भत्काउने भवनमा नयाँ लिफ्ट

फातिमा बानु

काठमाडौँ — वीर अस्पतालले भूकम्पका कारण जीर्ण बनेको पुरानो भवनमा नयाँ लिफ्ट निर्माण गरिरहेको छ । केही समयमै भत्काइने योजनामा रहेको यो चारतले भवनमा एउटा लिफ्ट हुँदाहुँदै अस्पतालले ४३ लाख खर्चेर अर्को लिफ्ट बनाउन थालेको हो । बजेट अभाव भन्दै बिरामीका लागि अत्यावश्यक, स्पेसल एक्सरे, भेन्टिलेटरलगायत अन्य उपकरण ममर्त नगरी कमिसनका लागि अस्पतालले लिफ्ट निर्माणमा खर्च हालिरहेको छ ।

भूकम्पले जीर्ण बनाए पनि ठाउँ अभावका कारण यो भवनबाट अस्पतालका काम सञ्चालन हुँदै आइरहेको थियो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यालय रहेको यो भवनमा, भीभीआईपी वार्ड, क्याबिन, पुरुष सर्जिकल वार्ड, पेइङ वार्ड, न्युरो सर्जरी शल्यकक्ष, आईसीयू कक्ष, मुटु शल्यक्रिया वार्ड चलिरहेका छन् । जहाँ पुरानो लिफ्टबाट सजिलै जान सकिन्छ । भवनको चौथो तलामा रहेको न्याम्स कार्यालयमा बस्ने मुख्य पदाधिकारीको सुविधाका लागि अनावश्यक लिफ्ट बनाइएको अस्पताल कर्मचारी बताउँछन् ।


किनकि भवनमा पहिल्यै भएको पुरानो लिफ्ट तीन तलासम्म मात्रै पुग्छ । लिफ्ट बनाउनकै लागि भवनका कोठाहरू भत्काएर साँघुरो बनाइएको छ । चार वर्षअघिको भूकम्पका कारण भत्किएको अस्पताल भवन जापानी नियोग जाइकाले निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । असारको अन्तिम साताबाटै नयाँ भवनबाट सेवा सुरु हुँदै छ । नयाँ सर्जिकल भवन पनि बन्दै छ । नयाँ भवन तयारी भएसँगै पुराना भवनका सञ्चालित सेवा पनि उतै सर्ने तयारी हुँदाहुँदै पनि अस्पतालले पुरानो भवनका लागि नयाँ लिफ्ट निर्माण गरेकोमा अस्पतालका कर्मचारी रुष्ट छन् । अस्पताल स्रोत भन्छ, ‘पदाधिकारीको सुविधाका लागि लिफ्टमा खर्च गर्नुभन्दा अस्पताल फार्मेसी विस्तार गर्न सकिन्थ्यो । कुरुवाका लागि बस्ने ठाउँ बनाउन सकिन्थ्यो ।’


आफू नेतृत्वमा आउनुअगावै लिफ्टको निर्माण कार्य सुरु गरिएको बताउँदै वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरी भन्छन्, ‘पहिलेको पदाधिकारीले निर्णय गरेकाले पुरानो भवनमा लिफ्ट निर्माण कार्य रोक्न सम्भव छैन ।’ पुरानो लिफ्ट बिग्रिरहने समस्या भएकाले विकल्पका रूपमा नयाँ बनाउन लागिएको हो ।’ नयाँ लिफ्ट बिरामीकै सुविधाका लागि बनाइएको उनको भनाई छ ।


अस्पतालले निर्माणधिन लिफ्ट पुरानो लिफ्ट बिग्रदाँ बिरामी बोकेर लैजानुपर्ने समस्या समाधानका लागि नयाँ बनाइएको भनिए तापनि भनाई र व्यवहारमा यो मेल खाँदैन । किनकि बिरामी लैजानका लागि अस्पतालमा ‘ट्रली र्‍याम्प’ छ । यो र्‍याम्पमा हिृवलचियर गुडाएर सजिलै प्रत्येक तलाका कोठामा पुर्‍याउन सकिन्छ । विगत डेढ महिनादेखि निर्माणाधीन लिफ्ट ७५ प्रतिशत बनिसकेको छ । एक महिनामै सम्पन्न गरिने निर्देशक डा. सेञ्चुरीले बताए ।


सीटीस्क्यान र एमआरआई सञ्चालनमा

वीर अस्पतालकमा विकिरणका कारण बन्द भएको सीटीस्क्यान उपकरण सञ्चालनमा आएको छ । विकिरणका चुहावटका कारण कर्मचारी बिरामी भएपछि सीटीस्क्यान सेवा १५ दिन रोकिएको थियो ।


सीटीस्क्यान कक्षमा विकिरणका चुहावटका कारण पत्ता लगाएर ममर्तसम्हार गरी सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए । कमसल खालका सामग्री जडान गरी निर्माण गरेको कोठाको संरचना विकिरण रोक्ने खालको । थिएन जसको प्रत्यक्ष असर बिरामी, कुरुवा, उपकरणमा काम गर्ने डाक्टर र प्राविधिकलगायत अस्पताल आवतजावत गर्ने मानिसमा परिरहेको परेको थियो ।

प्रकाशित : असार २२, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?