिन्छ जहाँ मास्क लगाएर हिँड्दा पनि धुलो र धुवाँले सास फेर्न सकस हुन्छ ।

मास्कबिना मुस्किल

प्रधानमन्त्री ओलीले आफू सरकारमा आएपछि उपत्यकाको वातावरण स्वच्छ भइसक्यो भने पनि हजारौं हजार मानिस मास्क लगाएर सासलाई कपडछान गर्ने प्रयत्नका साथ हिँडडुल गरिरहेका छन् । दिउँसोको चर्को घाममा छाता ओडेर चाबहिलदेखि बौद्ध जाँदै थिइन, शिवानी श्रेष्ठ ।


काठमाडौंको बाक्लो प्रदूषणमा चाबाहिल बस्ने उनी मास्कबिना हिँड्नै नसकिने बताउँछिन् ।


‘गर्मी उस्तै छ त्यसैमाथि बाक्लो धुवाँधुलो,’ उनले भनिन्, ‘मास्क नलगाई हिँड्नै मुस्किल छ, त्यसैले दैनिक मास्कको प्रयोग गर्छु ।’ धुलोले आफ्नो स्वास्थ्यमा पनि असर गरेको उनले बताइन् । धुलोधुवाँबाट बच्न मास्कबाहेक अरू कुनै विकल्प छैन, त्यसैले मास्कबिना हिँड्न सडक धुलोधुवाँमुक्त हुनुपर्ने उनको भनाइ छ ।


चाबहिल–बौद्धका सडकखण्ड निर्माणधीन छ । जसले गर्दा त्यहाँका सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ । त्यहाँका सडकले बाह्रै महिना दु:ख दिने गरेको आममानिसको गुनासो छ ।


बानेश्वर चोकदेखि मीनभवन जाँदै थिए, मुकेश यादव । मास्कका सट्टा उनले रुमाल बाँधेका थिए मुखमा । ‘धुलोधुवाँले श्वासप्रश्वास र स्वास्थ्यमा असर गर्छ,’ उनले भने, ‘त्यसैले यस्ता समस्याबाट बच्न भए पनि मास्कको दैनिक प्रयोग गर्छु ।’ सडकमा हिँड्ने सबैले मास्क लगाएर हिँड्छन्, मास्क नहुनेले सल वा रुमालले पनि मुख छोपेर हिँड्ने गरेको उनी बताउँछन । उनले सडकसँगै सार्वजनिक बस बिसौनीमा पनि धुलोधुवाँले बस्न नसक्ने गुनासो गरे । सामान्य मास्क लगाएर बस बिसौनीमा बस्दा मुखमै धुलो छिर्ने गरेको उनको अनुभव छ ।


बाटोमा कुइरीमण्डल उड्ने धुलोमाथि सार्वजनिक बसहरूले मुस्लोमुस्लो धुवाँ फाल्ने भएकाले महानगरवासीलाई सफा सास फेर्न निकै मुस्किल छ । धुवाँको प्रदूषण कतिसम्म छ भने धुलाम्मे बाटोमा हिँड्नुभन्दा बस बिसौनिमा बस्न कठिन हुने गरेको यात्रुहरू बताउँछन् ।


वाग्मतीको किनारा हुँदै गैह्रीगाउँतर्फ जाँदै थिइन्, सुम्निमा महर्जन । उनले मुखमा मास्क, टाउको सल र आँखामा चस्मा लगाएकी थिइन् । उनी भन्छिन्, ‘मुख्य चोकमा धुलो नभए पनि भित्रका चोक गल्लीहरूमा धुलोधुवाँले दिउँसै अँध्यारो हुन्छ ।’ त्यसैले धुलोधुवाँबाट बच्न मास्कसँगै चस्माको पनि प्रयोग गर्नुपर्ने उनले बताइन् । गर्मीमा धुलोबाट आँखामा पनि समस्या हुने भएकाले चस्माको आवश्यकता रहेको उनको अनुभव छ ।


गर्मीमा धुलोधुवाँ बढेसँगै मास्क प्रयोगकर्ता पनि बढ्छन् । मास्कहरू विविध किसिमका भए पनि आम मानिस सर्जिकल मास्कको नै प्रयोग गर्छन् । सजिलै र सस्तो मूल्यमा पाइने भएकाले अरू मास्कभन्दा सर्जिकल मास्कको नै बढी प्रयोग हुने गरेको मीनभवन औषधि पसलका सञ्चालक सीता शर्माले बताइन । ‘धुलोधुवाँ बढे पनि मास्क वितरणमा घटबढ भएको छैन,’ उनले भनिन्, ‘आजकाल सजिलै मास्क पाइन्छ, मास्क लिन मेडिकलसम्म पनि जानु पर्दैन ।’


आजकाल मास्क खुद्रा पसलदेखि, फुटपाथ पसलसम्म पाइन्छ, जसले गर्दा मास्क किन्न मेडिकल जानुपर्ने बाध्यता हटेको उनले बताइन् । धुलोधुवाँले गर्दा दैनिक प्रदूषण बढिरहेको भन्दै विज्ञहरू चिन्ता व्यक्त गर्छन् । तर प्रधानमन्त्री केपी ओलीले गत शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा उपत्यका प्रदूषणमुक्त भएको भन्दै बोलेका थिए, ‘म प्रधानमन्त्री हुँदा काठमाडौंका आधा जनसंख्याले मास्क लगाएर हिँड्थे । तर अहिले मास्क लगाएर हिँड्नु पर्दैन ।’ प्रधानमन्त्रीको यो भनाइ यथार्थर्भन्दा ठिक उल्टो छ । उपत्यकावासी अझैं पनि धुलोधुवाँबाट बच्न मास्कको प्रयोग गर्छन् । प्र्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद रंगमती शाहले कटाक्ष गर्दै राजधानीमा मास्क लगाउनुपर्छ कि पर्दैन भन्ने थाहा पाउन स्कुटरमा बसेर यात्रा गर्न चुनौती पनि दिएकी थिइन् ।


प्रकाशित : असार २२, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?